शनिबार, चैत ७, २०८२

योर्गेन क्लोप : ग्लाटनको सानो गाउँदेखि लिभरपुलसम्म

जिन हास अझैसम्म त्यो समय सम्झन्छन्, जतिबेला उनले आफ्नो स्कुले साथी योर्गेन क्लोपमा फुटबल प्रशिक्षकको जस्तो चतुर्‍याइँपूर्ण गुण देखेका थिए।
 |  शुक्रबार, असार १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १२, २०७७

जिन हास अझैसम्म त्यो समय सम्झन्छन्, जतिबेला उनले आफ्नो स्कुले साथी योर्गेन क्लोपमा फुटबल प्रशिक्षकको जस्तो चतुर्‍याइँपूर्ण गुण देखेका थिए।

National life

प्रसिद्ध लेखक जिन हास यार्गेन क्लोपसँगै ग्लाटनको सानो गाउँ ब्ल्याक फरेस्टमा हुर्किएका थिए। दुवैले एकै स्थानीय क्लबबाट फुटबलको सुरुवात गरे।

एसभी ग्लाटन। त्यो लोकल टिमको नाम थियो। ग्लाटनको युवा टोलीमा फुटबल खेल्दा उनीहरुको उमेर मात्र ११ वर्ष थियो।

उनीहरु बुन्डेसलिगा अन्तर्गत स्टुटगार्टको खेल हेर्न कहिल्यै छुटाउँदैनथे। छुटिहाले रेडियोबाट खेलको प्रसारण सुन्थे। जे होस्, खेलप्रति उनीहरुको लोभलाग्दो लगाव थियो।

योर्गेनमा भने लगावमात्र थिएन, दक्षता र क्षमता पनि थियो। युवा अवस्थामै उनले स्टुटगार्टको फुटबल विश्लेषण गर्न थाले । खेलमा उनले केही सब्स्टिच्युसनका लागि कोचलाई सुझाव दिन्थे। केही समयपछि क्लोपले सुझाएका खेलाडीहरु मैदान जान थालेका थिए। जसले खेलको गति र परिस्थिति नै परिवर्तगन गर्न थाल्यो।

Laxmi sunrise bank
kumari

‘म उसको खेललाई बुझ्नसक्ने कला देखेर छक्क परेको थिएँ,’ हासले सम्झिए, ‘कहिलेकाँही मलाई लाग्छ, ऊ त्यतिबेलै प्रशिक्षण गराउन योग्य थियो।’

क्लोपले ब्लाक फरेस्टको स्कुलमै मोडर्न फुटबल प्रशिक्षक बन्ने छनक दिइसकेका थिए। उनी अहिले जसरी उत्कृष्ट प्रशिक्षकका रुपमा उदाए, त्यसले विश्व फुबटललाई नयाँ पाठ सिकाइरहेको थियो।

क्लोप सन् १९६७ मा ।

क्लोपले माइन्जमै रहँदा खेलाडी जीवनबाट संन्यास लिए। अनि प्रशिक्षण थाले। नभन्दै क्लबका उत्कृष्ट प्रशिक्षक बने। क्लबलई पहिलोपटक बुन्डेसलिगामा पुर्याए। यो पराक्रम अझै रोकिएको छैन। गत सिजनमा लिभरपुललाई च्याम्पियन्स लिगमा छैटौं पटक च्याम्पियन बनाए। यो सिजनमा लिभरपुल प्रिमियर लिगको विजेतासमेत बन्यो, ३० वर्षपछि।

जसरी उनी उपाधि विजेताको प्यारो बने। खेलाडी, समर्थक, अफिसियल र पत्रकारसँग पनि सहजै घुलमिल हुने गर्छन्। यही बानीका कारण क्लबले नयाँ अवतार लिने समर्थक ठान्छन्। साथसाथै लिभरपुलका समर्थक उनले क्लबमा भावनात्मक लगानी गरुन् भन्ने पनि चाहन्छन्। समर्थकको सपनामा आँच आउन दिने क्लोपको पुरानै आदत हो। उनी छोड्न सक्दैनन्।

त्यसबाहेक धेरै आचरण छन् उनका। जसले ब्ल्याक फरेस्टबाट एनिफिल्ड मैदानसम्म ल्याइपुर्याएको छ।

