काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले सभामुखप्रति आफूहरुको आशंका कायमै रहेको बताएका छन्।
प्रतिनिधिसभाको मंगलबारको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपनेता नेम्वाङले सभामुख अग्निप्रसाद सापकोटाले नेकपा (एमाले)माथि भेदभाव गरेकाले उनीप्रति आशंका भएको बताएका हुन्।
सभामुखले औपचारिकताको लागि बोलाएको बैठकमा जानुको अर्थ नभएको भन्दै उनले आफूहरुले सभामुखलाई लगाएको आरोपलाई सभामुखले पुछ्नुपर्ने बताए। सभामुखबाट शंका निवारणको लागि कुनै प्रयास नभएको पनि उनले बताए।
उनले सत्तापक्षको ढंग नपुगेका कारण संसद्मा अहिलेको अवस्था आएको टिप्पणी गरे। प्रतिपक्षीलाई राज्यको अभिन्न अंग मानेर अगाडि बढ्नुपर्ने उनले बताए।