पुरुषको तुलनामा महिला ओलम्पिक जिमन्यास्टहरुले युवा अवस्थामै प्रतिस्पर्धा गर्छन्। उनीहरुको शीर्षमा पर्ने अवसर पनि धेरै जटिल हुन्छ।
माइकिल्या स्किनर अमेरिकी राष्ट्रिय टिमकी जिमन्यास्ट हुन्। उनले आफ्नो वर्कआउटका दौरान धेरै लामो संघर्ष गरेकी छिन्।
गएको २६ मार्चपछि पनि उनले आफ्नो भल्टमा ध्यान दिन धेरै कोसिस गरिन् तर सकिनन्। उनको कुनै फ्लिप, ट्वीस्ट र ल्यान्डिङ सही भएनन्। त्यसपछि उनको एकमात्र चाहना भयो– आफ्नो बेडमा गएर सिरकमुनी छोपिएर रुनु। घर फर्किएर धेरैबेर रोइरहिन्। र, धेरै समयसम्म आँशु पुछिरहिन्।
यसबारे पछि स्किनर र प्रशिक्षकले उनी आफ्नो कमजोर अभ्यासका कारण रोएकी बताएका थिए।
सन् २०१६ को ओलम्पिकमा वैकल्पिक खेलाडीमा परेकी स्किनर टोकियो ओलम्पिकका लागि आशावादी थिइन् र प्रशिक्षणमा थिइन्। यता, ओलम्पिक रोकियो। टोकियो ओलम्पिक उनको लागि सबैथोक थियो। भनौं, उनको सबैथोक रोकियो।
‘मलाई यस्तो कुराले हिट गरेको थियो कि मसँग ओलम्पिकका लागि ट्रेनिङ गर्न पाँच महिना मात्र बाँकी छ। तर, अब त्यो सकिने लाइन धेरै पछि पुग्यो,’ स्किनरले टोकियो ओलम्पिक एक वर्ष पछि सरेको बारे फोन अन्तर्वार्तामा भनिन्, ‘यो भयावय स्थिति हो।’
स्किनर एक हजार ओलम्पियनमध्ये एक हुन्। उनको टोलीमा साइमन बिल्स (अमेरिकी इतिहासमा एक सर्वाधिक डेकोरेटेड खेलाडीका) पनि छिन्। यसकारण स्किनर आफ्नो खेलको ढुंगा पल्टिने हो कि भन्ने चिन्तामा रहन्छिन्।
उनले कोरोना भाइरसको महामारीका कारण पाएको अतिरिक्त चिन्ता हो यो।
खेलाडीलाई चिन्ता कम गर्नका लागि अमेरिकाको ओलम्पिक र पाराओलम्पिक कमिटीले प्रशिक्षकको सल्लाहमा खेलाडी सम्हाल्ने पनि टिम पठाएको छ।
टिमका प्रशिक्षकले दिने पहिलो टिप्स हो, ‘दुःख दुःखीसँग मात्र हुन्छ।’ यो टिप्स किन दिइएको हो भने– ओलम्पिक खेल्न खेलाडीको ठूलो प्रतीक्षा हुन्छ। तर प्रतियोगिता स्थगनले ओलम्पिक खेल्ने आशावादी खेलाडीको खेलप्रतिको भावना नै हराउन सक्छ। यो डर अमेरिकी ओलम्पिक कमिटीलाई छ।
उनीहरुमा ओलम्पिक खेल्न पाउँछु भन्ने सपना हराउनु भनेको राष्ट्रका लागि ठूलो घाटा हुन जान्छ।
