काठमाडौं- नेपालका लागि भारतीय पूर्वराजदूत रञ्जित रेले नेपालले भारतसँग कान्छो भाइको सम्बन्ध नभएर समानता चाहेको बताएका छन्। भारतीय अंग्रेजी पत्रिका द प्रिन्टमा 'भाइ-भाइको सम्बन्धमा नेपालद्वारा भारतको सानो भाइ हुन इन्कार, उसले समानता चाहन्छ' शीर्षकमा प्रकाशित लेखमा उनले नेपालले समानता चाहेको बताएका हुन्।
उनले आफ्नो लेखमा नेपालका नेताहरुसँगको आफ्नो सम्बन्ध र उनीहरुसँगको बैठकमा हुने वार्तालापका विषयलाई पनि उजागर गरेका छन्। उनले माधव नेपालले नेपाल भारतसँग बराबरीको सम्बन्ध र मित्र राष्ट्रको रुपमा हेर्न चाहेको बताएका छन्। लेखमा भनेका छन्, 'म नेपालमा हुँदा नेपालका राजनीतिज्ञहरुलाई भेटिरहन्थे। एकपटक नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग उनको निवास कोटेश्वरमा भेट्न पुगेको थिए। हामीले मिठो माल्दाको स्वाद लिँदै कुराकानी गरिरहेका थियौं। हामी हिन्दीमा कुराकानी गरिरहेका थियौं। माधव नेपालले मलाई हेरे र सोधे - भारतले किन दुई मुलुकबीच भाइ-भाइको सम्बन्धको कुरा गर्छ ? यस्तो सम्बन्धमा जहिले पनि ठूलो दाइ र सानो भाइको कुरा हुन्छ। नेपाल सानो भाइ हुन चाहँदैन। नेपाल भारतको मित्र हुन चाहन्छ, समान साझेदार, न बढी, न कम।'
उनले तत्कालीन भारतीय विदेशमन्त्री सुस्मा स्वराजले भनेको कुरालाई उल्लेख गर्न चाहेको हुनसक्ने रेले आफ्नो लेखमा उल्लेख गरेका छन्। तत्कालीन विदेशमन्त्री स्वराजले भनेकी थिइन्, 'भारत ठूलो दाइ होइन, जेठो दाइ हो, जसले आफ्नो कान्छो भाइलाई सधैं हेरचाह गर्छ।'
तत्कालीन विदेशमन्त्रीले नेपालसँगको आफ्नो वास्तविक लगावको बारेमा उल्लेख गरेको भए पनि नेपालले यसलाई राष्ट्रवादको रुपमा व्याख्या गरेको बताएका छन्।
उनले सन् २०१३ मा दशरथ रंगशालामा भारत र अफगानिस्तानको फुटबलको प्रसंग उल्लेख गर्दै नेपालीहरुले भारतीय खेलाडीहरुलाई 'धोती' को संज्ञा दिँदै अफगानिस्तानी खेलाडीको समर्थन गरेको पनि स्मरण गरेका छन्।
त्यसैगरी, उनले गौतम बुद्धको जन्मथलो विषयमा भारत र नेपालबीचको प्रसंग उठाउँदै यसबारे भारतीय विदेश मन्त्रालयले बुद्ध नेपालमै जन्मिएको भनेर विज्ञप्ति निकाल्नु परेकोसमेत बताएका छन्।
गत वर्ष तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राम नेपालमै जन्मिएको भन्ने अभिव्यक्तिलाई पनि लेखको अंश बनाएका छन्। उनले आफ्नो लेखमार्फत पछिल्लो समय नेपालले भारतसँग जेठो दाइ अथवा कान्छो भाइ भन्दा पनि समान हैसियत चाहिरहेको उल्लेख गरेका छन्।