मंगलबार, असोज ६, २०८३
  • गृहपृष्ठ
  • भिडियो
  • नेपाल समय बिहानी समाचार : दसैंको टिकट बुकिङ खोल्न गृहकार्य, कक्षा १२ को परीक्षा सुरु

नेपाल समय बिहानी समाचार : दसैंको टिकट बुकिङ खोल्न गृहकार्य, कक्षा १२ को परीक्षा सुरु

संसद्‍बाट प्रतिस्थापन बजेट पास हुन नसक्दा सरकारको नियमित खर्च आज बिहीबारबाट रोकिने भएको छ।
 |  बुधबार, भदौ ३०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३०, २०७८

काठमाडौं– संसद्‍बाट प्रतिस्थापन बजेट पास हुन नसक्दा सरकारको नियमित खर्च आज बिहीबारबाट रोकिने भएको छ। 

प्रतिनिधिसभामा बजेटसम्बन्धी अध्यादेश पेस भएको आज ६० दिन पुग्दैछ। आज राति १२ बजेपछि सरकारले राज्यकोषबाट खर्च गर्न पाउने छैन। अघिल्लो सरकारले ल्याएको अध्यादेश प्रतिस्थापन नगरेको भए त्यो अध्यादेश पनि आजदेखि निष्क्रिय हुने थियो। अध्यादेश पनि निष्क्रिय भएको र नयाँ विधेयक पनि पारित नभएको स्थितिमा अब बजेट खर्च रोकिने अवस्था आएको हो। प्रतिनिधिसभाबाट बजेट अध्यादेश प्रतिस्थापन विधेयक पास नभएपछि देशमा पहिलोपटक बजेट होलिडेको अवस्था सिर्जना भएको हो। 

नेकपा (एस)को केन्द्रीय कमिटी बैठक ५ असोजदेखि

नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक असोज ५ गते काठमाडौँमा बस्ने भएको छ। 

पार्टीलाई प्रभावकारी ढंगबाट देशभर सञ्चालन गर्न संगठन विस्तार, समसामयिक राजनीतिक अवस्थामा पार्टीले निर्वाह गर्नुपर्ने भूमिका तथा राजनीतिक गतिविधि सञ्चालन गर्न आवश्यक रणनीति तयार पार्न बैठक बस्न लागेको हो। 

बैठक मंगलबारका लागि तय गरे पनि केही गृहकार्य अपुग भएकाले केही दिनपछि सारिएको पार्टीले जनाएको छ। नेकपा (एमाले) बाट वैचारिक असहमति प्रकट गर्दै वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालसहितका केही नेता अलग भएर हालै गठन भएको उक्त पार्टीको केन्द्रीय कमिटीको बैठक पहिलो पटक बस्न लागेको छ।

कहिले खुल्ला दसैंको टिकट बुकिङ 

सार्वजनिक सवारीमा दसैंको अग्रिम टिकट बुकिङ खुलाउन यातायात व्यवस्था विभागले तयारी सुरु गरेको छ। 

अग्रिम टिकट खुलाउनेबारे यातायात व्यवसायीसँग छलफल भइरहेको विभागका सूचना अधिकारी डा. लोकनाथ भुसालले बताए। केही दिनमै अग्रिम टिकट बुकिङ खुला गर्ने मितिबारे निर्णय हुने उनको भनाइ छ। यातायात व्यवसायीसँग पहिलो चरणमा छलफल भइसकेको बताउँदै उनले अब छिट्टै दोस्रो चरणको छलफल हुने जानकारी दिए। आगामी शुक्रबारसम्म बुकिङ सुरु हुने मिति टुंगो लगाउने विभागको तयारी छ । 

कक्षा १२ को परीक्षा सुरु

कोरोना भाइरस महामारीका कारण चार महिना पर धकेलिएको कक्षा १२ को वार्षिक परीक्षा आजबाट सुरु भएको छ। बुधबार पहिलो दिन अनिवार्य अंग्रेजीको परीक्षा हुँदैछ।

परीक्षा बिहान ११ देखि दिउँसो २ बजेसम्म सञ्चालन हुँदैछ। ८ असोजसम्म सञ्चालन हुने परीक्षामा ३ लाख ७४ हजार विद्यार्थी छन्। परीक्षामा विद्यार्थीलाई होम सेन्टर कायम गरिएको छ, ४ हजार ३१५ वटा परीक्षा केन्द्र छन्। गत जेठमा हुनुपर्ने परीक्षा कोरोना संक्रमणका कारण ३१ साउनका लागि सारिएको थियो। तर, कोरोना नियन्त्रणमा नआएको र जोखिम कायमै रहेको भन्दै फेरि परीक्षा सारिएको थियो।

जनगणनाका लागि घर सूचीकरण सुरु

सरकारले जनगणनाका लागि घर तथा घरपरिवार सूचीकरण कार्य आज बुधबारदेखि सुरु गर्दैछ । 

आगामी २५ कात्तिक १ देखि ९ मंसिरसम्म हुने जनगणनाका लागि घर तथा घरपरिवार सूचीकरण कार्य बुधबारदेखि सुरु गर्न लागेको हो । केन्द्रीय तथ्यांक विभागले सुपरिवेक्षण तालिम सम्पन्न भइसकेको जानकारी दिँदै बुधबारदेखि घर तथा घर परिवार सूचीकरण कार्य सुरु गरिने जानकारी गराएको हो। यसअघि गत जेठ २५ गतेदेखि जनगाण्ना हुने कार्यक्रम रहेकोमा कोरोना भाइरस महामारीका कारण जनगणना स्थगति गरिएको थियो।

अफगानिस्तानमा सरकार गठनको विवाद

सरकार गठनको विषयलाई लिएर तालिवान नेताबीच गम्भिर विवाद देखिएको छ। 

तालिवानका वरिष्ठ नेताहरूले नै सरकार गठनमा विवाद भएको स्वीकारेका छन्। समूहका सहसंस्थापक मुल्लाह अब्दुल गनी बरदार र मन्त्रिपरिषद्का एक सदस्यबीच राष्ट्रपति निवासमा विवाद भएको हो। बरदार लामो समय सार्वजनिक नभएपछि तालिवान समूहमा केही विवाद भएको हुन सक्ने अनुमान गरिएको थियो। 

बरदार र शरर्णाी मामिलासम्बन्धी मन्त्री खलिल युर रहमान हक्कानीबीच भनाभन भएको थियो। नेताहरुबीच बिबाद बढेपछि उनीहरुका कार्यकर्ताले हात हालाहाल गरेका थिए। अन्तरिम सरकार गठनप्रति उपप्रधानमन्त्री बरदार असन्तुष्ट छन्।

प्रकाशित: Sep 15, 2021| 11:24 बुधबार, भदौ ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।