काठमाडौं- कोभिड–१९ को महामारी र बन्दाबन्दीका कारण बन्द रहेको हनुमानढोका दरबार संग्रहालय सर्वसाधारणका लागि खुला भएको छ। कोभिड–१९ को महामारी र बन्दाबन्दीको कारण गत वैशाखदेखि बन्द थियो।
हनुमानढोका दरबार संग्रहालयका प्रमुख सन्दीप खनालले कोभिड–१९ को महामारी सामान्य हुँदै गएपछि दरबार संग्रहालय खुला गरिएको बताए। ‘सरकारद्वारा कार्यान्वयनमा ल्याइएको स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी संग्रहालय खुला गरिएको हो,’ उनले भने। सार्वजनिक बिदासहित साताको सातै दिन संग्रहालय खुला रहनेछ।
‘मुख्य संग्रहालय भवन पुनर्निर्माण सम्पन्न भइसकेपछि संग्रहालय भवन पूर्णरुपमा सञ्चालनमा आउने छ,’ खनालले भने, ‘पूर्णरुपमा सञ्चालनमा नआउँदासम्म ढुकुटी भवनमा गरगहना प्रदर्शनीसहित अन्य चोकको अवलोकनको व्यवस्था मिलाइएको छ।’
कुनै महामारी वा बन्दाबन्दी नभएको अवस्थामा संग्रहालय अब नियमित खुला रहनेछ। तत्कालको लागि पुरानो गरगहना सम्बन्धीको प्रदर्शनी खुला गरिएको छ भने दरबारभित्र रहेको नासल चोक, लोहः चोक, पुतली बगैंचा अवलोकनको लागि खुला गरिएको छ।
त्यसैगरी, राजा महेन्द्रलाई जनकपुरमा बम प्रहार गरिएको गाडी समेत प्रदर्शनीमा राखिएको छ। २०२८ साल माघ ९ गते महेन्द्रमाथि जनकपुरको जानकी मन्दिर परिसरमा बम प्रहार गरिएको थियो।
हनुमानढोका दरबार संग्रहालयले अवलोकनको लागि सबै विदेशीको लागि टिकट दरमा एकतारुपता ल्याएको छ। सबै विदेशीको लागि असोज १ गतेबाट हुने गरी तीन सय रुपियाँ टिकट निर्धारण गरिएको छ। नेपाली आगन्तुकलाई ३० रुपियाँ टिकट तय गरिएको छ।
नयाँ आकर्षण गहना प्रदर्शनी
२०६८ सालमा हनुमान ढोका दरबार क्षेत्रभित्रको न्हुच्छे चोक र फरासखाना बीचमा रहेको जीर्ण भवनमा पाइएको ऐतिहासिक गहनाहरु पनि संग्रहालयको थप आकर्षण हो।
‘परम्परागत गहना तथा संस्कारका सामग्री’ खण्डमा देवीदेवतालाई चढाइएको ऐतिहासिक गरगहनालागयतका सामग्री छन्। ती गहनाहरु विस १९०३ देखि १९९० सम्मको भएको अनुमान छ। विस २०६८ सालमै राजतन्त्र हटेर गणतन्त्र स्थापित भएपछि शाहकालीन समयमा पूजाआजामा प्रयोग हुने सरसामान पनि सो खण्डमा प्रदर्शनीमा राखिएको छ।
‘विगतमा गरगहना भनेको शासक तथा कुलिन वर्गको शोखको वस्तु भएकाले यी सामग्रीले त्यो बेलाको रहनसहन र भेषभूषा बुझन् मद्दत गर्दछ,’ त्रिवि केन्द्रिय संस्कृति विभाग प्रमुख प्रा। मदन रिमाल भन्छन्, ‘युरोप र अमेरिकाका कतिपय संग्रहालयमा नेपालकै पुरातात्विक सामग्री विषेश आकर्षणका साथ प्रदर्शित छन्। यहाँ पनि त्यस्ता सामग्री प्रदर्शन हुनु निश्चय नै राम्रो हो।’