उनको कथा ब्ल्याक–फरेस्ट–स्पा गाउँको ग्लाटनबाट सुरु हुन्छ। जहाँ उनले प्रारम्भिक वर्ष गुजारे।

हामी हासलाई त्यही गाउँको बेकरी छेउमा भेट्न सक्छौं। जहाँ फोहराहरु नदी बनेर बग्छन्। जहाँ नदीको नाम ग्लाट राखिएको छ र ग्लाटबाटै गाउँको नामाकरण गरिएको छ। यो त्यस्तो ठाउँ हो जहाँ योर्गेन, हास र उनका एसभी ग्लाटनका साथीहरु अवे गेम खेल्नुभन्दा अघि भेट्ने गर्थे।

खोलाको घाँसे किनारामा छोटो आरामपूर्ण हिँडाइ, जहाँ युवाहरु बाइक कुदाउने गर्थे। एक ठूलो सेतो घर जहाँ उनकी आमा अझै बसिरहेकी छिन्। त्यसको विपरीतमा उज्यालो नयाँ टाउन हल। सामुन्नेमै क्लोप र जिनले पढेको प्राथमिक स्कुल छ । यि कुराहरुले क्लोपको वाल्यकालमा पुर्याउँछन्।

दक्षिण–पश्चिम जर्मनीमा अवस्थित स्वाबिया पहाड नजिकै त्यस्तो ठाउँ छ, जहाँ कोइली कुहूकुहू गर्छ, परम्परागत भेषभूषा लगाइन्छ र स्वस्थ तथा पौष्टिक खानेकुरा पाइन्छ। त्यहाँ क्लोपले स्वतन्त्रताको अनुभव गर्दै आफूलाई विकसित गरे। जुन विकासले सम्पन्न ठाउँ माइन्ज, डर्टमन्ड र लिभरपुलभन्दा कोशौंं टाढाको स्थान हो।

‘त्यहाँका मानिसहरु शान्त र तटस्थ छन्,’ हासले भने, ‘तिनीहरु पैसासँग सावधान छन्। काम गर्न मन पराउँछन् र अरुले जे गर्छन् त्यही आधारमा उनीहरुको निरीक्षण गर्छन्।’
‘स्वाबियनलाई नजिक ल्याउन केही समय लाग्छ। तर जब उनीहरु साथी बन्छन्, जीवनभर साथ निभाउँछन्। यो कुनै पनि बालकको बाल्यकालका लागि राम्रो ठाउँ हो। त्यहाँ तपाईं आफूलाई गुणस्तरीय समय दिन सक्नुहुन्छ र काममा फोकस गर्न सक्नुहुन्छ,’ हास ठाउँको बयान गर्छन्।

क्लोप पछाडिको लाइनको बायाँ छेउमा कप्तान आर्मब्यान्डसँग।

क्लोपका दुई दिदीहरु छन् जसलाई उनले आफ्नो दोस्रो आमा बताउने गरेका छन्। उनलाई फुटबलमा आउन उक्साउने काम भने उनका बुवा (नोर्वट)ले गरे। जो एक घुमन्ते व्यापारी हुनुअघि गोलकिपर थिए।

‘उनीमा नोवर्टको ठूलो प्रभाव थियो, उनले क्लोपको दिमागमा फुटबलको आकृति भरिदिए,’ सन् १९७२ मा ग्लाटनको यू–११ टिम स्थापना गरेका क्लोपका पहिलो प्रशिक्षक उलरिक राथले भने। राथले उनका छोराहरु इंग्लो र हार्तीले पनि क्लोप र जिन हाससँगै खेल्न सकुन् भनेर यू–११ को टिम स्थापना गरेका थिए।

‘यसमा महत्पूर्ण कुरा के छ भने, नोवर्ट क्लोपको जन्म ग्लाटनमा भएको थिएन। उनी रेहिनिल्यान्ड–प्यालागिनेटमा जन्मिए। जुन ठाउँ माइन्जको नजिकै छ। जहाँका मानिसले कार्निभल मनाउँछन्। तर यहाँ (ग्लाटन र ब्ल्याक फरेस्टमा) त्यो पर्व मनाइँदैन,’ उनले थपे।

