काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आज (मंगलबार) पनि प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ। सभामुखले बैठक सुरु भएको जनाउ दिनेबित्तिकै एमालेका सांसदहरुले बेल घेरेर नाराबाजी सुरु गरेका छन्।
एमालेले संसद् अवरोध गरेको आज चौथो दिन हो। प्रतिनिधिसभाको नवौं अधिवेशन सुरु भएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लगातार संसद् अवरोध गरिरहेको छ। गत बिहीबार, शुक्रबार र आइतबारको प्रतिनिधिसभा बैठक पनि एमालेले अवरुद्ध गरेको थियो। शुक्रबारको बैठक भने नाराबाजीकै बीच सभामुखले सञ्चालन गरेका थिए।
सभामुख अग्नि सापकोटाले माफी माग्नुपर्ने र एमालेले निष्काशनको कारबाही गरेका माधव नेपालसहितका १४ सांसदलाई पदमुक्त गर्नुपर्ने माग एमालेको छ।