काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफैंले बनाएको कानुन मिचेको भन्दै सभामुख अग्निप्रसाद सापकोटाको आलोचना गरेका छन्।
आइतबार मध्यान्ह बसेको पार्टी संसदीय दलको बैठकमा उनले भने, ‘सभामुख आफैंले बनाएको कानुन मिच्न मिल्छ कि मिल्दैन?’ ओलीले एमाले विभाजनका लागि सभामुखको षड्यन्त्रपूर्वक संलग्नता रहेको आरोप लगाए।
‘नेकपा एमाले विभाजन गराउने कुरामा सभामुखको षड्यन्त्रपूर्वक संलग्नता देखियो। कानुनविपरीत संलग्नता देखियो,’ उनले भने।
संसद् बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न एमाले संसदीय दलको बैठक बसेको हो। अस्ति शुक्रबार एमालेले संसद् बैठक अवरुद्ध गरेको थियो।
शुक्रबारको बैठकमा एमालेका सांसदहरुले बेल घेरेर नाराबाजी गर्नुका साथै रोस्ट्रममा चढ्न कोसिस गरेका थिए। शुक्रबार तीनपटक संसद् बैठक बसेकोमा तीनैपटक एमालेले अवरोध गरेको थियो। बैठक अवधिभर नै एमालेका सांसदहरुले नाराबाजी गरिरहे। उनीहरुले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध नाराबाजी गरेका थिए।
नाराबाजीका कारण कारबाही अघि नबढाई पहिलो बैठक स्थगित गरेका सभामुखले दोस्रो र तेस्रो बैठक भने नाराबाजीकै बीच सञ्चालन गरेका थिए।
संसदमा एमाले सांसदको गतिविधिलाई लिएर चर्को आलोचना भएपछि शनिबार बसेको एमाले स्थायी कमिटी बैठकले मर्यादामा रहेर विरोध गर्न सांसदहरुलाई निर्देशन दिएको थियो।
प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको भए पनि अहिलेसम्म सुरु भएको छैन।