काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएको आज मंगलबार दुई महिना पूरा भएको छ।
संविधानको धारा ७६ (५) बमोजिम असार २९ गते प्रधानमन्त्री नियुक्त भएका देउवाले अझै मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन्। हाल स्वास्थ्य राज्यमन्त्रीसहित जम्मा ५ जना मन्त्रीका भरमा देउवाले सरकार चलाइरहेका छन्। आफू नियुक्त भएकै दिन कांग्रेसबाट २ र माओवादी केन्द्रबाट २ जना मन्त्री नियुक्त गरेका थिए।
त्यसको १२ दिनपछि स्वास्थ्य राज्यमन्त्रीका रुपमा साउन १० गते देउवाले आफ्नै पार्टीका सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेका थिए। त्यसयता मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन्। अहिले प्रधानमन्त्री देउवाले १७ वटा मन्त्रालयको जिम्मेवारी आफैंले सम्हालिरहेका छन्। माधव नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादी र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादीबीचको टकरावका कारण मन्त्रिपरिषद् विस्तारमा समस्या देखापरेको छ।
एमालेले चल्न देला संसद्?
मंगलबार दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्ने संघीय संसद सचिवालयले जनाएको छ। प्रमुख प्रतिपक्षी नेकपा एमालेले निरन्तर संसद बैठक अवरोध गरिरहेको छ। संसदमा उत्पन्न गतिरोध अन्त्य गर्न सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक डाकेर पहल गरेपनि बैठक निष्कर्ष बिहिन भएको थियो। उक्त बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित रहेका थिए। एमालेले सभामुखको भूमिकाप्रति विरोध गर्दै संसद्मा नाराबाजी गर्दै आएको छ।
बस र ट्रक ठोक्किँदा तीन जनाको मृत्यु
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा बस र ट्रक एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने २४ घाइते भएका छन्।
काँकडभिट्टाबाट महेन्द्रनगरका लागि छुटेको सुप्र ०२–००१ नं. को यात्रुबाहक बस र ना६ख ७१२६ नंको ट्रक नवलपुरको गैँडाकोट–१० , २३ स्मृति पुल नजिक एकआपसमा मंगलबार विहान ठोक्किएको थियो। जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्व नवलपुरका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार बस सडकबाट १० मिटर तल खस्दा सवार तीन जनाको घटनास्थलमै मृत्यु भएको हो। मृत्यु हुनेमा दुई महिला र एक पुरुष छन्।
उता बैतडीमा गुडिरहेको बसमाथि ढुङ्गा खस्दा बसमा सवार एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
महेन्द्रनगरबाट छुटेको सुपप्र ०२ ००१ ख ११५६ नम्बरको बसमा बैतडीको पाटन नगरपालिका–८, रौलेकमा माथिबाट खसेको ढुंगा लाग्दा बसमा सवार बझाङ थलाराका १८ वर्षीय अर्जुन नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनामा कैलालीको धनगढी उपमहानगरपालिका–४ ओम शान्ति टोलका माधव भट्ट, बैतडीको पाटन नगरपालिका–११ हरीप्रसाद जोशी र सोही ठाउँका नवराज खड्का घाइते भएको प्रहरीले जनाएको छ।
ओमानसँग खेल्दै नेपाल
आईसिसी विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र घरेलु टिम ओमानबीच खेल हुँदैछ।
अल अमिरत क्रिकेट रंगशालामा हुने खेल नेपाली समयअनुसार दिउँसो सवा चार बजे सुरू हुनेछ। लिग–२ मा नेपालले ओमानसँग दुई खेल खेलिसकेको छ। सन् २०२० को फेब्रअरीमा नेपालमा भएको सिरिजमा ओमानले नेपाललाई ८ विकेट र १८ रनले पराजित गरेको थियो।
हिजोदेखि ओमानमा सुरु भएको नेपाल, अमेरिका र ओमाबीचको त्रिकोणात्मक सिरिजमा नेपालले विजयी सुरूवात गरिसकेको छ। पहिलो खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको छ।