सुर्खेत– सुर्खेतमा मलामी गएकी एक महिला भेरी नदीमा बेपत्ता भएकी छिन्। बेपत्ता हुनेमा तिलागुफा नगरपालिका–६ कालिकोट की ३१ वर्षीया अमिला दमाई छिन्।
उनी बिहीबार आफन्तीको मलामी गएकी थिइन्। उनी नदीमा हामफालेकी हुन् वा नुहाउने क्रममा बेपत्ता भएकी हुन् भन्ने यकिन भएको छैन। ‘मलामी गएकी महिला बेपत्ता भएकी छिन् तर कसरी नदीमा बेपत्ता भइन् भन्ने खुलेको छैन,’ सुर्खेतका एसपी पदम विष्टले भने, ‘बेपत्ता महिलाको ईलाका प्रहरी कार्यालय छिन्चु र प्रहरी चौकी सुब्बाकुनाले खोजतलास गरिरहेको छ।’
नदी किनारमा बेपत्ता महिलाले लगाएका कपडा, बैंकको चेक, छाता, मोबाइल आदि भेटिएका छन्। मलामी गएकाहरुले भने उनी नदीमा हामफालेर बेपत्ता भएको बताएका छन्। नदी धमिलो र बहाव बढी भएका कारण खोजीमा समस्या भएको छ। वीरेन्द्रनगर–११ समझीघाटमा मलामी गएकी ती महिला दिउँसो बेपत्ता भएकी हुन्।