प्रतियोगिताको नयाँ मितिले धेरैजसो महिला खेलाडीलाई अधिक पीडा दिएको छ। किनभने उमेरका कारण उनीहरुको ओलम्पिक प्रवेशको ढोका सानो हुन्छ।
धेरै महिला जिम्न्यास्टहरु युवती (टिनएजर) छन्। जसले आफ्नो शरीर वयस्क हुनुअघि एकमात्र समर ओलम्पिकमा खेल्न पाउँछन्। तौल र उचाइ जोड्दा उनीहरुको उमेरले ट्विस्ट र फ्लिप गर्न बाधा पुर्याइरहेको हुन्छ। जिमन्यास्टहरुले खेलजीवन पनि सानै उमेरमा सुरु गर्नुपर्ने हुन्छ।
पुरुषको तुलनामा महिलाले झनै सानो उमेरमा खेल सुरु गर्छन्, जसले उनीहरुको शरीर बिग्रन्छ र लामो समयसम्म अभ्यास गर्न सक्दैनन्।
४८ वर्ष अघिदेखिको ओलम्पिकको नतिजा हेर्दा महिला अलराउन्डमा १९ वर्षकाले धेरै मेडल जितेका छन्।
त्यसैले बिल्सका लागि यो समर धेरै महत्वपूर्ण थियो। उनी टोकियो जाने अमेरिकन टिमको एक अनुहार थिइन्। अलराउन्डमा उपाधि रक्षाका लागि सबैलाई हराउन सक्ने क्षमता थियो उनमा।
तर अहिले बिल्स २३ वर्षकी भइन्। जिमन्यास्टीका लागि यो उमेर धेरै मानिन्छ। जसले गर्दा उनी जिमको लकर रुममा बसेर रुनुको विकल्प रहेन। जब उनले ओलम्पिक स्थगन भएको समाचारबाट थाहा पाइन्।
‘म अझैसम्म दिनदिनै आफू खेलमा पुनरागमन गर्न सक्छु वा सक्दिन। अथवा के हुने हो, त्यसैमा केन्द्रित भएर सोचिरहेको छु,’ बिल्सले घरबाटै टेलिफोनमा भनिन्, ‘मलाई थाहा छैन कि म यो मानसिक रुपमा हेन्डल गर्न सक्छु। यात्रा धेरै कठिन छ। म यही वर्षपनि खेल्न सक्छु वा सक्दिन भन्नेबारे अघिबाटै आफैंसँग लडाइँ गरिरहेको थिएँ।’
बिल्सले आफ्नो खेल जीवन अन्त्य गर्नेबारे सोचिरहेकी छिन्। खेल सकिएपछि उनले जीवनको अर्को चरणको बारेमा सोच्नुपर्ने हुन्छ। त्यसपछि मात्र उनले दैनिक चोट र न्यागिङ इन्जुरीबाट राहत पाउने छिन्। साथै उनले अमेरिकन जिम्न्यास्टिक र युएसओपीसीसँग पनि डिल गनुपर्ने छैन।
बिल्स पहिले नै एक डाक्टर (अमेरिकी राष्ट्यि टिमको डाक्टर जो २०० केटीमाथि दुर्व्यवहार गरेको आरोपमा पछि जेल पनि गए) बाट दुर्व्यवहारमा परेकी थिइन्।
उनी अहिले पनि यो सोचेर हैरान हुन्छिन् कि, ‘ओलम्पिक अधिकारीले खेलाडीलाई संरक्षण गर्न कसरी चुकिरहेका छन्?’
