मंगलबार, असोज ६, २०८३
  • गृहपृष्ठ
  • भिडियो
  • ओलीले माधव नेपाललाई दिए 'झिँगा'को संज्ञा, ७६ अंक घट्यो नेप्से [२०७८-५-३१]

ओलीले माधव नेपाललाई दिए 'झिँगा'को संज्ञा, ७६ अंक घट्यो नेप्से [२०७८-५-३१]

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरू मौरी भएको तर माधव नेपाललगायतका नेताहरू ’झिँगा’ भएको कटुटिप्पणी गरेका छन्।
 |  बिहीबार, भदौ ३१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ३१, २०७८

माधव नेपाल झिँगा भएको ओलीको कटुटिप्पणी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरू मौरी भएको तर माधव नेपाललगायतका नेताहरू ’झिँगा’ भएको कटुटिप्पणी गरेका छन्। 

एमाले काठमाडौंले आयोजना गरेको कार्यक्रममा ओलीले यस्तो कटाक्ष गरेका हुन्। माधव नेपालले जनताको भविष्यमाथि खेलबाड गरेको उनको आरोप थियो। ओलीले पार्टीमा अब माधवकुमार नेपाल आवश्यक नभएको बताएका छन्। उनले पार्टीमा गुटबन्दीमात्र गरेको ओलीको भनाइ छ। सोही कार्यक्रममा एमाले उपाध्यक्ष एवं बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले माधवकुमार नेपाललाई एमालेमै फर्किन आग्रह गरेकी थिइन्।

नेता नेपाल आफूहरुको नेता भएको, एमाले बनाउन जीवन दिएको भन्दै उनले बोलेकी थिइन्,। शाक्यभन्दा पछाडि सम्बोधन गरेका अध्यक्ष ओलीले माधव नेपालको पार्टीमा काम नभएको बताएका हुन्। माधव नेपालले पार्टीमा गुटबन्दी मात्र गरेको र साढे ३ वर्षमा सरकारको पक्षमा एक शब्द नबोलेको उनको भनाइ थियो। नेता नेपालको भविष्य नभएको भन्दै उहाँले 

यस्तै एमाले अध्यक्ष ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिलाउँदै गएको टिप्पणी गरेका छन्। प्रचण्डलाई उडिरहेको जहाजसँग तुलना गर्दै ओलीले भने, ‘प्रचण्डरूपी यत्रो जहाज उडेको, अलिक पर जाँदा विस्तारै देख्न छोडिन्छ।’ माओवादीका कार्यकर्तालाई पार्टीको कार्यकर्ता कि प्रचण्डको सेवक भन्दै एमालेमा आउन आह्वान समेत गरे। 

ओलीले शान्तिपूर्ण आन्दोलनमा दमन गरेर जनतालाई नजिस्काउन सरकारलाई चेतावनी दिएका छन्। शान्तिपूर्ण प्रदर्शनमा सरकारले दमन गरेर जिस्क्याएको बताउँदै ओलीले आफू सरकारमा बस्दा शान्तिपूर्ण जुलुसमा लाठी समेत नहानेको उनको दाबी छ। तर नयाँ सरकार बन्नासाथ शान्तिपूर्ण रुपमा बोल्न समेत नदिएको ओलीको आरोप छ।

यस्तै ओलीले आफ्ना नेता कार्यकर्तालाई दशैं खर्च बाँड्नका लागि सरकारले बजेटमा १०÷१० हजार बाँड्ने कार्यक्रम ल्याइएको टिप्पणी गरेका छन्। देशलाई बजेटविहीन अवस्थामा राखिएको भन्दै ओलीले त्यसप्रति आपत्ति जनाए। आफूहरुको अवरोधका कारण बजट पेश नभएको भन्ने आरोप झुटो भएको दाबी गर्दै उनले भने– हामीले नाराबाजी गरेका बेला रेल कुदे जस्तो मन्त्री कुदेर अरुथोक गर्न जान हुने, बजेट किन पेस गर्न नहुने ?

