शुक्रबार, भदौ ५, २०८३

'अग्नि सापकोटा सभामुख होइन, अनुसन्धान विभाग प्रमुख हुनुपर्थ्यो'

प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा सांसद महेश बस्नेतले सभामुख अग्निप्रसाद सापकोटाको आलोचना गरेका छन्।
 |  मंगलबार, भदौ २९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २९, २०७८

काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा सांसद महेश बस्नेतले सभामुख अग्निप्रसाद सापकोटाको आलोचना गरेका छन्।

एमाले जिल्ला कमिटी अर्घाखाँचीको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै बस्नेतले एमाले फुटाउने मतियार बनेको भन्दै सापकोटाको आलोचना गरे। पूर्वमाओवादी सांसदहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साहहरुको पदमुक्तिको सूचना २४ घण्टाभित्र टाँस गरेका सभामुख सापकोटाले माधव नेपालसहित १४ सांसदलाई एमालेले गरेको कारवाही पटक पटक अध्ययन गर्दैछु भनेर रोकेर भेदभाव गरेको बस्नेतको भनाइ थियो।  

‘लेखराज भट्टहरुको २४ घण्टामा सूचना निकाल्नुभयो। माधव नेपालसहित १४ जनाको आजसम्म सूचना निकाल्नु भएन। पटक पटक बुझ्दैछु, अध्यन गर्दैछु, हेर्दैछु भन्नुभयो। सबैभन्दा धेरै अध्ययन, अनुसन्धान गर्ने, जाँचबुझ गर्ने मान्छे अग्नि सापकोटा देखिन्छ। सभामुख होइन अनुसन्धान विभाग प्रमुख बनाउने स्वभाव देखिन्छ।’

सभामुखले कार्यव्यवस्था बैठक नबसी संसद् बोलाएर परम्परा तोडेको बस्नेतको आरोप छ। ‘जबरजस्ती संसद् चलाए। मर्यादापालक वेलमा पठाइयो। संसद् अवरोध भएको बेला सदन चल्दैन तर वेल घेर्दा पनि सभामुखले अवरोध मान्नुभएन,’ उनले भने।

बस्नेतले दौडिएर रोस्टममा पुगेका अर्थमन्त्री जनार्दन शर्माले पनि षडयन्त्र गरेको आरोप लगाए। ‘अर्थमन्त्री जनार्दन शर्माको विगत हेर्नुभयो भने सुरेन्द्र पाण्डे अर्थमन्त्री हुँदा ब्रिफकेस खोस्ने र सदनमा नौटंकी देखाउने यिनै जनार्दन शर्मा हुन्। यिनै अहिले कुदेर गए। उनको मनको पाप, षडयन्त्रका कारणले दौडेर गरे,’ उनले भने।

बस्नेतले एमाले कमजोर नरहेको दाबी गरे। भने, ‘एमाले ज्युँदो बाघ हो। स्याल र ब्वाँसोहरुलाई एक धाप्को हान्यो भने परमधाम भइहाल्छ। त्यसकारण बाघलाई नजिस्क्याउ। बाघे झ्यापु हान्यो भने स्याल र ब्वाँसोहरु सिद्धिन्छ,’ उनले भने।

–न्युज कारखाना

प्रकाशित: Sep 14, 2021| 17:18 मंगलबार, भदौ २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...