सरकारले वित्तीय संकट सिर्जना गर्न खोजेको एमालेको आरोप
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारले प्रतिपक्षमाथि दोष थुपारेर वित्तीय संकट सिर्जना गर्न खोजेको आरोप लगाएको छ। प्रतिनिधिसभाको बैठक असोज ४ गतेसम्म सार्दा बुधबारभित्र बजेट प्रतिस्थापन विधेयक पारित हुन सकेन।
यसका कारण सरकारको खर्च नपाउने परिस्थिति सिर्जना भएको छ। यो परिस्थिति सरकारका कारण आएको एमालेले उल्लेख गरेको छ। महासचिव ईश्वर पोखरेलले बुधबार जारी गरेको विज्ञप्तिमा सरकार सत्ता स्वार्थमा अलमलिँदा अहिलेको अवस्था आएको दाबी गरिएको छ। सरकार प्रतिपक्षको अवरोधका कारणले बजेट समयमा पारित नभएको जस्तो गरी भ्रम सिर्जना गरिरहेको आरोप एमालेले लगाएको छ। बजेट पारित नगरेर संसद बैठक किन सारियो? यस विषयमा सरकारले जवाफ दिनु पर्ने एमालेको माग छ।
सरकार र सभामुखका तर्फबाट भएका अनुचित र गैरकानुनी कार्यका कारणले नै प्रतिनिधिसभामा असहज स्थिति सिर्जना भएको विज्ञप्तिमा उल्लेख छ। सरकारले प्रतिस्थापन विधेयकमार्फत बजेट कटौती गरेकोमा पनि एमालेले आपत्ति जनाएको छ। बजेट पास नगर्दा सरकारले राज्यको ढुकुटीबाट आज राति १२ बजेदेखि खर्च गर्न पाउँदैन।
उता, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. पुष्पराज कँडेलले मुलुक बजेटबिहीन हुनुमा सरकार स्वयं जिम्मेवार रहेको बताएका छन्। विभिन्न राजनीतिक खिचातानी लगायत कारणले मुलुकले बजेट शुन्यताको स्थिती सामना गर्न नपरोस् भनेर संविधानमा नै जेठ १५ गते बजेट संसदमा पेस गर्नुपर्ने प्रावधान राखिएको स्मरण गर्दे उनले अहिले मुलुक बजेट शुन्यताको अवस्थामा पुग्नुको मुख्य कारक वर्तमान सरकार भएको बताए। राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष कँडेलले प्रतिपक्षले सदन बन्द गरायो भन्ने आडमा टेकेर प्रतिपक्षलाई आरोप थुपार्दै बजेट खर्च गर्न पाइएन भन्ने छुट वर्तमान सरकारलाई नरहेको टिप्पणी गरे। नेकपा एमालेका नेता समेत रहेका उनले सरकारले आफूलाई चाहिएको डकुमेण्ट बलजफ्ती पास गरिरहेको दाबी पनि गरे।
पूर्व उपाध्यक्ष कँडेलले सरकारको न्यूनतम साझा कार्यक्रम र प्रतिस्थापन विधेयक गन्तव्यहीन भएको पनि टिप्पणी गरे। उनले प्रतिस्थापन विधेयक कुन परिवेशमा आधारित भएर ल्याईएको भन्ने नै स्पष्ट नभएको तर्क गरे। सरकारले ल्याएको बजेट अध्यादेश प्रतिस्थापन विधेयक संघीय संसदबाट पारित नभएपछि अहिले मुलुक बजेटबिहीनताको अवस्थामा पुगेको छ।
एमाले ध्वस्त पार्न केही व्यक्ति लागिपरेका छन् : ओली
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले केहि व्यक्तिले एमालेलाई ध्वस्त पार्न खोजेको बताएका छन्। बुधबार बुटवलमा आयोजित भेलालाई सम्बोधन गर्दै उनले केही व्यक्तिहरूले एमालेलाई समाप्त पार्न खोजेपनि उनीहरू सफल नभएको बताए।
उनले एमालेको भलो चाहने नेता, कार्यकर्ताले पार्टीलाई टुटफुट हुन नदिएर जोगाएको बताए। ओलीले माधव नेपाललाई बिग्रिएका मान्छेको सज्ञा दिदैँ कांग्रेस तिनीहरुको पछाडि लाग्नुपर्ने अवस्थामा पुगेको बताए। अधिकांश समय नेकपा एसका अध्यक्ष नेपालको आलोचनामा समय खर्च गरेका ओलीले एमालेमा बञ्चरो हान्नेलाई माधव नेपाललाई कसरी कमरेड भन्ने भन्दै प्रश्न गरे।
