काठमाडौ– राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधिसभामा उठेको विषय राष्ट्रियसभामा नल्याउन सांसदहरुलाई आग्रह गरेका छन्।
राष्ट्रियसभाको सोमबारको बैठकमा नेकपा एमालेका सांसदहरूले प्रतिनिधिसभामा उठेको विवादको विषयमा विरोध गरेर बैठक अवरुद्ध गरेपछि अध्यक्ष तिमिल्सिनाले उक्त आग्रह गरेका हुन्।
‘यहाँहरूको धाराणा र विचारप्रति ध्यानाकर्षण भएको छ। बारम्बार भन्ने गरेको छु, प्रतिनिधिसभामा जे विषय उठेको छ राष्ट्रिय सभामा त्यसलाई प्रवेश नगरौं,’ अध्यक्ष तिमिल्सिनाले भने।
त्यसअघि एमालेकी सांसद कोमल वलीले सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो पदीय मर्यादाअनुसार काम नगरेको भन्दै आलोचना गरेकी थिइन्। अग्निप्रसाद सापकोटालाई सभामुख भएर बस्ने अधिकार नभएको भन्दै उनले राष्ट्रियसभाको बैठक अवरुद्ध गर्ने बताएपछि एमालेका सांसदहरुले उठेर बैठक अवरुद्ध गरेका थिए।
तर, सांसदहरुको अवरोधका बीच अध्यक्ष तिमिल्सिनाले बैठकको कारबाही अगाडि बढाएका थिए। बैठकले लोकसेवा आयोग विधेयक–२०७८ पारित गरेको छ।
राष्ट्रियसभाको अर्को बैठक भदौ ३० गते बुधबार बिहान ११ बजेका लागि बोलाइएको छ।