काठमाडौं– प्रतिनिधिसभाको आज आइतबारको दोस्रो बैठक पनि नेकपा एमालेले अवरुद्ध गरेको छ। बैठक सुरु भएलगत्तै एमाले सांसदहरु नाराबाजीमा उत्रिए।
नाराबाजी नरोकिएपछि सभामुखले भदौ २९ गते मंगलबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका छन्।
बैठक सुरु भएलगत्तै एमालेका सांसदहरुले बेल घेरेर नाराबाजी सुरु गरेका थिए। सांसदहरुले पार्टी फुटाउने षड्यन्त्र मुर्दावाद, गैरसांसदलाई प्रवेश निषेध गर, संसदीय मर्यदा कायम गर, संवैधानिक सर्वोच्चता कायम गर, पक्षपातपूर्ण व्यवहार बन्द गर लगायत नारा लगाएका थिए।
आजको पहिलो बैठकमा अवरोध भएपछि सभामुख सापकोटाले एमालेका प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी र खगराज अधिकारीसँग छलफल गरेका थिए। छलफलमा सत्तारुढ गठबन्धनको तर्फबाट कांग्रेस नेता तथा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी थिए।
शुक्रबारको बैठकमा त ठेलमठेल र धकेलाधकेल नै भयो। एमालेका सांसदहरुले बेल घेरेर नाराबाजी गर्नुका साथै रोस्ट्रममा चढ्न कोसिस गरेका थिए। शुक्रबार तीनपटक संसद् बैठक बसेकोमा तीनैपटक एमालेले अवरोध गरेको थियो। बैठक अवधिभर नै एमालेका सांसदहरुले नाराबाजी गरिरहे। उनीहरुले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध नाराबाजी गरेका थिए।
नाराबाजीका कारण कारबाही अघि नबढाई पहिलो बैठक स्थगित गरेका सभामुखले दोस्रो र तेस्रो बैठक भने नाराबाजीकै बीच सञ्चालन गरेका थिए। पहिलो बैठकमा एमाले सांसदहरुलाई संसद्को कारबाही अघि बढाउन निरन्तर आग्रह गरिरहेका सभामुख सापकोटा दोस्रो बैठकमा भने पेलेरै अघि बढे। दोस्रो बैठक सुरु भएलगत्तै एमाले सांसदहरु अघिझैं आफ्नो ठाउँबाट उठेर बेल घेर्न पुगे र नाराबाजी गर्न थाले। तर, सभामुखले नाराबाजीलाई बेवास्ता गरिदिए।
आज भने सासद र सभामुख दुवै संयमित देखिए। बल प्रयोग गर्ने र रोस्ट्रममा चढ्न खोज्ने प्रयास सांसदहरुले गरेनन्। सभामुख पनि पेलेर जाने मनस्थितिमा देखिएनन्।
बैठक सुरु हुनुअघि संसद् भवनमै बसेको एमाले संसदीय बैठकमा अध्यक्ष केपी ओलीले संसदभित्र संसदीय मान्यतामा रहेर विरोध गर्न आफ्नो पार्टीका सांसदहरुलाई निर्देशन दिएका थिए।
‘संसदीय मर्यादाभित्र फाल्तु नारा नलगाऔं। मर्यादा पालना गरौं। सभामुख आक्रामक भए चर्को नारा लगाउँदा हुन्छ। नारा लगाउनेभन्दा बाहिर जानु हुँदैन। कतिपय साथीहरुले बोलेको कुरा पनि सुनें– माइक हान्ने योजना थियो रे। त्यस्तो कुरा मिडियामा बोल्नु हुँदैन। काँध चढेर माथि नजानुहोला,’ ओलीको भनाइ उद्धत गर्दै एक सांसदले भने।