ओलीले वर्तमान सरकारले लोकतन्त्रका सामान्य मूल्य मान्यताको पनि पालना नगरेको आरोप पनि लगाएका छन्। 

कोरोना संक्रमित मृतकको संख्या ११ हजार नाघ्यो

नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार नाघेको छ। बिहीबार ११ जनाको मृत्यु भएपछि नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार २ पुगेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण भएको मृत्युदर नेपालमा करिब १.५ प्रतिशत छ।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ५११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार बिहीबार १५ हजार १७९ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। त्यस्तै, पछिल्लो २४ घण्टामा १ हजार ६८९ संक्रमित निको भएका छन्।

कोरोनाकै अर्को प्रसंगमा कोरोना विरूद्धको ४४ लाख डोज खोप लिन नेपाल एयरलाइन्सको जहाज आज राति चीनको बेइजिङ जाने भएको छ। 

एयरलाइन्सका महाप्रबन्धक डिमप्रकाश पौडेलले खोप लिन निगमको वाइडबडी–३३० जहाज राति ११ बजे बेइजिङ प्रस्थान गर्ने जानकारी दिए।  उनले खोप लिएर जहाज शनिबार बिहान २ बजे नेपाल आउने बताए। सरकारले चीनबाट पछिल्लो समय खरिद गरेको ६० लाख डोज भेरोसेल खोपमध्ये १६ लाख मात्र आएको थियो।  

आज जाने जाहाजले ४४ लाख डोज खोप लिएर आउने स्वास्थ्य विभाग अन्तर्गतको खोप शाखाल जनाएको छ। शाखाका अनुसार अहिलेसम्म विभिन्न देशबाट नेपालमा एक करोड ३३ लाख खोप आइसकेको छ। जसमध्ये ५० लाख डोज खोप सरकारले खरिद गरेको हो भने बाँकी खोप विभिन्न देशबाट आनुदानमा आएको हो।

सांकेतिक रूपमा चाडबाड मनाउन सरकारको आदेश

काठमाडौं उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुले सांकेतिकरुपमा मात्रै चाडपर्व मनाउन आदेश जारी गरेको छन्। 

आज बसेको काठमाडौं उपत्यकका तीन सीडीओको बैठकले निषेधाज्ञालाई थप खुकुलो तुल्याउने निर्णय गर्दै चाडपर्व भने सांकेतिक रुपमा मात्रै मनाउन आग्रह गरेका हुन्। असोज १ गतेदेखि अर्को आदेश नभएसम्म सर्तसहित विभिन्न क्षेत्रहरुलाई खुलाउने निर्णय बैठकले गरेको छ। जसअनुसार असोज १ गतेदेखि डीसीसीएमसीसँग समन्वय गरेर स्कुलहरु खुलाउन पाइने भएको छ। 

स्वास्थ्य प्रोटोकलको पूर्ण पालना गरी न्यूनतम सहभागितामा सांकेतिकरुपमा मात्र मनाउने निर्णय पनि भएको आदेशमा उल्लेख छ। कोभिड संक्रमण कायमै रहेकाले अनावश्यक रुपमा घरबाहिर निस्कने, भीड गर्ने, सभा जुलुस गर्ने, जात्रा महोत्सव, भोजभतेर नगर्ने र नगराउने आदेश पनि जारी भएको छ।

७६ अंक घट्यो नेप्से 

साताको अन्तिम कारोबार दिन समेत रहेको बिहीबार सेयर बजार परिसूचक नेप्से ७६ अंकले घटेको छ।

नेपाल स्टक एक्सचेन्स–नेप्सेका अनुसार यस दिन परिसूचक ७६.६५ अंकले घटेर २८ सय १२.३८ विन्दुमा झरेको हो। यस्तै, यस दिन ‘क’ वर्गका ठूला कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत १२.७३ अंकले घटेर ५२५.७८ विन्दुमा झर्न पुगेको नेप्सेले जनाएको छ। 

आज सबैजसो उप समूहहरु ऋणात्मक हुँदा बजार नै राताम्मे हुन पुगेको छ भने तीब्र गिरावटमा रहेको बजारमा ९ अर्ब माथिको कारोबार भएको छ। नेप्सेका अनुसार यस दिन कुल २२९ कम्पनीको १ करोड ६४ लाख ६८ हजार कित्ता माथिको सेयर एक लाख १३ हजार भन्दा बढी पटक बजारमा किन बेच हुँदा ९ अर्ब ३ करोड ३९ लाखको कारोबार भएको छ।

पर्यटक आउने व्यवस्था गर्न व्यवसायीको माग

पर्यटन व्यवासायीहरुले सरकारले तत्काल पर्यटकहरुलाई नेपाल आउने व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन्।

कोरोना महामारीको जोखिम कम भइरहेकोले सरकारले पर्यटकका लागि सहजता प्रदान गर्न अन अराइभलको भिसा र क्वारेन्टाइनका कुराहरुमा सहजता प्रदान गर्नुपर्ने माग राखेका हुन्। होटल संघ नेपाल (हान) का प्रथम उपाध्यक्ष विनायक शाहले अन्य देशहरुमा पर्यटकका लागि भिसा दिइरहेको बताउँदै नेपालले पनि चीन, भारत र अन्य मुलुकका पर्यटकहरु भित्राउन सरकारले सहजता प्रदान गर्नुपर्ने बताए।

