जर्मनीमा अहिलेसम्म पौने दुई लाख मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन्। तीमध्ये आठ हजारको त ज्यान गइसकेको छ । डेढ लाखभन्दा धेरै मानिस निको भएका छन्। अहिले १५ हजार कोरोनाका बिरामीको उपचार चलिरहेको छ।
रोगको संक्रमण बढेपछि जर्मन सरकारले जसरी कदम चालेको थियो, यसले विश्वलाई नै पाठ सिकाएको छ। मानवीय नियन्त्रणमा नभएको भाइरसको जोखिममा जर्मन सरकारले जसरी काम गर्यो, त्यसले त्यहाँकी चान्सलर एन्जेला मर्केललाई हेर्ने जनताको नजर नै फेरिदिएको छ।
उनको काम देखेर स्ट्राबर्गका उपाध्यक्ष एन्ड्रेस निकले भनेका छन्, ‘अन्तर्राष्ट्रिय पर्यवेक्षक र निर्णयकर्ताका रुपमा विशेष गुण र नेतृत्व शैलीबारे थप स्पष्ट भएका छन्।’
उनी थप्छन्, ‘मर्केलको शैली एकदमै व्यवहारीक र परिणाममुखी छ। उनी सुक्ष्म विश्लेषण गर्छिन्। संयमित छिन् र आफूलाई साधारण रुपमा प्रस्तुत गर्न जान्दछिन्।’
उनको कामको साधारण विश्लेषण गर्ने हो भने ठाउँ विषेशलाई महत्व दिएर लकडाउन खुकुलो बनाउने र कसिलो बनाउने काम गरिन्। उनी संक्रमणको समयमा कहिँ पनि मास्क लगाएर उपस्थित भइनन्। यसले जनताको मनोबल बढाएको युरोपेली मिडियाको विश्वास छ।
उनी नेता कम र वैज्ञानिक ज्यादा भएर जर्मनीको काममा लगातार लागिरहेको बेलायतको सन्डे टाइम्सले पनि लेखेको छ।
थुंगारिया राज्यका प्रिमियरले पनि मर्केलसँग काम गर्न पाउँदा आफूलाई भाग्यमानी महशुस गरेका छन्। उनी भन्छन्, ‘महामारीको यस्तो बेलामा लोकप्रियतावादी र खतराका सूचकलाई वेवास्ता गर्ने आडम्बिरी पुरुषसँग काम गर्नुभन्दा एकजना शान्त वैज्ञानिक महिलासँग काम गर्नु उपयुक्त छ।’
उनको सुक्ष्म अध्ययनले जर्मनमा फुटबल पुनः सुरु हुन सकेको छ।
३० अप्रिलमा टरेको निर्णय
सरकारले ३० अप्रिलमा नै फुटबल सुरु गर्ने बारेमा निर्णय गर्नुपर्ने थियो, तर गरेन। त्यतिबेला जर्मनीले कोरोनाको जोखिम आँकलन गरिसकेको थिएन।
त्यसबेलामा जर्मन फुटबल लिग (डिएफएल)ले ९ मे बाट फुटबल सुरु गर्ने अनुमति मागेका थिए। उनीहरुले खेलाडीलाई प्रशिक्षणका लागि कोरोनाको टेस्ट पनि सुरु गरिसकेका थिए।
तर सरकारले त्यो निणर्यलाई ६ मेको अर्को बैठकसम्मका लागि धकेलिदिएको थियो।
वायरको विश्वास
वायर लगायतका क्लबले जर्मनीमा फुटबल सुरु हुने कुरालाई विश्वासका साथ लिएका थिए। सरकारले निर्णय धेकेलिदिए पनि क्लबहरुले व्यक्तिगत प्रशिक्षण जारी राखे।
‘दर्शक बिना खेल गर्ने निर्णयको महत्पूर्ण पक्ष भनेको हामीले यसबारे नेताबाट राम्रो फिडब्याक पाएका छौं,’ वायरका खेल निर्देशक साइमन रोल्फीसले त्यतिबेला भनेका थिए, ‘सरकारलाई हामीले खेल गराउन सक्छौं भन्ने लागेको छ।’