‘मैले अब अर्को वर्ष पनि यूएसएजीसँग डिल गनुपर्ने?’ ओलम्पिक स्थगन भएपछि उनले क्रोधित हुँदै भनिन्।
बिल्स चार पटककी ओलम्पिक गोल्ड मेडलिस्ट हुन, उनले स्पोर्टस् विश्व च्याम्पियनसिपमा १९ गोल्ड मेडल जितिसकेकी छिन्। यो वर्ष पनि उनले सजिलै आफ्नो बचाउ गर्नेछिन् भनेर धेरैले आशासमेत गरेका थिए।
तर उनले हार मानिसकेकी छैनन्। प्रतियोगिता अर्को वर्षसम्मका लागि स्थगन गरिएकोबारे विचार गर्दै आफूलाई पछिसम्म पनि उस्तै राख्ने बताउँछिन्। भन्छिन्, ‘मलाई लाग्छ अब के हुन्छ कसलाई थाहा छ ? विश्व कता जान्छ, कसैले बुझ्न सक्दैनन्।’
बिल्सको टिमकै सहयात्री हुन् सुलिसा ली। उनलाई जेस ग्राबाले प्रशिक्षण गराउँछन्। ग्राबाका अनुसार धेरै जिमन्यास्टिक टोकियो ओलम्पिक २०२० का लागि प्रशिक्षण गरिहेका छन् । त्यसैले उनीहरुको मनमा स्थगनबारे सामान्य भाव पैदा हुन समय लाग्ने छ। उनीहरु बेचैनीमा छन्।
‘धेरै मानिसहरुले सोच्छन्, तिमी युवा नै छौ, तिमीले अर्को ओलम्पिकमा अवसर पाउने छौं। तर तिनीहरुले बुझ्दैनन् की यो एक वर्षको मात्र योजना होइन, यो १० वर्षको योजना हो,’ ग्राबाले भने, ‘खेल्न सोचेजति सजिलो छैन, कि तपाईंले रिसेट बटन थिच्नुभयो र अर्को वर्षको प्रशिक्षण गर्नुभयो। यो धेरै जटिल प्रक्रिया हो।’
ग्राबाकी प्रशिक्षार्थी ली १७ वर्षकी भइन्। उनले गत वर्षको च्याम्पियनसिपमा बिल्ससँग हारको सामना गरेकी थिइन्। उनका अनुसार स्थगनले खेलाडीको शारीरिक र मानिसक स्थितिमा पनि रन्को छुटाएको छ।
अहिले उनको हाइस्कुल बन्द छ, जिम हल पनि बन्द छ। महामारीले गर्दा उनको १२ वर्षे प्रशिक्षणको दौरान पहिलोपटक यति लामो समय त्यत्तिकै व्यतित गर्नुपरेको छ।
लीका अनुसार जीममा गर्ने वर्कआउटले टिनएजरको मानसिक चापलाई कम गर्छ र खेलमा केन्द्रित हुन सहयोग गर्छ। काम नभएपछि अहिले उनी आफ्ना जिम्न्यास्टिक साथीहरुसँग फेसटाइममा कुरा गर्छिन्, घरमा पाँच भाइबहिनी र अभिभावकसँग बसिरहेकी छिन्।
लीका पिता प्यारालाइज्ड छन्। उनी साथीलाई रुखको हाँगा काट्न सघाउँदै गर्दा भर्याङबाट खसेर प्यारालाइज्ड भएका थिए। ली अहिले छातीबाट तलको सबै भाग प्यारालाइज्ड भएका पितालाई खाना खुवाउने साथै खाटबाट ह्विलचेयरमा बाहिर पुर्याउने र राति फेरी खाटमा फिर्ता लान सहयोग गर्छिन्।
उनी घरमा वर्कआउट पनि गरिरहेकी हुन्छिन्। उनी वेट कम गर्ने अथवा रवर ब्यान्ड प्रयोग गरेर बडीलाई सेपमा राख्ने काम गरिरहेकी छिन्। उनका पिता पनि आफ्नो ताकत कायम राख्नका लागि केही कसरत गर्छन्।
लीका पितालाई कहिलेकाहीँ श्वासप्रश्वासमा समस्या आइरहने भएकाले उनलाई विषाणुको संक्रमणबाट जोगाउन ली हरदम प्रयास गरिरहन्छिन्। अमेरिकामा कोरानाको बढ्दो प्रभावका कारण उनको चिन्ता त्यता पनि बढ्दो छ।
‘कोभिड–१९ले धेरै चिन्ता थपेको छ। किनकी म उहाँ बिरामी हुनुहोस् भन्ने चाहन्नँ,’ उनले भनिन्, ‘यो धेरै नै कठिन समय भएको छ।’
अन्य जिमन्यास्टजस्तै स्किनर पनि आफ्ना अभिवावकबारे चिन्तामा छिन्। स्किनरका बावुआमा उनको अपार्टमेन्टभन्दा एक माइल टाढा रहेर कोभिड–१९ विरुद्ध लडिरहेका छन् र घरमै सेल्फ क्वारेन्टाइनमा छन्।
स्किनर आफ्ना पिताको कामलाई लिएर झनै सशंकित छिन्। कोरोनाका कारणले सामाजिक दूरी कायम राख्नुपर्ने र गिर्दो अर्थतन्त्रका कारण डाक्टरलाई लेजर लाइट प्रायोगबारे सिकाउने स्किनरका बावुको काम रहने हो वा होइन भन्ने चिन्ता उनमा छ।
टोम फ्रोस्टर, अमेरिकी राष्ट्रिय महिला टिममा उच्च प्रदर्शन कोअर्डिनेटर हुन्। खेलाडीलाई घरायसी प्रभाव धेरै पर्ने गरेको उनको चिन्ताको विषय छ। ‘राष्ट्रिय टोलीका खेलाडीका केही अभिभावक यसअघि नै कामबाट निकालिएका छन्। राष्ट्रिय टिममा जिमन्यास्टहरु सेटल नहुनुको पछि यो पनि एक सिरियस सवाल पैदा भएको छ,’ उनी प्रश्न गर्छन्, ‘त्यसैले उनीहरु जिमन्यास्टिकको उच्च प्रदर्शनमा फर्कन सक्लान् त ? अथवा उनीहरुले यहाँ फर्कन प्रयास गर्लान् त ?’
