मंगलबार, असोज ६, २०८३
  • गृहपृष्ठ
  • भिडियो
  • सभामुखको फोनसमेत उठाएनन् ओलीले, देउवाको गृहजिल्लामा पुनः वडा अधिवेशन गर्न पौडेल पक्षको माग [२०७८-५-२८]

सभामुखको फोनसमेत उठाएनन् ओलीले, देउवाको गृहजिल्लामा पुनः वडा अधिवेशन गर्न पौडेल पक्षको माग [२०७८-५-२८]

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका समस्या देखा परेको संघिय संसद्को बैठक सञ्चालनको अन्योल कायमै रहेको छ।
 |  सोमबार, भदौ २८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २८, २०७८

सभामुखले बोलाएको सर्वदलीय बैठकमा गएन एमाले, बैठक निष्कर्षविहीन

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका समस्या देखा परेको संघिय संसद्को बैठक सञ्चालनको अन्योल कायमै रहेको छ। सोमबार सभामुख अग्नी सापकोटाले बैठक सहज ढ्रगले सञ्चालन गर्नका लागि छलफल डाकेको सर्वदलिय बैठक निष्कर्ष बिहिन भएसँगै अन्योता कायमै रहेको छ। 

बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले नै अनुपस्थित भयो। दुई घण्टासम्म छलफल भएपनि संसद् अवरुद्ध गर्दै आएको प्रमुख प्रतिपक्ष दल नेकपा एमाले नै उपस्थित नभएपछि बैठक निष्कर्ष बिहिन भएको लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुरले जानकारी दिए। 

एमाले अध्यक्ष केपीशर्मा ओलीलाई बैठकमा आउनका लागि आग्रह गर्नका लागि पटक पटक फोन सम्पर्क गरेपनि सम्पर्क हुन नसकेको सभामुख सापकोटाले बैठकमा दलका नेताहरुलाई जानकारी गराएका थिए।  राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले संसद सहज रुपमा सुचारु गर्न बैठक आव्हान गरेपनि प्रतिपक्ष नआएकाले कुनै निष्कर्षमा पुग्न नसकिएको जानकारी दिइन्। बैठकमा नेताहरुले सभामुखलाई पुन प्रतिपक्षसँग वार्ता र संवाद गरेर निकास खोज्न सुझाव समेत दिएको उनले जानकारी दिइन्। 

प्रमुख प्रतिपक्ष दल एमालेले तीन दिनदेखि लागातार संसद् अवरुद्ध गरेपछि अबरोध हटाउने विषयमा छलफल गर्न सभामुख सापकोटाले सर्वदलिय बैठक डाकेका थिए। तर, एमाले नै अनुपस्थित भएकाले अन्य दलका शीर्ष नेताहरुले आगामी बैठकमा एमालेलाई समेत उपस्थित गराएर निष्कर्षमा पुग्ने सल्लाह गर्न आग्रह गरेका थिए।

डडेल्धुराको वडा अधिवेशन पुनः गर्ने पौडेल पक्षको माग

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले डडेल्धुराको वडा अधिवेशन फेरि गर्नुपर्ने माग गरेको छ। पौडेल पक्षले यसअघि भएको अधिवेशनलाई अमान्य ठहर गरेको छ।

जिल्ला सभापति कर्णबहादुर मल्लले स्थगितका लागि गरेको आग्रहलाई सुनुवाइ नगरी भदौ २५ मा वडा अधिवेशन भएको थियो। संस्थापनइतरको असहमति रहँदारहँदै वडा अधिवेशन भएको भन्दै अस्वीकार गर्ने पौडेल पक्षले जनाएको छ। पौडेल पक्षका शीर्ष नेताको बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ‘डडेल्धुरा जिल्लाको जस्तै अनियमितता र स्वेच्छाचारको पुनरावृत्ति अन्य २० जिल्लाहरुमा पनि हुन नपाओस्।’

यस्तै वरिष्ठ नेता पौडेलले पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता र शक्तिको दूरुपयोग गरेर पार्टी कब्जा गर्ने प्रयास गरिरहेको आरोप लगाएका छन्।  वरिष्ठ नेता पौडेलले सभापति देउवाले सत्ता र शक्तिको दूरुपयोग गरेर सम्पन्न गरिएका कतिपय वडा अधिवेशनहरु आफूहरुलाई मान्य नहुने चेतावनी समेत दिए। 

नेपाली काँग्रेस जिल्ला कार्य समिति सिन्धुपाल्चोकले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आफू पक्षका नेता, कार्यकर्ताहरुलाई पाखा लगाउने काम पार्टी नेतृत्वले गरेको भन्दै आक्रोश व्यक्त गरे। 

