सोमबार, मंसिर १०, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • मेलम्चीमा २५ करोड क्षति व्यहोरेका सागर भन्छन्- राज्यले गर्दैन, अब आफैं उठ्ने हो

Siddartha premir insuranceSiddartha premir insurance

मेलम्चीमा २५ करोड क्षति व्यहोरेका सागर भन्छन्- राज्यले गर्दैन, अब आफैं उठ्ने हो

‘यही क्षेत्रबाट चुनाव जितेका मन्त्री शेरबहादुर तामाङले आकाशबाट निरीक्षण गरेर गए। त्यहाँका मानिसले के पाए त? हिजो जुरे पहिरो पीडितका नाममा आएको राहत वितरण गर्न सभामुख अग्नि सापकोटा आफैं लाग्दा पनि धेरै वञ्चित भएका थिए।’
 |  सोमबार, असार ७, २०७८
nespernesper

माधव नेपाल

माधव नेपाल

सोमबार, असार ७, २०७८

काठमाडौं-सधैं गुल्जार रहने मेलम्ची बजार महामारीपछि पुरानै लयमा फर्कनेछ– यही सोचाइले सागर श्रेष्ठ होटेल निर्माणको अन्तिम चरणमा थिए। लगानी ठूलो थियो। उद्देश्य पनि ठूलै। होटल बनेपछि कम्तीमा ३० जनाले रोजगारी पाउनेछन्। स्थानीय किसानले उत्पादन गरेका दूध, तरकारी, मासु यहीँ खपत हुनेछ। पर्यटकीय  केन्द्र रहेको मेलम्चीको उचाइ थपिनेछ।

triton college

पुर्ख्यौली थलो मेलम्ची धेरैले छाडे। उनका समवयी आफन्त कोही अमेरिका त कोही युरोपमा पलायन भएको उहिल्यै हो। सागरले मेलम्चीमै भविष्य देखे। यहीँ केही गर्नुपर्छ भन्ने अठोट लिए। भलिबल र मार्सल आर्टस्'मा लागेर विद्यार्थीकालमै मेलम्चीभन्दा बाहिरसम्म परिचित बनेका सागर आफ्नै भूमिमा केही गर्न चाहन्थे। बिस्तारै सामाजिक व्यक्तित्वको पहिचान बनाउन थाले। तर त्यतिले परिवार चल्न सक्दैनथ्यो अनि व्यवसाय गरेर सिन्धुपाल्चोकलाई नै हराभरा बनाउन सपना बोकेका थिए उनले। ससानो व्यवसाय, समाजसेवा र राजनीतिमा लागेर उनको जीवन अघि बढ्दै थियो।

होटल र यससँग सम्बन्धित व्यवसायमा लगभग २५ करोड जति खर्च भइसकेको थियो। औपचारिक उद्घाटन गर्न बाँकी थियो। केही पाहुना टोलीले सेवा पाइसकेका थिए भने केही टोली आउने तयारीमा थियो।

भूकम्पपछि उनलाई जिल्लामै सुविधासम्पन्न स्तरको होटल निर्माणको हुटहुटी जाग्यो। कोही पुर्ख्यौली जग्गा र बाँकी आफूले खरिद गरेको जग्गामा होटल बनाउन थाले। ६ तलाको सुविधासम्पन्न भवनमा रुफटप र अन्डरग्राउन्ड रेस्टुरेन्ट, पाँच हजार क्षमताको हल, ३५ वटा सुविधासम्पन्न कोठा, पर्याप्त पार्किङ, स्विमिङ पुल त बनिसकेका थिए। होटल हेरिटेजको आवरण र भित्री कोठा पनि कलात्मक र मौलिक बनाउन उनले सक्दो प्रयास गरिररहेका थिए। यसका लागि विभिन्न बैंकसँग ऋण लिए, भएभरको जग्गा धितोमा राखे। उनी भन्छन्, ‘होटल र यससँग सम्बन्धित व्यवसायमा लगभग २५ करोड जति खर्च भइसकेको थियो। औपचारिक उद्घाटन गर्न बाँकी थियो। केही पाहुना टोलीले सेवा पाइसकेका थिए भने केही टोली आउने तयारीमा थियो।

