काठमाडौं– नेकपा एमालेले आज आइतबार पनि प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ। सभामुखले बैठक सुरु गर्न नपाउँदै एमालेका सांसदहरुले बेल घेराउ गरेर नाराबाजी सुरु गरेका छन्। नाराबाजीका बीच सभामुखले जनताको आवाज बोल्ने संसद् चलाउन दिन आग्रह गरिरहेका छन्।
एमालेले संसद् अवरुद्ध गरेको आज तेस्रो दिन हो। गत बिहीबार र शुक्रबारको बैठकमा पनि एमाले सांसदहरुले नाराबाजी गर्दै अवरोध गरेका थिए।
पार्टीले कारबाही गरेका १४ जना सांसद बैठकमा उपस्थित भएको भन्दै एमालेले अवरोध गरेको हो।
शुक्रबारको बैठकमा एमालेका सांसदहरुले बेल घेरेर नाराबाजी गर्नुका साथै रोस्ट्रममा चढ्न कोसिस गरेका थिए। शुक्रबार तीनपटक संसद् बैठक बसेकोमा तीनैपटक एमालेले अवरोध गरेको थियो। बैठक अवधिभर नै एमालेका सांसदहरुले नाराबाजी गरिरहे। उनीहरुले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध नाराबाजी गरेका थिए।
नाराबाजीका कारण कारबाही अघि नबढाई पहिलो बैठक स्थगित गरेका सभामुखले दोस्रो र तेस्रो बैठक भने नाराबाजीकै बीच सञ्चालन गरेका थिए।
संसदमा एमाले सांसदको गतिविधिलाई लिएर चर्को आलोचना भएपछि शनिबार बसेको एमाले स्थायी कमिटी बैठकले मर्यादामा रहेर विरोध गर्न सांसदहरुलाई निर्देशन दिएको थियो।