काठमाडौं– संसद्मा जारी अवरोध हटाउन सत्तारुढ गठबन्धनले प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग वार्ता गर्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार दिउँसो बसेको गठबन्धन बैठकले विपक्षीसँग वार्ता गरी सहज रुपमा संसद् बैठक चलाउन पहल गर्ने निर्णय गरेको हो।
करिब दुई घण्टा बसेको बैठकमा संसद् बैठक सञ्चालन, मन्त्रिपरिषद् विस्तार, एमसीसी तथा अन्य समयसामयिक राजनीतिक विषयमा छलफल भएको थियो।
एमालेले गत बिहीबारदेखि नै संसद्मा अवरोध गर्दै आएको छ। शुक्रबारको बैठकमा एमालेका सांसदहरुले बेल घेरेर नाराबाजी गर्नुका साथै रोस्ट्रममा चढ्न कोसिस गरेका थिए। शुक्रबार तीनपटक संसद् बैठक बसेकोमा तीनैपटक एमालेले अवरोध गरेको थियो। बैठक अवधिभर नै एमालेका सांसदहरुले नाराबाजी गरिरहे। उनीहरुले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध नाराबाजी गरेका थिए।
नाराबाजीका कारण कारबाही अघि नबढाई पहिलो बैठक स्थगित गरेका सभामुखले दोस्रो र तेस्रो बैठक भने नाराबाजीकै बीच सञ्चालन गरेका थिए।
संसदमा एमाले सांसदको गतिविधिलाई लिएर चर्को आलोचना भएपछि शनिबार बसेको एमाले स्थायी कमिटी बैठकले मर्यादामा रहेर विरोध गर्न सांसदहरुलाई निर्देशन दिएको थियो।
प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको भए पनि अहिलेसम्म सुरु भएको छैन।