बाढीले क्षति गरेकाे मेलम्ची बजार। तस्बिर : दिनेश श्रेष्ठ

असार १ गते आएको बाढीले उनका यी सबै सपना क्षतविक्षत भए। होटल वरिपरिबाट इन्द्रावती नदीको भेल बगिरहेको छ। बजारको बीचतिर रहेको होटल नदीको बीचमा छ यति बेला। बाढीले बजार पूरै लगेको छ। भौतिक पूर्वाधारको क्षति त कति हो कति हिसाबै छैन। बजारमा मात्र भएको क्षति अर्बौंको छ। होटलसँगै सागरको तीन रोपनी जमिन थियो। आनाको तीस लाख रुपैयाँमा कारोबार भइरहेको त्यो अग्गा अब बगरमा परिणत भएको छ। त्यति मात्रै होइन, होटलसँगै उनको तीनचार रोपनी अरु जग्गा थियो। सडकमै जोडिएको घडेरी थियो। सागरले पारिपटि साझेदारीमा अर्गानिक फार्म चलाएका थिए। त्यहाँ पनि उनको २० रोपनी जति जग्गा थियो। उनी भन्छन्, ‘मेरो जग्गा मात्रै २५ रोपनी जति बगेको छ।

Metro Mart
vianet

 असार १ गतेको त्यो साँझ

सागर मेलम्चीमै थिए। सामाजिक काममा संलग्न भइरहने उनीसित सूचनाको स्रोत पर्याप्त थियो। साढे ४ बजेदेखि नै हेलम्बु क्षेत्रका साथीहरूले उनलाई फोन गरेर भने, ‘लौ यहाँ त भयंकर पहिरो गएको छ। मेलम्ची नदी थुनिएको छ। ताल फुट्यो भने बजार निकै जोखिममा हुन सक्छ। तपाईंहरु एकदमै जोगिएर बस्नुस्। 

त्यसपछि उनले सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराए। डीएसपीसँग कुरा गरे। मेलम्चीका प्रहरी निरीक्षकसँग समन्वय गरे। प्रशासनले तटीय क्षेत्र मानिसलाई सुरक्षित ठाउँमा जान अपिल गर्‍यो। उनी पनि नदी आसपासका क्षेत्रमा घरटहरा बसेका मानिसाई सूचना दिलाउन थालेबाढी आउँदै छ, तपाईंहरु सचेत रहनुहोला।

...तर उनलाई पत्यारै लागेन

मेलम्ची नदीमा डुबुल्की मार्दै उनको जीवनले ४९औं वसन्तमा प्रवेश गरेको छ। यसबीचमा मेलम्चीमा धेरै पानी बगेका छन्। तर उनले यस्तो कहिल्यै देखेका थिएनन्।  उनले यति विध्वंस होला भन्ने कल्पना नै गरेका रहेनछन्। उनी भन्छन्, ‘म आफैंलाई चाहिँ के लाग्यो भने अहिलेसम्म ३०३५ वटा विशाल बाढी त भोगिसकियो। अलिअलि ठूलो आउँछ, जोगिइहालिन्छ।क्षति भए पनि किनारतिर सामान्य होला भन्नेमा ढुक्क थिए उनी। उनी भन्छन्, ‘साथीहरुले जानकारी गराए। सबैलाई सचेत गराइयो। तर मेरो मनमा पत्यार लागेको थिएन।मेलम्चीको वहाब यसरी अस्वाभाविक रूपमा आउला भनेर कहिल्यै नसोचेको उनी बताउँछन्।

जब राति साढे ९ बज्यो...