नोर्वट ब्ल्याक फरेस्टको क्लबमा पनि सक्रिय थिए। पहिले फुटबलमा समय व्यतित गरे भने पछि टेनिस खेल्न थाले। नोवर्ट बोल्नमा सिपालु, उत्साही र तागतिला थिए। जुन लक्षण योर्गेनमा पनि वृद्धि हुँदै जान थाल्यो।

क्लोपकी आमा ग्लाटनकी ठूलो खानदानकी छोरी थिइन्। तर उनको गाउँका मानिस पछि परेका तर शान्त स्वाभावका थिए। उनीहरु धेरै श्रम गरेर श्रमअनुसारको ठूलो इच्छा राख्दथे।

‘जब योर्गेन तलमाथि उफ्रन्थे, म उनीमा नोर्वटकै शैलीका आक्रामक मानिस देख्थें। तर जब घरभित्र जान्थे एक्कासी शान्त स्वाभावका बनिहाल्थे। यसमा उनको आमाको ठूलो हात छ,’ राथले भने।

क्लोप ग्लाटनको युवा टिममा मिडफिल्डर र कप्तान थिए। तर किशोरावस्थाको अन्त्यतिर उनी अर्को क्लब तुस इग्रेन्जिनतर्फ लागे। त्यो टाउनको ठूलो टिम थियो। त्यसैले राथले क्लोपलाई ‘पराजयमा रिसाउने तर प्राकृतिक रुपमै एक लिडर’ भएका संज्ञा दिएका छन्।

‘उनी अगाडि जहिल्यै पनि सत्यको पक्ष लिन्थे र नराम्रो भएको भए जाइलागिहाल्थे,’ ७९ वर्षिय राथले भने, ‘हाम्रो सम्बन्ध राम्रो थियो। उनी महत्वाकांक्षी थिए। र, आफ्नो टिममेटलाई खेल्न उक्साइरहन्थे। भन्थे– जाऔं त्यो टिमलाई लडाऔं र अगाडि बढौं।’

युवा क्लोप उनका पिता नोवर्टसँग फोटोको पोज दिँदै।

क्लोपले खेल्ने मैदानको वरिपरि अग्लाअग्ला पाइनका रुखहरु थिए। अर्को साइडमा भने सानो नदी थियो। जहाँ क्लोपले बलसँग समय विताउँथे।

सन् १९८१ मा, एकपटक गाउँको टोलीले बोरुसिया डर्टमुन्डसँग खेल्ने असामान्य अवसर प्राप्त गर्यो। त्यो खेल अन्तर्गत डर्टमुन्ड प्राइमसँगको फोटो, उनको हस्ताक्षर सहितको उनको गाउँलेप्रतिको समर्पण र स्मृतीहरु आज पनि अन्य ट्रफीसँग क्लबमा सुरक्षित छन्।

पछि २०११ मा क्लोपले डर्टमन्डलाई बुन्डेसलिगाको विजेता बनाए। त्यो समयमा उनको गाउँमा ठूलो उत्सव मनाइएको थियो। सबै जनाले चेयरिङ गरिरहेका र गीत गइरहेको समयमा क्लोपमा स्टेजमा चढेर भाषण गरे।

‘त्यो उत्सव असाध्यै रमाइलो थियो,’ गहुँको बियर पाइने, साँझमा बाइकरहरु भेला हुने,’ धुँवैधुँवाले भरिएको काठको गुफाजस्तो स्थानीय बारमा हासले नोस्टाल्जिक हुँदै भने।
‘एक मिनेट ! क्लोप त डर्टमुन्डका प्रोफेसनल प्रशिक्षक बनिसकेका मानिस हुन्, त्यसपछि मात्र मेरो पुरानो साथी हुन्। तर उनी गाउँबारे धेरै इच्छुक छन्। त्यसबेला गाउँले पनि उनीप्रति भावुक थिए, त्यसैले उनले गाउँले भाषामै मानिससँग बोलेका थिए,’ हास सम्झन्छन्।

ग्लाटनका राथले कहिलेकाहीँ क्लोपलाई टिभीमा हेर्छन्। अन्तिम पटक उनको जन्मदिनमा क्लोपसँग कुरा गरेका थिए। क्लोपले उनलाई सरप्राइज फोन गरेका थिए। ‘क्लोपले मलाई बधाई दिए र विस पनि गरे। यो क्लोपको घर हो। र, उनी यो कुरा कहिल्यै विर्सिँदैनन्,’ राथले आँखा भिजाएर बताए।

