शेरबहादुर देउवाले नेपाली कांग्रेसको १० औं महाधिवेशनदेखि तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाका विरुद्धमा संगठित रुपमा विद्रोह थाले। त्यो बेलादेखि देउवा आफ्नो समूहमा निर्विकल्प नेताका रुपमा देखा परे। उनै देउवा २०४६ सालमा बहुदलीय व्यवस्था पुनःस्थापना भएदेखि नै सुदूरपश्चिममा निर्विकल्प नेताका रुपमा स्थापित भए। १० औं महाधिवेशनदेखि १४ औं महाधिवेशनसम्म आइपुग्दा देउवा आफ्नो समूहमा निर्विकल्प नेता रहन सकेनन् भने २०७८ सालसम्म पुग्दा सुदूरपश्चिमको होइन डडेलधुराको पनि निर्विकल्प नेता रहेनन्।
आफ्नो समूहमा निर्विकल्प नेता भएकै कारण कांग्रेसको १३ औं महाधिवेशनमा पार्टी विभाजन गरेका देउवा मूल पार्टीको सभापति बन्न सफल भए। सुदूरपश्चिमको निर्विकल्प नेता रहेका देउवाले कहिल्यै पनि डडेलधुराबाट प्रतिनिधिसभा सदस्यमा हार बेहोर्नु परेन। तर पछिल्ला घटनाले दुवै स्थानमा देउवा निर्विकल्प हुन सकेका छैनन्।
देउवाले १४ औं महाधिवेशनमा आफू पुनः सभापति पदका लागि उम्मेदवार बन्ने सार्वजनिक घोषणा गरिसकेका छन्। विगतमा देउवाको नेतृत्वलाई सहज रूपमा स्वीकार गरेका आफ्नै समूहका नेताहरूले अहिले देउवालाई चुनौती दिन थालेका छन्। कुनै समय देउवाका अत्यन्तै विश्वासपात्र विमलेन्द्र निधिले सम्पर्क कार्यालय नै खोलेर सभापतिको उम्मेदवारका रूपमा आफूलाई उभ्याएका छन्। यो सभापति देउवालाई सवैभन्दा ठूलो चुनौती हो। अर्का विश्वास पात्र गोपालमान श्रेष्ठ पनि देउवासँग खुसी देखिँदैनन्। उनले पनि सभापतिको उमेदवार बन्ने घोषणा गरिसकेका छन्। त्यस्तै देउवाबाटै पार्टी प्रवक्ताको जिम्मेवारी पाएका विश्वप्रकाश शर्माले पनि महामन्त्री पदमा एकल उम्मेदवारी घोषणा गरे। उनले महामन्त्रीको उमेदवारी मात्र घोषणा गरेका छैनन् आगामी महाधिवेशनमा देउवाको साथमा नरहने संकेतसमेत गरेका छन्। यी दुई नेता जस्तै देउवालाई साथ दिएका धेरै नेता उनको साथ छोड्ने संकेतहरु देखिन थालेका छन्।
शेरबहादुर देउवाले आफ्नै गृहजिल्ला डडेलधुराबाट पनि चुनौतीको सामना गर्नुपर्ने अवस्था छ। भदौ २५ गते डडेल्धुरामा बलपूर्वक वडा अधिवेशन सम्पन्न गरियो। अधिवेशनमा डडेलधुराका जिल्ला सभापति कर्ण मल्लसहित जिल्ला कार्यसमितिका अधिकांश नेताहरुले देउवालाई चुनौती दिएका छन्। डडेलधुरामा जिल्ला कार्यसमितिको मात्र होइन केन्द्रमा वरिष्ठ नेता रामचन्द्र पौडेललगातयले गरेको खबरदारीलाई देउवाले बेवास्ता गरे। वडा तहको अधिवेशन गर्न आफ्नै पार्टी अनि आफ्नै जिल्लाका कांग्रेसको भन्दा प्रहरी प्रशासनको सहारा लिनुपर्ने अवस्था सिर्जना भयो।
देउवा सभापति बनिसकेका थिए। आमकांग्रेसको आवाज बन्ने प्रयत्नमा लागेको भए फेरि पनि नेतृत्वमा कसैले चुनौती दिन सक्दैनथे। तर देउवाले उपसभापति विमलेन्द्र निधिदेखि डडेलधुराका जिल्ला सभापति सबैलाई आफ्नो प्रतिस्पर्धी देख्ने दृष्टिदोषका कारण अहिलेका समस्या उत्पन्न भएको हो।