साँझ परेपछि बिस्तारै नदीमा पानीको सतह बढ्न थाल्यो। आमा ह्योल्मो यातायातको बसपार्क जलाम्मे भयो। जब बसपार्क नै बगाउन थालेपछि सागर पनि आत्तिए। उनी सम्झन्छन्, ‘कस्तो आयो कस्तो आयो बाढी त। यसअघि कहिल्यै नदेखेको बाढी आयो। बसपार्क त हेर्दाहेदै बगाइहाल्यो।माटोलेदो पानीले बगाउँदै नबगाउने खालको आयो। १५१० मिनेट जति रोकिएको जस्तो हुन्थ्यो अनि फेरि बढिहाल्थ्यो। उनी भन्छन्, ‘यस्तो कहिल्यै देखेका थिएनौं हामीले। अनि खोला बिस्तारै बढ्न थाल्यो। राति साढे ९ तिर त नदी बजारको बीचबीचबाट बग्न थाल्यो। त्यसपछि हामी पनि घर छाडेर भाग्यौं।

रातको त्यो कोलाहल

कोही खाँदाखाँदै टारतिर उक्लिए। कोही पाकेको भात छाडेर सुरक्षित स्थानतर्फ लागे। लत्ताकपडा कता, सामान कता, वस्तुभाउ कता! कोलाहल उत्पन्न भयो। सागरको परिवार मात्र होइन, त्यो साँझ धेरैले खाना खान पाएनन्। कोही इन्द्रेश्वरी मावितिर कोही टारतिर गएर आश्रय लिए। सागर भन्छन्, ‘कोही आफन्तकहाँ बस्यौं, कोही स्कुल र क्याम्पसका कोठामा गएर बस्यौं।

तटीय क्षेत्रमा बसोबास गर्दै आए पनि सागरको परिवारले बाढीको त्रासमा अकस्मात् यसरी कहिल्यै घर छाड्नुपरेको थिएन। त्यसैले उनीहरु रातभर निदाउन सकेनन्। रातभरिमा पक्की पुल पनि लग्यो। झोलुंगे पुल पनि लग्यो। बत्तीको पोल बगायो। सबैसँग सम्पर्क विच्छेद भयो। काहीँ केही पनि छैन। सागर भन्छन्, ‘रातिको समयमा उद्धार हुने कुरा पनि भएन। हामी सबै कसरी जोगिने भन्नेमा रह्यौँ।

बजार खण्डहर हुँदाको पीडा

२ गते बिहान तत्काल कोहीसँग सम्पर्क हुन पाएन। खानेपानीको मुहान टुटेका थिए। बजारवासीको ज्यान त जोगियो। तर घर लगिहाल्यो। मुन्टो लुकाउने ठाउँ छैन। भएभरको सम्पत्ति तहसनहस मात्र भएको थिएन अघिल्लो दिनसम्म ३० जनालाई रोजगारी दिएका उनी आफैं बेरोजगार भएका थिए।आवासविहीन भए।   

होटेलका कामदारलाई पनि सुरक्षित ठाउँमा राख्नुपरेको थियो। खानेपानी छैन। ट्वाइलेट छैन। खाना पकाउने ठाउँ छैन। सबै समस्या छ। उनलाई एक किसिमको तनाव छँदै थियो। के गरुँ कसो गरुँ भयो। सागर त्यो क्षण सम्झँदै भन्छन्, ‘पहिला त कहाँ गएर बस्ने भन्ने समस्या भयो। ज्यान त जोगाउनुपर्‍यो। भीडभाडमा बस्न थाल्यो भने कोरोना संक्रमण भएर अर्को विपत्ति आउने डर छँदै छ।त्यसपछि बिहानै परिवार लिएर उनी काठमाडौंतिर लागे। परिवारका साथ अर्गानिक फार्म र होटलका कामदार पनि सँगै थिए। काठमाडौं ल्याएर सबैलाई बस्ने खाने व्यवस्था मिलाए।