ग्लाटन छोडिसकेपछि क्लोपले रोट वेस फ्रान्कफ्रटमा पनि खेले। जतिबेला उनी सिटी विश्वविद्यालयमा खेल विज्ञानको अध्ययन गरिरहेका थिए।

सन् १९९० मा, २३ वर्षीय क्लोप ३० माइल टाढा रहेका दोस्रो डिभिजन क्लब माइन्जसँग सेमी प्रोफेसनल सम्झौता गर्नका लागि गए। त्यहाँ उनले माइकेल स्चुमचरको कप्तानीमा खेले।

‘क्लोप त्यो समयमा लुक्स र व्यक्तित्व दुवैमा भिन्न शैलीका विद्यार्थी थिए,’ ६२ वर्षे हास मुस्कुराउँदै भन्छन्, ‘त्यतिबेला ३४ हजार अटाउने माइन्जको नयाँ रंगशालामा कर्पोरेट सुटमा सजिएका क्लोपको हातमा क्लबको उज्वल भविष्य चम्किरहेको थियो। उनी जहिले पनि जिन्स र टी–सर्ट लगाउँथे र जहिल्यै पनि भयमुक्त देखिन्थे।’

प्रशिक्षकका रुपमा क्लोपको पहिलो मुख्य उपाधि गृहनगरमा उत्सव गरिँदै

पिचमा उनको जीवन दर्दनाक भन्दा पनि केही गरेर देखाउने प्रकृतिको बन्यो। जसलाई दोस्रो डिभिजनको खुट्टा भएर पनि पहिलो डिभिजनको मष्तिस्क भएको मानिस भनेर चिनिएको थियो।

‘जब उनी हाम्रोमा आए, उनी फरवार्ड थिए,’ स्चुमचारले थपे, ‘उनको हेड छिटो र राम्रो थियो। तर उनी खेलको प्राविधिक क्षेत्रबाट संघर्ष गर्न चाहन्थे।’

‘उनका लागि यो गाह्रो थियो। जब उनको नाम आउँथ्यो, समर्थक सिट्टी बजाउन र ताली मार्न तातिन्थे। मलाई सम्झना छ, खेलपछि हामी हाइड्रो मसाज पुलमा बसिरहेका थियौँ ।  क्लोपले मलाई भने– म के गर्न सक्छु ? कोच मलाई जहिल्यै अगाडि ल्याउन चहान्छन्। उनलाई थाहा थियो– उनी उत्कृष्ट खेलाडी थिएनन् तर जे भनिएको हुन्थ्यो, सहजै गरिदिन्थे।’

प्रशिक्षक वुल्भ्ग्यागं फ्रान्कको नेतृत्वमा खेलेका ६ फिट ३ इन्चका क्लोपले माइन्जमा लगातार सफलता पाइरहे। त्यहाँ उनले एक दशकको समयमा ३२५ खेल खेले। तर क्लबले उनलाई अचानक प्रशिक्षक बनाउने निर्णय गर्यो, जहाँबाट उनको शक्ति साजा जर्मनीले चिन्यो।

क्लोप (बायाँ) माइन्जबाट सेन्ट पाउलीविरुद्ध खेल्दै, अक्टोबर १९९९।

त्यसबेलामा माइन्ज रेलिगेसन भएर तेस्रो डिभिजनमा पुग्ने अवस्थामा थियो। २००१ को फेब्रुअरीमा हराल्ड स्तुजले एक बोल्ड डिसिजन लिएर उनलाई प्रशिक्षक बनाए।
‘त्यतिबेला क्लब यस्तो अवस्थामा थियो कि हामीले छिटोछिटो तीन जना प्रशिक्षक परिवर्तन गरिसकेको थियौं,’ क्लोप खेलाडी हुँदाको र प्रशिक्षक हुँदाको सम्झना गर्दै क्लबका संथापक स्तुजले भने।

‘हामीसँग धेरै महत्वपूर्ण खेल थियो, हामीलाई सहयोग गर्ने कोही पनि छैन भने हामी आफैंले सबैथोक गर्नुपर्छ भनेर हामीले खेलाडीलाई भनेका थियौं,’ स्तुजले पहिलाका कुरा सनाए, ‘त्यतिबेला नै हामीले क्लोपलाई प्रशिक्षक बनाएको हो। त्यो निर्णयले सहरका मानिसलाई खुसीको बहार दिलायो र क्लबको राम्रा दिन सुरु भए।’

