जनकपुरधाम - सिरहाको लहानमा एक युवकको विभत्स हत्या भएको छ। लहान नगरपालिका–१७ बस्ने ३७ वर्षीय मोहम्मद सफीदको घाँटी काटेर हत्या भएको हो। हत्याराले सफीदको टाउको बेपत्ता पारेका छन्।
सफीदको शव मंगलबार बिहान घर नजिकै बारीमा फेला परेको थियो। खाना खाएर राति घरमा सुतेका उनको टाउकोबिनाको शव मंगलबार फेला परेको हो। स्थानीयवासीका अनुसार हत्या गरिएका सफीद सुस्त मनस्थितिका थिए।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले उनको हत्याबारे आफूहरुलाई बिहान ६ बजे जानकारी आएको बताए। प्रहरी टोली घटनास्थल पुग्दा घाँटीबिनाको सफीदको शव बारीमा फेला परेको उनले जानकारी दिए। सफीदको टाउकोको खोजी भइरहेको चतुर्वेदीले बताए। सफीदको परिवारले लुगाको आधारमा शवको पहिचान गरेको उनको भनाइ छ।
अबेर राति १२ बजे सफीदको हत्या भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।