...अनि सागर गाउँ फर्किए

धेरैलाई लागेको थियोसागर काठमाडौं गयो। उसको यहाँ करोडौं रुपैयाँको नोक्सान भएको छ। अब के फर्कला र? तर सागरले त्यसो गरेनन्। भन्छन्, ‘मेरो जीवनको सबैभन्दा ठूलो पीडा र त्रासदीको क्षण थियो। म र मेरो परिवार त्यसबाट बचेका थियौं। बजारवासी पनि सबै बचेका थिए। तर पनि मैले चैनको सास फेर्न सकिनँ।  होटलका कामदार र अर्गानिक फार्मका कामदारलाई सुरक्षित ठाउँमा पुर्‍याएँ। मलाई त निद्रै लागेन। मेरो जन्मभूमिमा त्यत्रो क्षति भएको छ। म कसरी निदाउन सक्नु?’

बाढीपीडितलाई राहत बाँड्दै सागर श्रेष्ठ (फेस सिल्ड लगाएका) तस्बिर : फेसबुक

अरु बेला पनि सामाजिक काममा संलग्न भइरहने उनलाई के चित्त बुझ्थ्यो? आफैं काममा व्यस्त भइरहनुपर्ने, टोल र समाजका गतिविधिमा सामेल भइरहनुपर्ने सागर काठमाडौंमा अडिन सकेनन्। उनी भन्छन्, ‘एकातिर अन्य ठाउँका साथीहरुले कहाँ आऔं के सहयोग गरौं भनेर फोन गर्न थाले। अर्कोतिर मेलम्ची बजारवासीको पीडा झलझली सम्झिरहें।

सागर केमा ढुक्क रहेछन् भने उनका आफन्त र साथीभाइ छन्। खानबस्नका लागि केही समस्या पर्दैन। उनी भन्छन्, ‘अन्यत्र कोही पनि नभएका मानिस पनि छन् मेलम्चीमा। कतिपय तराईतिरबाट आएर व्यवसाय गरेर बसेका मान्छे पनि छन्। धेरै टाढादेखि आएर भाडामा बसेर जीविकोपार्जन गरिरहेका मानिस पनि छन्। ऋणधन गरेर व्यापार व्यवसाय गरेर बसेका मान्छे धेरै छन्। मैले नबोले तिनका लागि कसले बोलिदिन्छ?’ त्यसपछि उनलाई आफू यसरी बस्नु हुँदैन भन्ने कर्तव्यबोध भयो। उनले तत्काल मेलम्ची गएर राहत संकलनमा लाग्ने अठोट गरे।

३ गतेदेखि राहत संकलन

सागरले आफ्ना सबै क्षति बिर्सिए। काठमाडौंमा एक रात बसेपछि उनी फ्रेसभए। ३ गतेदेखि आफैं राहत संकलन गर्न थाले। पहिलो दिनमै दुईतीन ट्रक सामान लिएर मेलम्ची फर्किए उनी। अब उनले २० गते सम्मका लागि राहत संकलनको तालिका बनाइसकेका छन्। उनी भन्छन्, ‘मसँग धेरै संघसंस्थाका साथी सम्पर्कमा आउनुभएको छ।कारण ६ वर्षअघि भूकम्पले तहसनहस पार्दा पनि मेलम्चीमा सागरले नै राहत वितरणको अगुवाइ गरेका थिए। एक त उनको जनसम्पर्क धेरैतिर रहेको र अर्कोतिर यसअघिको विपत्तिका कारण पनि उनलाई धेरैले सम्पर्क गरिरहेका छन्। यस्तै उनी नगरपालिकाको बैठकमा सहभागी हुन थालेका छन्।