यस्तै एमाले अध्यक्ष ओलीले आगामी चुनावमा नेकपा एमाले पहिलो पार्टी हुने दाबी गरेका छन्। केही महिना सरकारबाहिर रहे पनि आगामी चुनावपछि जनताको व्यापक समर्थनसहित सरकारको नेतृत्व गर्ने उनको भनाइ थियो। उनले बजेट पारित गर्न नसकेको भन्दै सरकारको आलोचना समेत गरे। सरकारसँग एक कप चिया खाने पैसा पनि छैन, यो बुख्याँचा हो कि सरकार भन्दै व्यात्मक प्रश्न समेत गरे।
संविधान संशोधनका लागि सडक संघर्षमा जानुपर्ने हुन सक्छ : प्रचण्ड
सत्तासाझेदार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले संविधान संशोधनका लागि सडक संघर्षमा जानुपर्ने अवस्था आउन सक्ने बताएका छन्। अध्यक्ष दाहालले पार्टीले हालसम्म हासिल गरेको उपलब्धि युद्ध वा सडक संघर्षकै प्रतिफल भएको उल्लेख गर्दै संविधान संशोधनका लागि पनि सडक संघर्षमा जानुपर्ने अवस्था आउनेतर्फ चिन्तनमनन गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरे।
नेता पोष्टबहादुर बोगटीको स्मृतिमा बुधबार पार्टीले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले विकृत बुर्जुवा प्रणाली बदल्नका निम्ति पनि संविधान संशोधनका लागि सडक संघर्षमा जानुपर्ने अवस्था आउन सक्ने तर्क समेत गरे। अध्यक्ष दाहालले संविधान संशोधनका लागि सकेसम्म राजनीतिक दलहरुसँगबीचको संवाद, सहमती र समझदारीनै जोड दिने पनि स्पष्ट पारे।
अध्यक्ष दाहालले सडक आन्दोलनकै बलमा आफ्नो पार्टीको नेतृत्वमा प्रतिगमनबाट मुलुकलाई जोगाउने र संविधानको रक्षा गर्ने सफलता हात पारेको पनि बताए। उनले जनताको बलमा प्रतिगमन विरोधी कदमलाई पराजित गर्न सफल भएपनि हाल आएर पार्टी भित्र आफ्नो व्यक्तिगत स्वार्थ, पदका लागि मरिहत्ते गर्नेहरुको जमात बढदै गएको भन्दै चिन्ता व्यक्त गरे। पार्टी बनाउनेभन्दा गुट बनाउने धन्दा पनि पार्टी भित्र देखिएको उनको भनाइ थियो।
अध्यक्ष दाहालले नेपाल राष्ट्र र नेपाली जनताको रुपान्तरणमा नेता बोगटीले खेलेको भूमिका सदा स्मरणीय रहिरहने पनि बताए।
गुणस्तरीय शिक्षाका लागि साथ दिन प्रधानमन्त्रीको आह्वान
प्रधानमन्त्री शेरबहादुर देउवाले ‘सबैका लागि सहज पहुँच र गुणस्तरीय शिक्षा’ प्राप्त पर्ने सरकारको अभियानमा साथ दिन सम्बन्धित सबै पक्षलाई आह्वान गरेका छन्।
प्रधानमन्त्री देउवाले सामूदायिक विद्यालयहरुको शिक्षामा गुणस्तर अभिवृद्धिका लागि सरकारले विभिन्न शैक्षिक कार्यक्रमहरु संचालन गरिरहेको पनि बताए। जापान सरकारको सहयोगमा निर्माण गरिएको ललितपुरस्थित नमुना मच्छिन्द्र माध्यामिक विद्यालय भवनको बुधबार उद्घाटन गर्दै उनले अब सबैको ध्यान गुणस्तरिय शिक्षामा केन्द्रित हुनु पर्ने बताए। प्रधानमन्त्री देउवाले २०७२ सालको विनाशकारी भूकम्पले ध्वस्त बनाएका विद्यालयहरुको भौतिक पूर्वाधार निर्माणको काम सकिने अवस्थामा पुगेको उल्लेख गर्दै अवको सम्पूर्ण ध्यान त्यहाँको गुणस्तरीय शिक्षामै केन्द्रित हुने विश्वास समेत व्यक्त गरे।