वरिष्ठ नेता पौडेलले सभापति देउवाले पार्टीको क्रियाशील सदस्यता छानवीन गर्ने काममा समेत देशभर धाँधली गरेको आरोप लगाएका छन्। उनले पार्टीको आगामी महाधिवेशनबाट सही नेतृत्व चयन गर्नेगरी अघि बढन पनि पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरे। 

एमसीसी लागू हुन दिँदैनौँ : विप्लव नेकपा 

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले एमसीसी सम्झौंता कुनै पनि हालतमा लागू हुन नदिने चेतावनी दिएका छन्।  एमसीसीको बिरुद्धमा सोमबार काठमाडौंको खुलामञ्चमा पार्टीले आयोजना गरेको विरोध सभामा बोल्दै उहाँले नेपाली भूमिमा अमेरिकाले सुरक्षा गर्ने प्रावधानसहित आएको सम्झौंता पारित गर्न कसले सक्छ ? भनि प्रश्न पनि गरे। देश रोज्ने कि एमसीसी ? जनताको अधिकार रोज्ने कि अमेरिकीहरुको गुलामी? पैसा रोज्ने की स्वभाविमान? यस विषयमा सबै प्रष्ट हुनु पर्ने उनको भनाइ छ। उनले अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि लागू गर्ने सो सम्झौंताको विरुद्धमा उभिन देशभक्त, क्रान्तिकारी शक्तिहरुलाई आह्वान समेत गरे। 

एमसीसीमार्फत् विकासका लागि पैसा आउँछ नि भन्नेहरुलाई विप्लवले पैसाले मात्रै समृद्धि नआउने प्रतिक्रिया दिए। उनले देशलाई बचाउनका लागि एक ढिक्का भएर उठ्ने समय आएकाले त्यसका लागि आफ्नो पार्टी जुनसुकै मूल्य चुकाउन तयार रहेको बताए। 

’विप्लव’ नेतृत्वको नेकपाले एमसीसीविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन गरेको थियो। काठमाडौंका विभिन्न क्षेत्रबाट निस्किएको र्‍याली खुलामञ्चमा पुगेर सभामा परिणत भएको थियो। ’उनीहरूले एमसीसीसँगको सम्झौता खारेज गरौं, राष्ट्रिय स्वाधिनताको रक्षा गरौंलगायतका नारा लगाएका थिए।

लोकसेवा आयोग विधेयक पारित 

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुको अवरोधका बीच राष्ट्रियसभाको दोस्रो बैठकले लोक सेवा आयोग विधेयक–२०७८ पारित गरेको छ। 

राष्ट्रियसभाको दोस्रो बैठक पनि एमालेका सांसदहरुले अवरुद पारेका थिए। तर अवरोधकाबीच राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त लोक सेवा आयोग विधेयक–२०७८ निर्णयार्थ पेश गर्न कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई समय दिएका थिए। सो प्रस्ताव निर्णयार्थ पेश गर्दै बहुमतले पारित भएको राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले घोषणा गरे। 

यसअघि एमालेकी सांसद कोमल वलीले सभामुख अग्नीप्रसाद सापकोटाले राजीनामा नदिई बैठक सूचारु हुन नदिने अडान राखिन्। एमालेका सांसदहरुको अवरोधका बीच राष्ट्रियसभाको दोस्रो बैठकले राष्ट्रियसभाका पूर्व सांसद रुक्म शमशेर राणाको निधनप्रति शोक व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ। गत भदौं २६ गते निधन भएका उनी २०४८ सालमा राष्ट्रियसभा सदस्यमा मनोनित भएका थिए। 

१४८६ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा एक हजार ४८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

२४ घण्टामा जम्मा १६ हजार ५३९ जनाको परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको सवस्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  मन्त्रालयका अनुसार २४ घण्टामा दुई हजार २६० जना कोरोना संक्रमणमुक्त भएका छन्। कोरोनाबाट १६ जनाको मृत्यु भएको छ। हालसम्म नेपालमा सात लाख ४० हजार ७१७ जना कोरोना संक्रमणमुक्त भएका छन् भने १० हजार ९६५ जनाको मृत्यु भएको छ।

रासायनिक मलको आपूर्ति सहज बनाउने सरकारको दाबी

सरकारले यो वर्ष रासायनिक मलको आपूर्ति, सञ्चिति र वितरण सहज बनाउने भएको छ। सोमबार सिंहदरबारमा बसेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. कृष्णप्रसाद आचार्यले मत वितरणलाई सहज बनाउने बताएका हुन्। त्यसका लागि अक्टोबरसम्म ७० हजार मेट्रिक्टन रासायनिक मल आइसक्ने उनले जानकारी दिए। सचिव आचार्यले भारतसँग मल खरिदसम्बन्धी गरिएको सम्झौता अनुसार मल आयात भए मलको शंकट कम हुने दाबी गरे।