सामाजिक कार्यकर्ता भएकाले पनि जिम्मेवारी निर्वाह गर्नैपरेको छ। तर उनको मानसिक अवस्था, बोली व्यवहार र सोचाइमा त्यस्तो पीडा देखिएको छैन। उनी भन्छन्, ‘मैले धेरैका लागि केही गर्नु छ त्यसैले पीडा लुकाएर बसेको छु।

उनी भन्छन्, ‘३ गते नगरपालिकाले बैठक बोलाएको थियो। म त्यसमा पनि सहभागी भएँ। एउटा समिति बनाइएको छ।उनी त्यसमा पनि आबद्ध छन्। यत्रो क्षति भएको छ, अनि फेरि पूर्ववत् अवस्थामा फर्किइहाल्नुभयो नि भन्ने जिज्ञासामा सागर भन्छन्, ‘म भिन्नै ग्रहको मान्छे त हो र? पीडा त मलाई नि भइहाल्छ। तर पीडा लुकाएर पनि कम्तीमा म जत्तिको सचेत मानिसले केही बोलिदिँदा, केही समन्वय गरिदिँदा मभन्दा कमजोर मानिसलाई राहत हुन सक्छ भने किन नगर्नु?’  सामाजिक कार्यकर्ता भएकाले पनि जिम्मेवारी निर्वाह गर्नैपरेको छ। तर उनको मानसिक अवस्था, बोली व्यवहार र सोचाइमा त्यस्तो पीडा देखिएको छैन। उनी भन्छन्, ‘मैले धेरैका लागि केही गर्नु छ त्यसैले पीडा लुकाएर बसेको छु।

अचेल उनी दैनिक मेलम्चीकाठमाडौं गर्न थालेका छन्। एकदुई ट्रक राहत सामग्री लिएर पुग्छन्। वितरण गर्छन्। नगरपालिकाले बोलाएका बैठकमा सहभागी हुन्छन्। उनी भन्छन्, ‘सुरुमा सिन्धु उत्थान केन्द्रका साथीहरुले सहयोग गर्नुभयो। अहिले पनि मसँग २० वटा बढी संस्थाका साथीहरुले सहयोग गर्छु भन्नुभएको छ। मैले सोहीअनुसारको कार्यतालिका बनाएको छु। केही साथीलाई होल्ड गरेर राखेको छु।किन होल्ड गरेको भन्ने जिज्ञासामा उनी भन्छन्, ‘स्थानीय तहले विश्वसनीय ढंगले काम गर्नै सकेको छैन।

स्थानीय सरकारसँग असन्तुष्टि

स्थानीय सरकारले बेलैमा केही प्रयास गरेको भए त्यहाँ संरचना जोगिन सक्ने उनको भनाइ छ। उनी भन्छन्, ‘तटवर्ती क्षेत्रको सुरक्षाका लागि स्थानीय सरकारले ध्यान पुर्‍याएको देखिएन। अहिले पनि स्थानीय सरकारले जुन गतिमा काम गर्नुपर्ने हो, त्यो गरेको देखिँदैन।भएका संरचना जोगाउन र पीडितलाई उचित राहत दिन स्थानीय सरकार संवेदनशील नदेखिएको उनको भनाइ छ। स्थानीय सरकारसँग पीडितलाई पुनःस्थापना पुनर्निर्माण, अल्पकालीन रुपमा के गर्ने, दीर्घकालीन योजना के के ल्याउने, बसोबासको व्यवस्था कहाँ गर्ने, बेरोजगार भएकालाई कहाँ व्यवस्थापन गर्ने भन्ने कुनै भिजन छैन।

अरुले दिएको चामलका बोरा गन्ती गरेर बसेका छन् नगरपालिकाका पदाधिकारी। वास्तविक पीडितहरुले केही पनि पाएका छैनन्।