उद्घाटनका अवसरमा प्रधानमन्त्री देउवाले सो विद्यालयले दृष्टिबिहीन बालबालिकाहरुको पठनपाठन गराउँदै आएकोमा खुसी समेत व्यक्त गरे। कार्यक्रममा बोल्दै ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले मुलुकको शैक्षिक, सामाजिक तथा आर्थिक क्षेत्र निर्वाध रुपले संचालन हुने गरी सरकारले कोरोनाविरुद्धको खोप अभियानलाई प्रभावकारी रुपले अघि बढाईरहेको दावी गरिन
जाईकाको आर्थिक सहयोगमा निर्माण गरिएको मुख्य शैक्षिक भवन २५ कोठाको रहेको छ भने २ वटा साना भवनमा दृष्टिबिहीन बालबालिकाको पठनपाठन हुनेछ।
सरकारले केहि दिन भित्रमै देशभरका विद्यालयहरुको पठन पाठन भौतिक उपस्थितिमा सञ्चालन गर्ने निर्णय गरेको छ।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठको उपस्थितिमा बसेको सरोकारवालाहरुको बैठकले निकट भविष्यमा विद्यालय सञ्चालन गर्न ’अनुरोध गर्ने’ निर्णय गरेको हो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलिया, कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)का कार्यकारी प्रमुख बालानन्द शर्मा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता कृष्ण पौडेल लगायत सहभागी बुधबारको बैठकले विद्यार्थी, अभिभावक तथा शिक्षकहरुलाई कोभिड १९ को अभिमुखिकरण गरी निकट भविष्यमा विद्यालय सञ्चालनका लागि तयारी गर्न अनुरोध गर्ने निर्णय गरेको हो।
२ वर्षपछि १२ को परीक्षा!
आजबाट कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै शुरु भएको छ। कोरोना भाइरसको जोखिमका कारण दुई पटक स्थगित भइसकेको कक्षा १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीहरुको भौतिक उपस्थितीमै आज (बुधबार) शुरु भएको हो। देशभर ४ हजार ३१५ वटा परीक्षा केन्द्रमा सञ्चालन भइरहेको परीक्षा असोज ८ गतेसम्म चल्नेछ। परीक्षामा सहभागी सम्पूर्ण विद्यार्थीहरुलाई स्वास्थ्यका मापदण्डहरुको पूर्ण पालना गराएर मात्रै कक्षाकोठामा प्रवेश गर्न दिइएको रत्नराज्य क्याम्पसका निमित्त प्रधानाध्यापक रामाशीष यादवले बताए। उनले हरेक विद्यार्थीहरुलाई तीन मिटरको दूरी कायम गराएर परीक्षा सञ्चालन गराइएको जानकारी दिए।
त्यस्तै विजय स्मारक माध्यामिक विद्यालयका प्रधानाध्यापक डिल्लीप्रशाद शर्माले हरेक विद्यार्थीहरुको ज्वरोको परीक्षण गरेर मात्रै कक्षाकोठामा प्रवेश गराइएको बताए। उनले कोरोनाको जोखिमबाट बच्नका लागि प्रत्येक विद्यार्थीहरुलाई मास्क र स्यानिटाइजर अनिवार्य गरेको बताए।
कोरोना भाइरसको जोखिमका कारण जेठ २६ देखि असार ४ र साउन ३१ देखि भदौ ९ गतेसम्म दुई पटक कक्षा १२ को परीक्षा स्थागित भएको थियो। आजबाट देशभरका करिव पौने ४ लाख विद्यार्थीहरुले परीक्षा दिन लागेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। विगत दुई वर्षयता भौतिक उपस्थितिमा शतप्रतिशत राष्ट्रिय मूल्यांकन हुने गरी १२ को परीक्षा भएको यो पहिलोपटक हो।
सेयर बजार रातै!