‘योर्गेन क्लोप शौखका भोगी थिए, स्पेशल व्यक्तित्वका एक सामान्य मानिस थिए। हामी खेलमा देख्न सक्छौं कि उनी एक नेता हुन्। क्लबका समर्थक कति प्रभावित बनेका छन् त्यो पनि देख्न सक्छौं,’ उनले भने, ‘उनी प्रशिक्षक भएपछि क्लबमा नतिजा निस्कन सुरु भइहाल्यो। पहिलो गेमका साथै लगातार ६ खेल जित्यौं। जसले क्लबलाई रेलिगेशन जोनबाट बाहिर ल्यायो।’

क्लोप र माइन्ज बुन्डेसलिगामा प्रोमोसन भएपछि उत्सव मनाउँदै

त्यसपछिका दुई सिजनमा त क्लब प्रोमोसनको दावेदार नै बन्यो। तर दुवै पटक पीडादायी परिस्थितिले चुक्यो। त्यो समयमा मेन्जको १५ हजार मानिसको सभामा क्लोपले भाषण गरेका थिए। ‘सबैका आँखामा आँशु थियो । त्यतिबेलै योर्गेन स्टेजमा गए र भने– हामी अझै मजबुत भएर खेलमा फर्कनेछौं र प्रयास गर्नेछौं। प्रशिक्षकको यस्तो प्रभावशाली वक्तव्यले मासिलाई पनि बलशाली बनाएको थियो। बोल्ने समयमा उनी जहिल्यै उचित शब्द भेटाइहाल्थे,’ स्तुजले भने।

क्लबका समर्थकको आँशु तब उत्साहमा बदलियो, जब माइन्ज पहिलोपटक बुन्डेसलिगामा प्रोमोसन भयो। ‘म अहिले पनि भन्छु कि हामीसँग त्यो साँझ सुमधुर थियो,’ स्तुजले भने, ‘योर्गेनले मलाई मेरो कहिल्यै बिर्सन नसक्ने तस्बिर उनीसँग भएको बताएका थिए। जसमा म विहानको ३ बजेसम्म पवमा खुसीसाथ हुन्थेँ। हाँस्दै, रमाउँदै र पिउँदै।’

त्यसपछि माइन्ज तीन वर्षसम्म बुन्डेसलिगामा खेल्यो। जसबाट क्लोपले आफ्नो रणनीति विश्वलाई परिचित गराए। ‘जब तपाईं माइन्जविरुद्ध खेल्नुपर्ने हुन्थ्यो, खेलाडी उत्कृष्ट थिएनन् तर उनीहरुको फुटबल स्पिरिट धेरै माथि हुन्थ्यो,’ बोरुसिया डर्टमुन्डका मुख्य कार्यकारी हान्स जाआचिम भन्छन्, ‘विश्वकप २००६ को समयमा पनि मानिसहरुबीच उनले राम्रो प्रभाव जमाएका थिए।’

धेरै दुःखका साथ उनले माइन्जबाट विदा लिए। क्लोप सन् २००८ मा डर्टमुन्डमा अनुबन्धन भए। त्यसलगत्तै उनी ८० हजार दर्शक क्षमताको रंगशालाको मालिक क्लबमा राम्रोसँग जमे।

त्यहाँ रहँदा उनले क्लबलाई बुन्डेसलिगाका २ उपाधि दिलाए। सन् २०११ मा पहिलो पटक र सन् २०१२ मा दोस्रो पटक। युरोपको संघर्षरत क्लबलाई एक सफल क्लबको रुपमा परिणत गराए।

‘उनले टिमलाई नयाँ आत्मबल प्रदान गरे,’ जाआचिम भन्छन्, ‘हामीले पहिले खेलेको भन्दा नयाँ तरिकाको फुटबल खेलाए । आक्रोश, दबाव र शक्तिसहितको खेल। जुन उनले खेलाडीको दिमागमा भरिदिएका थिए।’

‘समर्थक र खेलाडी दुवैले पहिलो भेटबाटै उनलाई मनपराए। पूरै सहर, पूरै क्षेत्र अनियन्त्रित भएको थियो,’ डर्टमुन्डका कार्यकारीले भने।