प्रदर्शनीमा पुजाथाली, कचौरा, तुलसीपत्रको माला तथा विभिन्न देवालयमा जात्रा, पर्वमा प्रयोग हुने भाँडाकुँडालगायतका सामग्री छन्। प्रायः सामग्री चाँदी तथा सुनका छन् । विफर महामारी हुँदा शीतलादेवी माईलाई चढाइएको सामग्री पनि प्रदर्शनमा छन्।
प्रदर्शनीमा १५ सय वर्षअघिको लिच्छिविकालीन सिक्का पनि छ। २०७२ को भूकम्पले भत्किएको काष्ठमण्डप पुनःनिर्माण गर्दा जगमा भेटिएको सो सुनको सिक्का छैठौं शताब्दीको जिष्णुगुप्तको पालाको हो।
सतीप्रथा बारे बताउने गहना
‘रानी राजराजेश्वरीले सती जानुअघि आकाश देवातालाई कुण्डल र वायु देवतालाई हार चढाएको बुझिन्छ,’ गहानाको लिपि अध्ययन गरेका लिपिविज्ञ श्यामसुन्दर राजवंशीले भने, ‘लिपि सानो अक्षरमा देवनागरीमा लेखिएको छ भने चढाइएको हार र कुण्डल वास्तविक आकारको छ।’
गहना सती प्रथाबारेको पहिलो ठोस प्रमाण भएको पुरातत्वविद्हरु बताउँछन्। ‘यसअघि सती प्रथाबारे ठोस प्रमाण भेटिएको थिएन,’ पुरातत्व विभागका पूर्वमहानिर्देशक तथा अन्वेशक विष्णुराज कार्की भन्छन्, ‘यी गहना सती प्रथाबारे आधिकारिक रुपमा बुझ्न सघाउने ठोस प्रमाण हुन्।’
गहनामा लिपि र मिति पनि भएकाले महत्वपूर्ण मानिएका छन्।’ राजवंशी भन्छन्। ‘सती जाँदा गहना चढाउने वा चढाइएको बारे थाहा थिएन,’ प्रा. रिमाल भन्छन्, ‘यी गहनाले इतिहास र संस्कृतिको नयाँ पाटो खोलेको छ।’
विस १९४२ मा औपचारिक रुपमा नारायणहिटी सर्नुअघिको राजदरबार हनुमानढोकामै थियो। विभिन्न कालखण्डमा निर्माण तथा पुनःनिर्माण भएको हनुमानढोका दरबार लिच्छविकाल देखिकै भवन हो। रत्न मल्ल हनुमानढोका दरबारमै थिए भन्ने प्रमाण भेटिएको छ। मल्ल कालभन्दा अघिको लिच्छिवि शासनकालदेखि नै यहाँ केही न केही महत्वपूर्ण भवन थिए।
काठमाडौं उपत्यकामा तीनवटा मल्ल दरबार अर्थात् हनुमान्ढोका दरबार, पाटन दरबार भक्तपुर दरबार छन्। नेपाल भाषामा यी तीनैवटा दरबारको क्षेत्रलाई ‘लाय्कु’ भनिन्छ।
हनुमानढोका दरबारको पुरानो नाम गुनपो थियो। राजा प्रताप मल्ले वि.स. १७२९ मा दरबारको मूलढोकाको बायाँपट्टि हनुमान स्थापना गरेपछि मात्र यस दरबारको नाम हनुमानढोका दरबार भएको हो।
हनुमानढोका दरबार संग्रहालय आन्तरिक तथा विदेशी पर्यटकको अवलोकनको केन्द्र हो। यस दरबार संंग्रहालयमा कोरानो महामारीअघि वार्षिक एक लाख ३३ हजार आगन्तुक आएका थिए।
२०७२ को भूकम्पमा हनुमान ढोका दरबार क्षेत्रको ७० भन्दा बढी सम्पदामध्ये ११ वटाबाहेक अन्य सम्पदा पूर्ण वा आंशिक रुपमा क्षतिग्रस्त भए। केहीको पुनःनिर्माण सकिएको छ भने केही सम्पन्न हुने क्रममा छन्।