अर्को समर ओलम्पिकका लागि कस्तो प्रकारको सेलेक्सन विधि हुन सक्छ ? अहिले जो छ तिनीहरु राष्ट्रिय टिममा रहिरहन सक्छन् ? यो ओलम्पिकमा धेरै कलिला खेलाडी पनि परेका छन्, कतिपय १६ वर्ष पनि पुगेका छैनन्, उनीहरुका लागि के गर्न सकिन्छ ? के तिनीहरु अर्को ओलम्पिकमा पनि क्वालिफाइ हुन्छन्? यस्ता धेरै प्रश्नको उत्तर फ्रोस्टरसँग छैन।
तर, उनी अमेरिकी जिमन्यास्टिक र यूएसओपीसीले एथ्लेट्सको डर हटाउनमा सहयोग गर्छ भन्नेमा विश्वस्त छन्।
किम क्रान्ज जिम्न्यास्टिक संगठनका लागि एथ्लेट्स स्वास्थ्य र कल्याण विभागका उपाध्यक्ष हुन्। उनले खेलाडीलाई हौसला दिनेबारे कुरा गर्दै भने, ‘योजनामा आमूल परिवर्तन भएर जो खेलाडी दुःखी र निसाश भएका छन् साथै रिसाएका छन्, अगुवाहरु उनीहरुलाई सहयोग गर्न चाहिरहेका छन्। खलाडीका लागि यूएसओपीसीले फोनमार्फत् काम गर्ने गरि खेल मनोविद् र चिकित्सक पनि खटाएको छ।’
‘म सोच्छु धेरै खेलाडीहरु आफूले ज्यादै चाहेको कुराबाट बञ्चित हुनुपर्दा सन्ताप गरिरहेका छन्,’ क्रान्जले भने, ‘जुन कुरा खेलाडीहरुले बसमा ल्याउन सक्छन्, त्यसलाई बसमा ल्याउनका लागि हामी साँच्चै खेलाडीलाई प्रेरणा दिइरहेका छौं।’
ओलम्पिकका आशावादी जिमन्यास्टलाई हालसालै पठाइएको एक भिडियोमा सिनियर खेल मनोविद् करेन कोगन भन्छिन्, ‘कोरोनाविरुद्ध लडिरहनु खेलाडीका लागि कहिल्यै सोचेजस्तो रिजल्ट नआउने खेलमा प्रतिस्पर्धा गरेजस्तै हो।’
‘अहिले पूरा विश्व नै यो चुनौतीसँग जुधिरहेको छ,’ कोगन भन्छिन्, ‘खेलाडी भएर, खेलाडीमा एक टिम भएर हाम्रो काम भनेकै सबैभन्दा राम्रो प्रदर्शन गर्नु हो।’
गत हप्ताको टेलिफोन अन्तर्वार्तामा कोगनले भनेकी थिइन्, ‘मलाई खेलाडीसँगको फोन कलले धर्मसंकटमा धकेलेको छ। केही खेलाडी अन्य विकल्पहरु बारे कुरा गर्न थालेका छन्। त्यस्तै केही खेलाडी संन्यास उन्मुख छन्। उनीहरु अर्को सालको प्रशिक्षण व्यवस्थापन गर्न सक्ने अवस्थामा छैनन्।’
‘कुराकानीमा खेलाडीको मनोवैज्ञानिक र उनीहको व्यक्तिगत जीवनबारे बुझ्ने गरेको छु। तर अहिले सबै कुराकानीमा कोरोना र खेल स्थगनबारे कुरा हुन थालेको छ,’ उनले भनिन्, ‘अहिले हामीले भनेको कुरा के हो भने हामी अहिल्यै ठूलो निर्णय लिइ नहालौं। कम्तिमा त्यतिबेला सम्म नलिऔं जबसम्म भविष्यको बारेमा अलिअलि पनि थाहा हुँदैन।’
