विराटनगर– प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले बुधबार साँझ मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्।
अल्पमतमा परेका मुख्यमन्त्री आचार्यले मन्त्रिपरिषद् विस्तारको तयारी गर्दा एमालेका तीन सांसदले मन्त्री बन्न अस्वीकार गरेका छन् ।
एमाले प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी, सांसद बिमल कार्की, निवर्तमान राज्यमन्त्री राजकुमार ओझाले मन्त्री पद अस्वीकार गरेका हुन् ।
उनीहरु तीनै जनालाई मुख्यमन्त्री आचार्यले राज्यमन्त्रीको प्रस्ताव गरेका थिए। श्रोतका अनुसार राज्यमन्त्रीको प्रस्ताव गरेकाले मन्त्री पद अस्वीकार गरेका हुन।
पूर्व राज्यमन्त्री ओझाले ३ हप्ते सरकारको राज्यमन्त्री बन्न अस्वीकार गरेको बताएका छन्। मुख्यमन्त्री आचार्यले बुधबार साँझ २ मन्त्री र ३ राज्यमन्त्रीलाई शपथ गराउने तयारी गरेका छन्।
यसैबीच मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले असोज २२ गते प्रदेशसभाको अधिवेशन बोलाउने निर्णय गरेको छ। सो बैठकको सुरुवातमै मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्नेछ।