देउवाले सामना गर्नुपर्ने यी चुनौती कसरी आए, आजको मूल प्रश्न यो हो। र सभापति देउवाले पनि आफूलाई यस्ता चुनौती कसरी आए भन्ने कुराको खोजी गर्न जरुरी छ। यसको मूल कारण भनेको देउवाले नेतृत्वमा पुगेपछि अर्थात् पार्टी सभापति भएपछि खेल्नुपर्ने अभिभावकीय भूमिका निर्वाह गर्न सकेनन्।
देउवाले हिजो पार्टीको नेतृत्वमा पुग्नका लागि गुट बनाए। त्यो ठिकै थियो होला। कांग्रेसमा गुट बनाउने देउवा पहिलो पनि होइनन् र अन्तिम पनि उनी हुने छैनन्। तर नेतृत्वमा पुग्नका लागि गुट चलाएका देउवाले सभापति बनेपछि पनि पार्टीभन्दा बढी गुट चलाउनु चाहिँ दुर्भाग्यपूर्ण हो। त्यही दुर्भाग्यको परिणाम आज देउवाले भोग्दैछन्। सभापति बनेपछि देउवाले गुट नभएर पार्टी चलाउने प्रयास सुरु गरेको भए कार्यकालको अन्तिम अवस्थासम्म आइपुग्दा उनी सबैका अभिभावक बन्थे। सबैका स्वीकार्य नेता पनि बन्थे। तर सभापतिमा निर्वाचित भएपछि पनि सिंगो कांग्रेसलाई नेतृत्व दिन नसक्दा उनी सबै कांग्रेसको सभापति बन्न सकेनन्। अनि क्षयीकरण भएर आफ्नै गुटका पनि निर्विकल्प नेता रहेनन्।
डडेलधुरामा शेरबहादुर देउवाले क्रियाशील सदस्यता, वडा अधिवेशन, जिल्ला अधिवेशनमा हस्तक्षेप गर्नुपर्ने कुनै कारण नै थिएन्। उनलाई डडेलधुराले नेता स्वीकार गरेकै थियो। आम डडेलधुराका नागरिकले उनलाई २०४८ साल यता निरन्तर प्रतिनिधिसभा सदस्यमा निर्वाचित गराएकै थिए। डडेलधुरा कांग्रेसको नेतृत्वमा जो आए पनि कांग्रेस नै आउने हुन्। कर्ण मल्ल जिल्ला नेतृत्वमा आउँदा वा कर्ण मल्लले भनेको मान्छे नेतृत्वमा आउँदा देउवालाई नेता नमान्ने होइन। त्यसकारण देउवाले आफंैले उत्पादन गरेका कर्ण मल्ललाई चुनौती दिन अर्को गुट बनाउनुपर्ने आवश्यकता नै थिएन।
१० औं महाधिवेशनमा गिरिजाप्रसाद कोइरालाका विरुद्धमा उत्रिँदादेखि मुख्य सहयोगी रहेका निधिले देउवाको साथ छोड्नुपछि उनको अभिभावकिय भूमिका नदेखिएकाले हो। उनी नेपाल विद्यार्थी संघको अध्यक्ष हुँदादेखि देउवाको उत्तराधिकारीका रुपमा देखिएका थिए। अहिले पनि निधि देउवाको उत्तराधिकारी बन्ने दाउमा थिए। तर देउवाको उत्तराधिकारी आफू नबन्ने निष्कर्षसहित आफैं मैदानमा उत्रने निधो गरेका हुन्। देउवा र निधिका बीचमा वैमनस्य अहिले हैन आमचुनाव अगाडि उनी गृहमन्त्री भएकै अवस्थादेखि हो । निधिलाई देउवाको समूहले त्यही बेलादेखि आफ्नो प्रतिस्पर्धी देख्यो र गृह मन्त्रालय सञ्चालनमा अवरोध गर्न थाल्यो। निधि त्यो बेलादेखि देउवासँग बिच्किए।
यो सबैको जड भनेको सत्ता र शक्ति एकपटकका लागि होइन, पटकपटक आफ्नै हातमा राख्ने महत्त्वाकांक्षा देखिनु हो। सत्ता र शक्ति आफैंमा केन्द्रित नगरेर सिंगै कांग्रेसको सभापति बन्ने प्रयास गरेको भएमात्रै पनि अझै देउवा सर्वस्वीकार्य नेता हुन सक्थे। उनी सभापति बनिसकेका थिए। आमकांग्रेसको आवाज बन्ने प्रयत्नमा लागेको भए फेरि पनि नेतृत्वमा कसैले चुनौती दिन सक्दैनथे। तर देउवाले उपसभापति विमलेन्द्र निधिदेखि डडेलधुराका जिल्ला सभापति सबैलाई आफ्नो प्रतिस्पर्धी देख्ने दृष्टिदोषका कारण अहिलेका समस्या उत्पन्न भएको हो।