एकद्वार प्रणालीबाट राहत वितरण गर्ने भनेर नगरपालिकाले निर्णय गरेको छ। सोही क्रममा केही विवाद पनि भइरहेको छ। सत्तासीन एमाले विद्यार्थी संगठन अनेरास्ववियुले संगठनको ब्यानरमा राहत बाँड्न थालेपछि अरु दल र नागरिक समाजले विरोध गरेका थिए। स्थानीय सरकारले केही गरेको छैन। उनी भन्छन्, ‘अरुले दिएको चामलका बोरा गन्ती गरेर बसेका छन् नगरपालिकाका पदाधिकारी। वास्तविक पीडितहरुले केही पनि पाएका छैनन्।उनलाई राहत वितरण कसरी हुँदैछ, के सहयोग गर्नुपर्छ भनेर दाताहरुले सम्पर्क गरिरहन्छन्। उनी भन्छन्, ‘मलाई चिन्नेजान्ने मानिस पनि राहत लिएर आउँछन्। मलाई दिएमा सबैलाई वितरण हुन्छ भनेर साथीहरु आएका हुन्छन्। एकद्वार प्रणाली भएकाले भण्डारण गरेर राखिएको छ। पीडितहरुले केही पाएका छैनन्।

अहिले इन्द्रेश्वर मावि भवनमा दुई-अढाई सय मानिस आश्रय लिएर बसिरहेका छन्। उनीहरु एकदमै भीडमा छन्। महामारीको भयभन्दा भोकले मरिने चिन्ता छ। सर्वस्व सकिएकाले अब कहाँ बस्ने र के खाने भन्ने चिन्तामा छन् उनीहरू। सागरले त्यही भीडमा शुक्रबार २५०० वटा जति मास्क लगेर बाँडिदिए। उनी भन्छन्, ‘बाढीबाट त जोगियो। अब कोरोना महामारीबाट कसरी जोगाउने भनेर मास्क वितरण गरेको हुँ।

उनी राहत वितरणमा नगरपालिकालाई पर्खने सोचाइमा छैनन्। भन्छन्, ‘कोको पीडित छन् सबै मलाई थाहा छ। त्यसैले मैले संकलन गरेका राहत सामग्री व्यक्तिलाई नै लगेर दिने निधो गरेको छु।’ 

फेरि मेलम्ची नै

सागरले मेलम्चीमा हिजो जे गरिरहेका थिए, त्यसलाई निरन्तरता दिइरहने अठोट गरेका छन्। उनी भन्छन्, ‘म आफैं पीडित भइकन पनि यसलाई यत्तिकै छाड्न सक्दिनँ।’ 

इन्द्रावती र मेलम्ची नदीको संगम मेलम्ची निकै पुरानो बस्ती हो। सागर आफ्नो पुर्खाले मेलम्चीमै सामाजिक र राजनीतिक काम गर्दै आएको बताउँछन्। उनी भन्छन्, ‘उहाँहरुकै प्रेरणाबाट म दीक्षित भएका कारण म जत्तिको सचेत नागरिकले मेरो समाज छोड्नु हुँदैन भनेर म यहाँ बसेको हुँ। लगानी गर्छु भने आफ्नै ठाउँमा गर्छु भनेर सिन्धुपाल्चोकमै पहिलोपल्ट त्यो स्तरको होटल स्थापना गरेको हुँ। अहिलेसम्म सिन्धुपाल्चोकमा यस्तो होटल कसैले बनाएको छैन। मेरो ठूलो सपना थियो। केही मानिसलाई रोजगारी दिने, त्यहाँ उत्पादित सामान आफूले नै खरिद गरेर होटलमा उपभोग गर्ने, पर्यटनको विकासलाई केही टेवा दिने विषय होटलसँग जोडिएको थियो।

बाढीले क्षति भएकाे हाेटल हेरिटेज (राताे घेरामा) तस्बिर : सागर श्रेष्ठकाे फेसबुक

उनलाई मेलम्ची जस्तो ठाउँमा किन यति धेरै लगानी गरेको भनेर पनि प्रश्न गरेका थिए। त्यही होटलका कारणले सिंगो मेलम्ची क्षेत्रलाई गहनाका रुपमा विकसित गर्ने उनको सपना थियो।

