काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अनुपस्थित रहेको सर्वदलिय बैठक निष्कर्षविहीन भएको छ।
दुई घण्टासम्म छलफल भए पनि संसद् अवरुद्ध गर्दै आएको प्रमुख प्रतिपक्ष दल नेकपा एमाले नै उपस्थित नभएपछि बैठक निष्कर्षविहीन भएको हो। एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बैठकमा आउनका आग्रह गर्न पटक-पटक फोन सम्पर्क गरे पनि सम्पर्क हुन नसकेको सभामुख अग्नि सापकोटाले बैठकमा दलका नेताहरुलाई जानकारी गराएका थिए।
सोमबारको सर्वदलीय बैठक निष्कर्षविहीन भएपछि संसद् सञ्चालनको अन्योलता कायमै रहेको छ। राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले संसद सहज रुपमा सुचारु गर्न बैठक आह्वान गरे पनि प्रतिपक्ष नआएकाले कुनै निष्कर्षमा पुग्न नसकिएको जानकारी दिइन्।
बैठकमा नेताहरुले सभामुखलाई पुन प्रतिपक्षसँग वार्ता र संवाद गरेर निकास खोज्न सुझावसमेत दिएको उनले जानकारी दिइन् ।
प्रमुख प्रतिपक्ष दल एमालेले तीन दिनदेखि लागातार संसद् अवरुद्ध गरेपछि सभामुख सापकोटाले सर्वदलिय बैठक डाकेका थिए। तर, एमाले नै अनुपस्थित भएकाले अन्य दलका शीर्ष नेताहरुले आगामी बैठकमा एमालेलाई समेत उपस्थित गराएर निष्कर्षमा पुग्ने सल्लाह सभामुखलाई दिएको पौडेलले बताइन्।