उनले पर्यटनको बजार बढाउनका लागि अब ढिला भइसकेको भन्दै सरकारले पर्यटकहरुका लागि घोषणा गरेको १० दिनको लागि पर्यटन कागज कार्यविधि बनाएर लागू गर्नुपर्नेमा जोड दिए। 

नेपालमा आउने अधिकांश पर्यटक भारत र चीनका भएकोले भारत चीनका पर्यटकहरुका लागि सहजता प्रदान गर्नुपर्नेमा उनीहरुको जोड छ। पर्यटकका लागि सहजता प्रदान गरे मात्र पनि लाखौँ पर्यटन व्यवसायीहरुको जनजीवनमा परिरहेको शंकट टर्ने भन्दै होटल व्यवसायीहरुले पर्यटकहरुका लागि नयाँपन, नयाँ स्वाद दिलाउन आवश्यक रहेको बताएका छन्। कोरोनाका कारण डेढ वर्ष यता थला परेको पर्यटन तथा होटल व्यवसायलाई निर्वाध रुपमा सञ्चालन गर्ने व्यवस्था सरकारले मिलाइदिनुपर्ने व्यवसायीहरुको माग छ।  

परीक्षाको भाइरल भिडियोबारे छानबिन हुन्छ : बोर्ड 

राष्ट्रिय परीक्षा बोर्डले अहिले सामाजिक सञ्जालमा भाइरल भएको कक्षा–१२ को उत्तरपुस्तिकाबारे छानबिन गर्ने जनाएको छ। 

बुधबारदेखि सुरु भएको कक्षा–१२ को परीक्षाको उत्तरपुस्तिकाको एक भिडियो यतिखेर टिकटकमा भाइरल भएको छ। बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले आवश्यक छानबिन गर्ने बताए। उनका अनुसार अहिले त्यो भिडियो हाल्ने व्यक्तिको पहिचान हुन सकेको छैन। कोरोनाले रोकिएको परीक्षा बुधबारबाट जारी छ। भौतिक उपस्थितिमै सञ्चालन गरिएको परीक्षा असोज ८ गते सकिनेछ। करिब ४ लाख विद्यार्थी परीक्षामा सहभागी भएको बोर्डले जनाएको छ।

अफगानिस्तानबाट एक वर्षमा ६ लाखभन्दा बढी विस्थापित 

अफगानिस्तानबाट यस वर्ष (सन् २०२१) अहिलेसम्ममा ६ लाख ३४ हजारभन्दा बढी विस्थापित भएका छन्।

यही सेप्टेम्बर १२ सम्मको विवरणअनुसार कुल ६ लाख ३४ हजार ८०० भन्दा बढी विस्थापित भएको देखिएको छ। विस्थापित भएकामध्ये दुई लाख ८२ हजार २४६ जनालाई विभिन्न सहयोग पनि प्रदान गरिएको अधिकारीहरुले जनाएका छन्।

देशमा भइरहेको आन्तरिक द्धन्द्धका कारण उनीहरु विस्थापित भएको जनाइएको छ। तालिबान विद्रोहीहरुले सत्ता कब्जा गरेपछि देशभन्दा बाहिर विस्थापित भएकाहरुको सङ्ख्यामा पनि एकाएक बृद्धि भएको पाइएको छ। विस्थापित भएका मध्ये २८ हजारभन्दा बढी प्राकृतिक प्रकोपका कारण विस्थापित भएका पाइएको छ। अफगानिस्तानमा विस्थापित भएका र संकटमा परेकाहरुलाई सहयोग गर्न संयुक्त राष्ट्रसङ्घले सवैलाई आह्वान पनि गरेको छ। 

उता अमेरिकी पत्रिका टाइम म्यागजिनले तालिबान समूहका सहसंस्थापक मुल्लाह अब्दुल घानी बारदारलाई सन् २०२१ का प्रभावशाली सय व्यक्तिको सूचीमा राखेको छ। 

तालिबानहरूले फेरि अफगानिस्तानको सत्ता कब्जा गरेपछि बारदारलाई अन्तरिम सरकारको उपप्रधानमन्त्री नियुक्त गरिएको छ। बारदार यसअघि तालिबानको कतारस्थित राजनीतिक कार्यालयका प्रमुख थिए। अमेरिकासँग भएको तालिबानको शान्ति सम्झौतामा उनले महत्वपूर्ण भूमिका खेलेका थिए। बारदारसँगै अमेरिकी राष्ट्रपति जो बाइडेन, चिनियाँ राष्ट्रपति सी चिनफिङ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीलगायत नेताहरू पनि सूचीमा छन्।

प्रकाशित: Sep 16, 2021| 19:40 बिहीबार, भदौ ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।