समितिको बैठकमा सांसदहरुले खरिद प्रक्रियामा सहजीकरण गर्नुपर्ने र सार्वजनिक खरिद ऐनले यसमा अफ्ठ्यारो पारिरहेको बताए। बैठकमा रासायनिक मलको तत्कालीन समस्या कसरी हल गर्ने र यसबारेमा नीति, योजना बनाएर कार्यान्वयनमा लैजानुपर्ने धारणा राखेका थिए। 

छड व्यवसायी आन्दोलित

बजेटमार्फत अन्तःशुल्क शून्यमा राखेको विरोधमा फलाम छड उत्पादक व्यवसायी आन्दोलित भएका छन्। सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गरी व्यवसायीहरुले एमएस विलेट बनाउन प्रयोग हुने कच्चा पदार्थ (स्पन्ज आइरन) को आयातमा लाग्दै आएको ५ प्रतिशत अन्तःशुल्क शुन्यमा राख्दा निश्चित व्यवसायिक घरानालाई पोस्ने र अन्य उद्योगलाई समस्या पर्ने बताएका हुन्। सरकारले सहुलियत दिएको स्पन्ज आइरनबाट छड निर्माण गर्दा गुणस्तर कम हुने र जोखिम बढाउने व्यवसायीहरुको दाबी छ। 

पत्रु पगालेर बनाएको छडले नेपाल जस्तो भूकम्पीय जोखिम भएको देशमा दुर्घटना निम्तने भन्दै सबै सचेत हुन पनि व्यवसायीले आग्रह गरेका छन्। सरकारको यो निर्णयले ६ वटा उद्योगलाई मात्र फाइदा पुग्ने र बाँकी २४ उद्योगमा नकारात्मक असर पर्ने भएकोले सरकारले गरेको निर्णय फिर्ता गर्न व्यवसायीहरुले माग गरेका छन्। सरकारले निर्णय फिर्ता नलिउन्जेल कारोबार रोक्ने समेत व्यवसायीहरुले चेतावनी दिएका छन्।

सरकारले सम्बन्धित पक्षहरुसँग छलफल नै नगरी बारम्बार नीतिपरिवर्तन गर्दा लगानीमा अस्थिरता पैदा हुने र लगानीको वातावरण खलबलिने र औद्योगिकरणलाई प्रत्यक्ष असर पर्ने बताएका छन्। व्यवसायीहरुले फलाम छड उत्पादक व्यवसायीहरुले कच्चा पदार्थमा शुन्य प्रतिशत अन्तःशुल्क हुनु भनेको विश्व व्यापार संगठन (डब्ल्यूटिओ) को नीति बिपरित भएको बताएका छन्। पत्रु पगालेर डण्डी उत्पादन गर्दा पर्यावरणमा असर पर्ने भएकोले चीनमा यस्तो प्रविधिलाई बन्द गरिएको र भारतमा यस्ता उद्योगलाई कडा निगरानीमा राखिएको छ। 

अफगानिस्तानमा हवाइ सेवा खुल्यो

अफगानिस्तानमा तालिबानले नियन्त्रणमा लिएपछि काबुलमा पहिलोपटक अन्तर्राष्ट्रिय विमान अवतरण गरेको छ। पाकिस्तान इन्टरनेसनलको विमान सोमबार केही यात्रु लिएर काबुल विमानस्थलमा अवतरण गरेको हो। यो उडानलाई तालिबानले कब्जा गरेपछि पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक उडान भनिएको छ। यद्यपि उद्धारका लागि भने विभिन्न देशले उडान गरेका थिए। मुलुक कब्जमा लिएपछि तालिबानद्वारा ७ सेप्टेम्बरमा नयाँ सरकार घोषणा गरिएको छ।

नेपाली महिला फुटबल टोलीको बिदाई

फिलिपिन्स र हङकङसँग हुने एसिया कप छनोटको खेलका लागि नेपाली महिला फुटबल टोलीको विदाई गरिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले उज्बेकिस्तानमा हुने एसिया कप छनोट खेल्ने नेपाली टिमको विदाई गरेको हो। अब नेपालले असोज २ मा  फिलिपिन्ससँग र असोज ५ मा हङकङसँग छनोटका दुई खेल खेल्नेछ। छनोट खेलअघि नेपालले बंगलादेशससँग दुई मैत्रीपूर्ण खेल खेलेको हो। ती दुई मैत्रीपूर्णमध्ये पहिलो खेलमा नेपालले २–१ गोलको जित निकालेको छ भने दोस्रो खेल गोलरहित बराबरी भएको थियो।

भिडियोमा हेर्नुहोस्

प्रकाशित: Sep 13, 2021| 19:38 सोमबार, भदौ २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।