काठमाडौं– नेकपा एमालेको अवरोधका बीच प्रतिनिधिसभाको बैठक सञ्चालन गरेका सभामुख अग्निप्रसाद सापकोटाले एक सातालाई बैठक स्थगित गरेका छन्।
अर्को बैठक अब असोज ४ गते सोमबार बिहान ११ बजे बस्नेछ। आजको बैठक सुरु हुनेबित्तिकै एमालेका सांसदहरुले बेल घेरेर नाराबाजी सुरु गरेका थिए।
तर, सभामुखले वास्तै नगरी बैठक अघि बढाए। सभामुख अग्नि सापकोटाले बैठक सुरु हुनेबित्तिकै अर्थमन्त्री जनार्दन शर्मालाई बजेट प्रतिस्थापन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्न समय दिएका थिए। अर्थमन्त्रीले विधेयक पेस गरेपछि सभामुखले छलफलमा भाग लिन नेमकिपाका सांसद प्रेम सुवाललाई समय दिए।
सुवालले भने एमसीसीको विरोध गर्दै आफ्नो समय सके। त्यसपछि सभामुखले विधेयकमाथिको छलफल सकिएको घोषणा गर्दै निर्णयार्थ प्रस्तुत गरे। एमाले सांसदहरुको नाराबाजीका बीच ध्वनि मतले प्रस्ताव पारित भयो। विधेयक पारित भएपछि शोक प्रस्ताव पारित गरेर सभामुखले बैठक समाप्त गरे।
प्रतिनिधिसभाले बजेट प्रतिस्थापन विधेयक टुंगो लगाउन नसकेपछि बुधबारबाट सरकारी खर्च बन्द हुने भएको छ।
अब सरकारले कर उठाउनमात्र सक्छ, खर्च गर्न सक्दैन। यसअघि ल्याएको बजेट अध्यादेश संसद् चलेको अवस्थामा ६० दिनभित्र प्रतिस्थापन विधेयकमार्फत पारित गर्पर्नुर्ने प्रावधान छ। ६० दिनको समय बुधबार सकिँदैछ। मंगलबारको प्रतिनिधिसभा बैठक विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमात्र पारित गरेर सकिएको छ।
एमालेले संसद् अवरोध गरेको आज चौथो दिन हो। प्रतिनिधिसभाको नवौं अधिवेशन सुरु भएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लगातार संसद् अवरोध गरिरहेको छ। गत बिहीबार, शुक्रबार र आइतबारको प्रतिनिधिसभा बैठक पनि एमालेले अवरुद्ध गरेको थियो। शुक्रबारको बैठक भने नाराबाजीकै बीच सभामुखले सञ्चालन गरेका थिए।
सभामुख अग्नि सापकोटाले माफी माग्नुपर्ने र एमालेले निष्काशनको कारबाही गरेका माधव नेपालसहितका १४ सांसदलाई पदमुक्त गर्नुपर्ने माग एमालेको छ।
* शीर्षक सच्याइएको