उनले थपे, ‘अर्को बैठकमा सरकारले कस्तो निर्णय गर्छ, मलाई ठ्याक्कै थाहा त छैन। तर मेको मध्य र अन्तिमसम्ममा हामीले खेल्न पाउनेछौं जस्तो लागेको छ।’
संक्रमित थपिएपछि धराप बनेको लिग
डिएफएलले मे ४ मा १,७५४ जनामा कोरोना टेस्ट गरेको थियो। त्यो टेस्टबाट बुन्डेसलिगा र बुन्डेसलिगा २ का १० जना कोरोना संक्रमित देखिए। यो समाचारले खेल पुनः सुरु हुने आशालाई पूरै धमिल्याई दियो।
फुटबल सुरु हुने आश मार्न सबै बाध्य बने। कलोग्नी र सुटरगार्टका सबै खेलाडीलाई दुई हप्ताको लागि क्वारेन्टिनमा पठाइयो। यतिबेला सम्म १३ मेबाट फुटबल सुरु होला भन्ने हल्ला चलिरहेको थियो। तर कोरोना संक्रमित पाइएपछि सबैको ध्यान सरकारतिर गयो।
सरकारको स्वीकृति
६ मे मा सरकारले अन्ततः खेल गराउन स्विकृति प्रदान गर्यो। खेलाडीमा संक्रमण पाइएपछि खेल सुरु हुने आशा त्यागेर बसेका मानिसले पनि खुसी अनुभव गरे।
१६ राज्य प्रमुखसँगको बैठकपछि चान्सलर मार्केलले खेल गराउने अनुमति प्रदान गर्दा कोरोनापछि सुरु हुने युरोपको पहिलो लिग बन्दै थियो– बुन्डेसलिगा।
मर्केलले मेबाटै खेल सुरु गर्न अनुमति दिएकी थिइन्। तर खेलको मिति तोक्न भने डिएफएलाई अनुमति दिइन्। डीएफएलले १६ मे को मिति तय गर्यो। त्यसैले हिजो (शनिबार) बाट सुरु भयो विश्वको चर्चित बुन्डेसलिगा।
नयाँ अनुभव
फुटबलको यो अनुभव नयाँ हो। जहाँ खेलाडीले थुक्न पाउँदैनन्। हात मिलाउन पूर्ण प्रतिबन्ध छ। मुख्य कुरा दर्शक नै छैनन्। उपस्थित अन्य सबैले अनिवार्य मास्क लगाएका छन्।
यतिमात्र होइन, एक खेल सकिएपछि मैदान, कुनाको झण्डा, प्लेयर बक्सलाई डिसइन्फेक्ट गरिएको छ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले जारी गरेको नियम अनुसार पाँच खेलाडी परिवर्तन गर्न सकिने नियम छ।
यस्ता नियमहरुले सुरु भएको फुटबलमा नयाँ अनुभव प्रदान गरेको छ। मैदानबाट बाहिर निस्किँदा खेलाडीले मास्क लगाएका थिए।
कोरोनापछि मैदान फर्कने पहिलो लिग बन्यो, बुन्डेसलिगा। धेरै समयपछि खेल सुरु हुँदा विश्वका फुटबल फ्यानको ध्यान जर्मन फुटबलमा तानिएको छ। डर्टमन्ड र साल्केको हिजो (शनिबार) सम्पन्न खेल डर्टमन्डको अहिलेसम्मकै धेरै हेरिएको खेल बनेको बताइएको छ।
यता फुटबलको आयोजना सफल रुपमा सम्पन्न भयो भने बुन्डेसलिगाले नयाँ आयाम पाउने छ। त्यस्तै मर्केलको दूरदर्शिता विश्वले चिन्ने छ। उनी जर्मनको सरकारमा अझै दृढ बनेर रहने छिन्।
(एजेन्सीहरुको सहयोगमा)