यद्यपि, महिलाको उच्च प्रदर्शन निर्देशक फ्रोस्टर फेरि भन्छन्– यो ढल्किँदो उमेरका खेलाडीका लागि चुनौतीपूर्ण निर्णय हुनेछ कि खेलमा रहिरहँदा उनीहरुको शारीरिक दुखाइ बढ्न सक्छ। उनी खेल छोड्न तयार रहे छोड्न सकिने सल्लाह पनि दिन्छन्।
४ पटकको ओलम्पिक च्याम्पियन बिल्सका लागि दुई सिरियस औंलाको चोटसँगै दुखाइ र पीडा साथमै छ। उनले हालसालै डाक्टरलाई भेटेकी थिइन्। ‘मेरो एक खुट्टाको औंला पाँच ठाउँमा च्यातिएको छ। र, यो कहिल्यै पुरा निको हुने छैन। अर्को औंलाचाहिँ चीरा परेको छ,’ उनले भनिन्, ‘एउटाले समस्या गराएन भने पनि अर्को समस्या छँदैछ।’
जुन २५ यता उनको पनि जिम बन्द छ। बिल्स जब आफ्नो भविष्यको बारेमा सोच्छिन्, आफूलाई फिट राख्नुपर्ने कुरामा ध्यान दिन्छिन्। त्यसैले उनले आफ्नो किचेन, किचेनको सामान राख्ने ठाउँ र सुत्ने कोठा सफा गरेर सामान मिलाउँछिन्। घरमै समान्य वर्कआउट गर्छिन् र फ्रेन्च बुलडग ‘लिलो’ सँग उनी कोही कोहीबेला ताजा हावा खान निस्किन्छिन्। फुर्सदको समयमा भने नेटफ्लिक्समा ‘टाइगर किङ’ हेर्छिन्।
‘एक्लै भएको समयमा मनोवैज्ञानिक समस्या समाधान गर्ने काम गर्छु,’ उनले भनिन्, ‘लामो समयसम्म बुवाआमाभन्दा टाढा बस्नुपर्दा नराम्रो लागिरहन्छ। भाइरसको जोखिमका कारण पछिल्लो केही समयबाट अभिभावकलाई भेट्न पाएको छैन।’ उनी आफ्नो बुवाआमालाई सम्झिरहेको बताउँछिन्।
बिल्सका अनुसार उनले खुट्टाको चोटको डाक्टरबाहेक थेरापिस्ट र खेल मनोविद्सँग कुरा गरेकी छैनन् र उनले यूएसओपीसीबाट पनि केही आशा गरेकी छैनन्। अर्को वर्षको ओलम्पिकको लागि आफैं निर्णय लिन चाहन्छिन् उनी। उनले आफ्नो चिकित्सक र निक, भिसाजस्ता स्पोन्सरको करमा नपरिकनै निर्णय लिन चाहेको बताइन्।
‘मैले कहिल्यै पनि उनीहरुका लागि केही गरेको वा खेलेको थिइनँ। मैले आफ्नै कुरा सुनेर मात्र खेलिरहेको छु। मैले मेरो दिमाग, शरीरको कुरा सुन्नु पर्छ र जिममा गएपछि के हुन्छ त्यही हेरेर नयाँ निर्णय लिनु पर्छ,’ उनले भनिन्।
स्किनर पनि आफ्नै शरीरको भाषा सुन्नेमा विश्वास गर्छिन्। यी दुई जिमन्यास्टले गत हप्ता मात्र एक अर्कालाई सन्देश पठाउँदै बढ्दो उमेरको बारेमा कुरा गरेका थिए। त्यस्तै आफ्नो शरीर सो खेलका लागि तयार हुने हो वा होइन भन्नेबारे चिन्ता व्यक्त गरेका थिए।
