काठमाडौं- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवाको सन्देश लिएर ओली निवास बालकोट पुगेका कानुनमन्त्री कार्कीले संसद् खुलाउनका लागि सहयोग गर्न आग्रह गरेका हुन्। एमालेले लगातार संसद् अवरोध गर्दै आइरहेको छ।
एमालको अवरोधका कारण सरकारले बजेटको प्रतिस्थापन विधेयक पारित गर्न नसकेपछि बिहीबारबाट सरकारी खर्च बन्द भएको छ ।
मन्त्री कार्कीले प्रमुख प्रतिपक्षी दलका नेता ओलीलाई संसद अवरोध खुलाउन आग्रह गरेको जानकारी दिएका छन्। एमालले सभामुखले पार्टी विभाजनका लागि भूमिका खेलेको भन्दै संसद् अवरोध गरिरहेको छ। संसद् अवरोध भएपछि सरकारले ल्याएको बजेट सम्बन्धी प्रतिस्थापन विधेयकमाथिको विचार गरियोस् भन्ने प्रस्ताव मात्र पारित भएको छ।
प्रतिनिधि सभाको अर्को बैठक आगामी सोमबारका लागि बोलाइएको छ। एमालेका नेताहरुले भने संसद् अवरोध जारी राख्ने बताइरहेका छन्।