पोखरा– धौलागिरी अस्पताल बागलुङमा कार्यरत स्वास्थ्यकर्मीले कोरोना संक्रमित बिरामीलाई उपचार गरेबापतको जोखिम भत्ता एक वर्षदेखि पाउन सकेका छैनन्। सरकारले अग्रपंक्तिमा खटिएर काम गर्ने स्वास्थ्यकर्मीलाई शतप्रतिशत र दोस्रो लाइनमा खटिनेलाई ५० प्रतिशत भत्ता दिने निर्णय गरे पनि अस्पताल कार्यरत स्वास्थ्यकर्मीले अहिलेसम्म पाउन सकेका छैनन्।
जोखिम मोलेर काम गर्दा भत्ता नपाउँदा अस्पतालमा भएका डाक्टर अन्यत्र सरुवा भई जाने र अस्पतालमा सरुवा भएका चिकित्सकसमेत नआउँदा बिरामीको उपचारमा समस्या हुन थालेको छ। गत वर्ष क्वारेन्टिन चलाउँदा खटिएका स्वास्थ्यकर्मी र अन्य कर्मचारी गरी झन्डै दुई सय जनाले भत्ता पाएका छैनन्। स्वास्थ्यकर्मी र चिकित्सकले गण्डकी प्रदेश तथा संघीय सरकारमा जानकारी गराउँदासमेत सुनुवाइ नभएको गुनासो गरेका छन्।
धौलागिरी अस्पतालका चिकित्सक प्राग गजुरेलका अनुसार अस्पतालमा डेढ वर्षमा झन्डै ७ सय बिरामीको उपचार गरेको तथ्यांक छ। आइसोलेसनमा लगातार ३–४ महिनासम्म खटिएका चिकित्सक र नर्स २५ जनाले जोखिम भत्ता नपाएको उनले बताए। यस्तै ल्याबमा खटिने थप १० जना, १० वटै पालिकामा स्थापना भएको कोभिड अस्पतालका ५ जनाको दरले ५० जना, १० जना चालक र स्वास्थ्य संस्थामा कार्यरत थप १ सय गरी झण्डै २ सयले कुनै पनि भत्ता नपाएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ।