शुक्रबार, भदौ ५, २०८३

बैठक रोकेर परामर्शमा सभामुख

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले अवरोध जारी राखेपछि सभामुख अग्निप्रसाद सापकोटा परामर्शमा जुटेका छन्। बैठक १५ मिनेटलाई रोकेर सभामुख एमालेका नेताहरुसँग छलफल गरिरहेका छन्।
 |  आइतबार, भदौ २७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २७, २०७८

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले अवरोध जारी राखेपछि सभामुख अग्निप्रसाद सापकोटा परामर्शमा जुटेका छन्। बैठक १५ मिनेटलाई रोकेर सभामुख एमालेका नेताहरुसँग छलफल गरिरहेका छन्। 

छलफलमा एमाले प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी र खगराज अधिकारी तथा सत्तारुढ गठबन्धनको तर्फबाट कांग्रेस नेता तथा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी छन्। 

पार्टीले कारबाही गरेका १४ जना सांसद उपस्थित भएको विरोधमा एमालेले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको हो। सभामुख अग्निप्रसाद सापकोटाले ‘आजको बैठक सुरु हुन्छ’ भनिनसक्दै एमालेका सांसदहरु बेल घेर्न दौडिएका थिए र नाराबाजी गर्न थालेका थिए। 

सांसदहरुले पार्टी फुटाउने षड्यन्त्र मुर्दावाद, गैरसांसदलाई प्रवेश निषेध गर, संसदीय मर्यदा कायम गर, संवैधानिक सर्वोच्चता कायम गर, पक्षपातपूर्ण व्यवहार बन्द गर लगायत नारा लगाएका थिए।

सभामुखले पटक पटक संसद् बैठक सञ्चालन गर्न दिन आग्रह गरे पनि सांसदहरु रोकिएनन्। सभामुख सापकोटाले बैठक अवरोध नगरी वार्ताको टेबलमा बसेर निकास खोज्न आग्रह गरेका थिए। ‘सहकार्य र समन्वय गर्नैपर्छ। बैठक सहज बनाऔं। संवादतिर जाऔं। वातावरण सहज बनाऔं। जनताको सर्वोच्च संस्थालाई त्यही थलोको रुपमा अघि बढाऔं,’ सभामुखले आग्रह गरे। केही सांसदले नाराबाजी गर्दा अरु सांसदको अधिकार हनन् भएको भन्दै उनले आफ्नो स्थानमा बस्न पटक पटक आग्रह गरेका थिए।

करिब २३ मिनेटको नारबाजीपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन्।

एमालेले संसद् अवरुद्ध गरेको आज तेस्रो दिन हो। गत बिहीबार र शुक्रबारको बैठकमा पनि एमाले सांसदहरुले नाराबाजी गर्दै अवरोध गरेका थिए।

प्रकाशित: Sep 12, 2021| 14:32 आइतबार, भदौ २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...