बुधबार सेयर बजारमा ४० अंकको पहिरो गएको छ। यस दिन ४०.२६ अंकले घटेर परिसूचक २८८९ अंकमा कायम भएको छ। कारोबार रकम ५ अर्ब ३५ करोडमा खुम्चिएको छ।
यस दिन सबै समूहहरु घटेका छन्। बैंकिङ २०, विकास बैंक ११६, फाइनान्स ८६, होटल तथा पर्यटन ७९, जलविद्युत ७२, लगानी १, जीवन बीमा १७५ अंकले घटेका छन्। त्यस्तै उत्पादन समूह ७३, माइक्रोफाइनान्स ५२, निर्जीवन बीमा २७२, ब्यापार २७ र अन्य समूह २१ अंकले घटेका छन्।
एकैदिन तीन लाखले लगाए कोरोना खोप
नेपालमा पछिल्लो २४ घण्टामा देशभर १६ हजार ८४४ जनामा परीक्षण हुँदा १ हजार ७६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।
सोही अवधिमा काठमाडौं उपत्यकामा मात्रै ४९५ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जानकारी दिएको छ। मन्त्रालयका अनुसार २४ घण्टामा १ हजार २२० जना संक्रमणमुक्त भएका छन् भने ७ जनाको मृत्यु भएको छ। अहिलेसम्म कोरोनाको संक्रमणबाट नेपालमा १० हजार ८९६ जनाको मृत्यु भएको छ।
त्यसैगरी पछिल्लो २४ घण्टामा करिब ३ लाख जनाले कोभिडविरुद्धको खोप लगाएका छन्। योसँगै कोभिडविरुद्धको खोप लगाउनेको संख्या एक करोड १४ लाख नाघेको छ।
पूर्ण खोप लगाउनेको संख्या ५४ लाख १५ हजार ४२७ छ भने ६० लाख ४१९ जनाले पहिलो डोज लगाएका छन्। खोप लगाउने क्रम बढेसँगै संक्रमित थपिने दर पनि केही दिनयता स्थिर देखिएको छ।
उत्तर कोरियाद्वारा दुई मिसाइल परीक्षण
उत्तर कोरियाले दुईवटा ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ। उत्तर कोरियाले पूर्वी समुद्रमा दुईवटा ब्यालेस्टिक मिसाइल प्ररीक्षण गरेको दक्षिण कोरियाका जोन्ट चिफ अफ स्टाफलाई उद्धृत गर्दै समाचार संस्था योनहापले जनाएको छ। जापानका नौसैनिकले पनि यसअघि समुद्रतर्फ केही वस्तु प्रहार गरिएको बताएका छन्।
सो वस्तु ब्यालेस्टिक मिसाइल हुनसक्ने उनीहरुको भनाइ छ। ब्यालेस्टिक मिसाइलका सम्बन्धमा उत्तर कोरिया र जापानले थप विवरण दिएका छैनन्। संयुक्त राष्ट्रसंघको प्रावधानअनुसार ब्यालेस्टिक मिसाइल परीक्षण प्रतिबन्धित छ। उत्तर कोरियाको परमाणु गतिविधि नियन्त्रण गर्नका लागि ब्यालेस्टिक मिसाइल प्रतिबन्धित गरिएको छ।
भिडियोमा हेर्नुहोस्