शुक्रबार, भदौ ५, २०८३

घरमा आगो लगाएर खरानी घसेर हिँडेका माधव नेपालको पछि नलाग्‍नू : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालको पार्टीमा नगइ एमालेमै फर्किन नेता कार्यकर्ताहरुलाई आह्वान गरेका छन्।
 |  बिहीबार, भदौ ३१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ३१, २०७८

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालको पार्टीमा नगइ एमालेमै फर्किन नेता कार्यकर्ताहरुलाई आह्वान गरेका छन्।

बिहीबार काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको जिल्लास्तरीय विस्तारित प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले नेता माधव नेपालको पछि नलागेर नेकपा एमालेमै रहनका लागि आह्वान गरेका हुन्। 

नेता नेपालले व्यक्तिगत स्वार्थ र अहंकारका कारण पार्टी फुटाएको भन्दै उनले कार्यकर्ताको भविष्यसँग खेलबाड गरेको पनि आरोप लगाएका छन्। आफ्नो व्यक्तिगत स्वार्थका कारण अरुको जिन्दगीसँग खेल्नु डरलाग्दो भएको उल्लेख गर्दै उनले नेपालले घरमा आगो लगाएर खरानी घसेर हिडेको टिप्पणी गरेका हुन्। 

नेता नेपालको भविष्य नभएको भन्दै उनले भविष्य भएका नेता कार्यकर्ता मुल पार्टीमै फर्किन आग्रह गरेका हुन्। उनले भने, ‘म माधव नेपाललाई भन्दिनँ। माधव नेपाले अल्मल्याएका, भ्रममा पारेका, झुक्याएका मान्छेहरु फर्किनुस् पार्टीमा। कार्यकर्ता फर्किनुस्। माधव नेपाल घरमा आगो लगाएर खरानी घसेर तिर्थ यात्रामा हिँडेका मान्छेलाई म केही भन्दिनँ। घरमा आगो लगाएर खरानी धसेर हिड्याको पछि नलाग्‍नूस्।' 

माधव नेपालले व्यक्तिगत महत्वकांक्षा, व्यक्तिगत स्वार्थ, व्यक्तिगत इगो, व्यक्तिगत अहंकार, कुण्ठाबाट ग्रसित भएर कार्यकर्ताको जिन्दगीसँग खेलबाड गरेको ओलीको आरोप छ। 

केही नेताहरुले माधव नेपाललाई एमालेमा फर्किन आग्रह गरेको प्रति टिप्पणी गर्दै अध्यक्ष ओलीले माधव नेपालको एमालेमा आवश्यकता नभएको बताए। उनले पार्टीमा भएका विगतमा नेपाल पक्षका नेताहरुतर्फ लक्षित गर्दै माधव नेपालको लोभ नगर्न पनि आग्रह गरे। 

उनले भने, ‘हुनत केही साथीहरु अहिले पनि भन्नुहुन्छ- माधव कामरेड आउनुस्, आवश्यकता छ भनेर। फुटाउनलाई आवश्यकता छ अब उहाँको यहाँ? फेरी फुटाउने? के गर्न आवश्यकता छ, माधव कामरेडको त्यो म बुझ्दिन। उहाँ छउन्जेल पार्टी गुटबन्दी बाहेक केही भएन, माधव नेपालले यो साढे तीन वर्षमा पार्टीको पक्षमा, सरकारको पक्षमा एक शब्द बोलेको कमरेडहरुले सुन्‍नुभयो कहिल्यै? सरकारको आलोचना, सरकारको विरोध, प्रतिक्रियावादी भन्दा चर्को, विपक्षीहरुले के भन्थे यतै सत्ता पक्षकै नेताहरुले यति बोलिसकेपछि हामीले केही बोल्नु परेन।'

अध्यक्ष ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उडेको प्लेन दृश्यबाट बिलाउँदै गएजस्तै माधव नेपाल पनि बिलाएर जाने टिप्पणी गरे। उनले माओवादी केन्द्र र एमाले एकिकरण पछिको मुल पार्टी आफूहरुकै भएको भन्दै प्रचण्डले आफ्नो गुट मात्र लगेको बताए। 

विगतमा नेकपामा रहेका नेता कार्यकर्तालाई एमालेमै फर्किन पनि आग्रह गरेका छन्। उनले भने, ‘तपाई त्रिभुवन इन्टरनेशनल एयरपोर्टबाट उडेको प्लेन देख्नुहुन्छ नि। उडिराखेको ठाउँबाट पहिले हेर्नुस्, विशाल प्लेन हुन्छ, कति धेरै मान्छे बोकेको हुन्छ। उड्दै गयो खिइँदै जान्छ। उड्दै जाँदा सानो हुँदै एकछिन पछि देखिन छोड्छ। अब प्रचण्डपथ त्यही हो। कता गए प्रचण्ड, कता गए प्रचण्डपथ। यात्रा त्यही हो। उडेको जहाज बिलाउँदै दृश्यबाट हटेजस्तो सानो हुँदै गएजस्तै। त्यसकारण म आग्रह गर्न चाहान्छु हिजो हामी नेकपा भएर एकठाउँमा एकिकृत पार्टीमा बसेर काम गरिसक्यौँ। एकीकृत पार्टी भइसक्यो फेरि कहाँ प्रचण्डलाई लहड लाग्यो भन्दैमा फेरि अलग भएर जाने? तपाईहरु पार्टीको कार्यकर्ता हो कि प्रचण्डको घरेलु कार्यकर्ता हो? म साथीहरुलाई प्रचण्डको घरेलु कार्यकर्ता नहुन, पार्टीका कार्यकर्ता हुन, पार्टीमा फर्किएर एकीकृत पार्टीमा फर्किएर आउन, महान उद्देश्यका लागि काम गर्न आग्रह गर्छु।’

अध्यक्ष ओलीले वर्तमान सरकारले लोकतन्त्रका सामान्य मूल्य मान्यताको पनि पालना नगरेको आरोप लगाएका छन्। वर्तमान सरकारले बजेट ल्याउन नसकेको भन्दै उनले आलोचना गरे। 


प्रकाशित: Sep 16, 2021| 19:33 बिहीबार, भदौ ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...