ओलम्पिकमा सहभागी हुने हो भने स्किनरले अर्को वर्ष पनि खेर फाल्नुर्छ। साथमा उनको घुँडाको दुखाई र कुइनाको चर्को पीडा त छँदैछ। यसबाहेक उनले अर्को वर्ष विश्वविद्यालयबाट छुट्टी लिनुपर्छ। जसका कारण कलेजको अन्तिम वर्षमा जिमन्यास्टिकको योग्यता पनि सकिने छ।
स्किनर कलेजमा आफ्नो अघिल्लो वर्षका लागि पर्खिरहेकी छिन्। उनको बुझाइमा कलेज समय सरल र रमाइलोसँग वित्नेछ। ओलम्पिक प्रशिक्षणजस्तो छिटो छिटो सबैकुरा चल्दैन। यि नै दुई कुराबीच उनको भविष्य अडिएको छ।
त्यसैले अझै पनि टोकियो ओलम्पिकको लागि अर्को वर्ष पर्खिनु भनेको जीवन पछाडि धेकेल्नुसरह हुन्छ। उनले जोनास हार्मसँग गत नोभेम्बरमा विवाह गरेकी छिन् र उनी घर किन्ने सोचमा पनि छिन्। त्यस कुरामा पनि असर पर्न सक्ने देख्छिन् उनी।
उनको भोगाइमा यो वर्ष केही पनि स्किनरले सोचेजस्तो भइरहेको छैन। कोरोनाका कारण उनको साथिको विवाह राम्रोसँग हुन पाएन। पाहुना गए, उपहार दिए र फर्किहाले। उनीहरुले योजना गरेको ब्याचलर्स पार्टी पनि हुन पाएन। कोरोनाको संक्रमणका डरले उनी आफ्नो साथीको बिहेमा जानसमेत पाइनन्, जसकारण उनी अझै दुःखी छिन्।
आजकल उनी आफ्नो दुःख विर्सिनका लागि आफ्नै श्रीमानसँग समय व्यतित गरिरहेकी छिन्। उनको मानसिक प्रशिक्षक क्ले फ्रस्टले उनले दिमाग यस्तै कुराहरुमा घुम्न थालेपछि पुनः केन्द्रित गर्नका लागि सहयोग गरिरहेका छन्।
फ्रस्टले केही महत्वपूर्ण वाक्यांश भनेकी छिन्, जस्तो ‘तिमी जे हुन सक्छौं, त्यसमा सबैभन्दा राम्रो बन।’ त्यो भन्दै गर्दा फ्रस्टले स्किनरको हातमा मुक्का हान्दै आफ्नो हात पछाडि लगेकी थिइन्। अथवा, हरेक कुराहरुलाई आफ्नो दृष्टिकोणको सामु राख्नको लागि आफूले नियन्त्रण गर्नसक्ने र गर्न नसक्ने कुराको लिस्ट बनाउन पनि फ्रस्टले अह्राइन्।
‘म जरुर सामान्य रुपमा सोच्नसक्ने हुनेछु,’ स्किनरले भनिन्, ‘अहिलेको जस्तै, म अझैसम्म त ओलम्पिकको लागि ट्रेनिङ गरिरहेकै छु, म अझै ओलम्पिकसँगै जाँदै छु। म के चाहन्छु भन्ने कुरामा मात्र एकपटक निश्चिन्त हुन चाहन्छु।’
(न्युयोर्क टाइम्समा जुलिएट म्याक्युरले लेखेकाे सामग्री विनय सापकोटाले अनुवाद गरेका हुन्)