क्लोपले सन् २०१५ मा डर्टमुन्ड छोडेका हुन्। उनले त्यहाँ २ पटक लिग उपाधि र एक जर्मन कप जिते भने २०१३ मा च्याम्पियन्स लिगको फाइनमा पराजित भएका थिए।

डर्टमुन्डमा क्लोपको सुपरस्टार स्टाटस मानिसहरुले तब बुझे, जब हेलिकोप्टरबाट खिचिएको २०११ को विजय उत्सव परेडको तस्बिर सार्वजनिक भयो। जसमा ‘क्लोपो–डु–पपस्टार’ लेखिएको पोस्टरसँगै मनिसहरुको गीत गाइरहेको देख्न सकिन्छ। यसको भिडियो सामाग्री इन्टरनेटमा उपलब्ध छ।

‘त्यसबेला उनी जर्मनीमा फेमस बनिसकेका थिए,’ क्लोपो डु पपस्टारका लेखक उली ग्राफले भने, ‘ब्ल्याक फरेस्टका एक केटा हिरो बने। जो सधै जनताका मानिस थिए। तर, उनी पपस्टार बन्न चाहन्थेनन्। ’

तथ्यांकले पनि के देखाउँछ भने मानिसहरु योर्गेनसँग आफ्नो होलीडे मनाउन पाउँदा एकदमै खुसी हुन्छन्। ‘तपाईं हाँस्न सक्नु हुनेछ, राजनीति र खेलका कुरा गर्न सक्नुहुन्छ,’ उनले भने, ‘उनी धेरै ज्ञानी र चलाख मानिस हुन्, तपाईं उहाँबारे जस्तो बताउनु हुन्छ त्यसमा डराउनुपर्ने केही कुरा छैन।’

एक महान फुटबल प्रशिक्षक, सभ्य कलाकार र छुट्टीका आदर्श साथी हुन् क्लोप। तर उनको प्रतिभा यतिमै सकिँदैन। बोरुसिया डर्टमुन्डको प्रायोजक क्लबसँग सम्झौता नवीकरणको लागि ढुलमुल गरिरहेका हुन्थे, क्लोप आफैंले उनीहरुलाई फोन गर्थे।

‘योर्गेन क्लोप बजार व्यवस्थापक पनि हुन् भन्दा फरक पर्दैन,’ कास्टेन क्रामरले भने। क्लोपले डर्टमुन्डमा ७ वर्ष विताउँदा क्रामर त्यहाँको बजार प्रवद्र्धन प्रमुख थिए। क्रामर अहिले क्लबका प्रबन्ध निर्देशक छन्।

‘क्लोपजस्ता मानिस डर्टमुन्ड जस्तो भावुक क्लबमा काम गर्नु अद्वैत बोन्ड हुन्थ्यो। उनी क्लबको परिचय मानिससामु पुर्याउन अब्वल थिए,’ उनले भने, ‘उनी एक हतियार हुन्, एक उत्कृष्ट अलराउन्डर र हामीलाई उत्तम माध्यममा सहयोग सारथी हुन्। प्रयोजकलाई उनको बोलीले छोइहाल्थ्यो, उनी फोन गर्थे र सम्झौता नविकरण गरिहाल्थे।’

पाँच वर्षको सहकार्यबाट क्रामर र जाआचिम क्लोपका नजिकका साथी बने। पछिल्लो समय लिभरपुलको च्याम्पियन्स लिगको फाइनलका दौरान उनी युक्रेनको केव र मड्रिडमा पाहुनास्वरुप गएका थिए।

‘यदि तपाईं योर्गेनजस्तो मानिसँग सात वर्ष काम गर्नुभयो, र उनलाई सम्झिन्न भन्नुभयो भने त्यो तपाईंको अभिव्यक्ति झुटो हुनेछ। उनी एक असाधारण मानिस हुन्,’ क्रामरले भने, ‘तर जसरी उनले लिभरपुल क्लबलाई मात्र नभएर पूरा सहर र समर्थकलाई नै नयाँ आशा र शक्ति दिएका छन्, त्यसले हामीलाई पनि गर्व गर्न लायक बनाएको छ।’

(बीबीसीका साम शेरिङ्घमको सामग्री विनय सापकोटाले अनुवाद गरेका हुन्)

प्रकाशित: Jun 26, 2020| 08:27 शुक्रबार, असार १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।