काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले अवरोध गरेपछि राष्ट्रियसभाको सोमबारको बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ।
बैठक स्थगित गर्नुअघि एमालेका सांसदहरुको अवरोधका बीच राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङको तर्फबाट ठगेन्द्रप्रकाश पुरीलाई प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त लोक सेवा आयोग सम्बन्धि विधेयक–२०७५ सम्बन्धि समितिको प्रतिवेदन सभा समक्ष पेश गर्ने समय दिएका थिए। सोही विधेयक पेश गरेपछि अध्यक्ष तिमिल्सिनाले बैठक १५ मिनेटका लागि स्थगित गरिएको घोषणा गरे।
सो विधेयक सभामा पेश गर्नुअघि एमालेका सांसद भैरवसुन्दर श्रेष्ठले सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो दल फुटाउने षड्यन्त्रमा सामेल भएको कुराप्रति माफी नमागेसम्म राष्ट्रियसभाको बैठक पनि चल्न नदिने चेतावनी दिए। उनले सभामुख सापकोटाकै कारण संसदको दुवै सदन अवरुद्ध पार्ने निर्णयमा आफ्ना दल पुग्नु परेको बताए।
सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै एमालेका सांसदहरुले अवरोध गरेपछि संघीय संसदको दुवै सदनका बैठकहरु अवरुद्ध हुँदै आएका छन्।