काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमाले सहभागी नहुने भएका छन्। संसद् बैठकमा एमालेका सांसदहरूले दिनहुँ अवरोध गरिरहेपछि सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका हुन्।
संसद्मा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरूलाई सोमबार उनले छलफलफमा बोलाएका हुन्। सभामुखसँग यसअघि नै आफ्ना कुराहरु राखिसकेका कारण सर्वदलीय बैठकमा जानुको औचित्य नरहेको एमाले नेता खगराज अधिकारिले बताए।
एमालेले प्रतिनिधि सभाको नवौं अधिवेशनको पहिलो बैठकदेखि नै संसद् अवरुद्ध गर्दै आएको छ। आइतबारको पहिलो बैठक अवरुद्ध गरेपछि सभामुख सापकोटाले एमालेका प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी र नेता अधिकारीसँग छलफल गरेका थिए।
छलफलमा सत्तारुढ दल नेपाली कांग्रेसको तर्फबाट कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहभागी थिए। छलफलबाट कुनै निष्कर्ष ननिस्किएपछि एमालेले प्रतिनिधि सभाको दोस्रो बैठक पनि अवरुद्ध गरेको थियो।
एमालेको अवरोध जारी रहेकपछि आइतबारको बैठक कार्यसूचीमा प्रवेश नै नगरि स्थगित गरिएको हो। आगामी बैठक भदौ २९ गते मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको छ।
आफ्नो दलले कारबाही सिफारिस गरेका १४ सांसदको सभामुखले कारबाही नगरेको भन्दै एमाले संसद्मा लगातार विरोधमा छ। संसद्को अवरोध खुलाउन यसअघि पनि सभामुखले पटकपटक सत्ता पक्ष र विपक्षका दलसँग छलफल गर्दै आएका छन्।