अबको १०० वर्ष पनि मेलम्ची उठ्दैन

मेलम्चीलाई व्यापार, उद्यम र रोजगारसँग मात्र जोड्न नहुने उनको भनाइ छ। उनी भन्छन्, ‘मेलम्चीको सभ्यता विशाल छ। यो पाँचपोखरीसँग, गोसाइँकुण्डसँग, लाङटाङसँग, पाल्चोकसँग, हेलम्बुसँग र तिम्बु गाँसिएको छ।एक त यी सबै ठाउँको प्रवेशद्वार मेलम्ची हो भने धेरै ठाउँले मेलम्चीबाटै समृद्धि र विकासका कुरा सिकेका छन्।

बाढीमा मेलम्चीदेखि मास्तिर पर्यटकलाई आकर्षित गर्ने दजनौं ट्राउट फार्म नासिएका छन्। चनौटे बजार नदीमा विलय भएको छ। कयौं भौतिक संरचना ध्वस्त भएका छन्। सागर भन्छन्, ‘त्यसकारण मेलम्चीलाई व्यापारसँग मात्र जोड्ने हो भने अन्याय हुन्छ।साविक २४ वटा गाउँविकास समिति मेलम्चीको विकासबाट प्रभावित हुन्थे। अब अहिले त्यो प्रभावबाट वरिपरिका गाउँ वञ्चित हुन पुगे। यसको क्षति कुनै पनि कोणबाट आँकलन नै गर्न सकिँदैन।

एक महिनाअघिकाे मेलम्ची बजार (माथि) र असार १ गते बाढीले बगाएपछि। तस्बिर : महेश श्रेष्ठ/टंक खड्का

बजार र सामाजसँग एउटा व्यक्तिको धेरै कुरा जोडिएको उनी बताउँछन्। उनी भन्छन्, ‘मेरो पुर्खा यहाँ थियो, त्यसकारण म त्यहाँ छु। मेरो धर्म यहाँ छ, संस्कृति यहाँ छ, छिमेकी त्यहाँ छन्, मेरो कर्म गर्ने ठाउँ त्यहाँ छ। मैले राजनीति यहाँबाट गरिरहेको छु। मेरो स्वभावसँग मिल्ने समाज यहाँ छ, त्यसैले म यहाँ छु।

फेरि त्यसैगरी एउटा ठूलो समुदाय बस्ने, ठूलो सहर बस्छ भन्नेमा विश्वस्त नरहेको उनी बताउँछन्। उनी भन्छन्, ‘हाम्रो क्षेत्रका निम्ति भयंकर र डरलाग्दो क्षति हो। अबको ५० वर्षसम्म पनि मेलम्ची यसरी विकसित हुँदैन।जुद्धशमशेरको पालामा बनाएको पुल भत्किएको छ। भोताङसँग जोड्ने आधार टुटेको छ। चौतारासँग जोड्ने पुल बगाएको छ। उनी भन्छन्, ‘धेरैको प्रयासपछि यी संरचना बन्न दसौं वर्ष लागेका थिए। आधा दर्जन यस्ता पुल सखाप भएका छन्। ५०औं वर्ष लागेर निर्माण भएको सहर ४५ घण्टामै खण्डहरमा परिणत भएको छ। १ गतेभन्दा नदीले धार परिवर्तन गर्ला र बस्ती बस्ला भन्नेमा मलाई विश्वास छैन।

अब ५० वटा घरधुरी बसाल्न राज्यले किन लगानी गर्छ? सिन्धुपाल्चोककै जुरे देखेका छौं। बाह्रबिसे देखेका छौं। लिदी देख्यौं। राज्यले लगानी गर्दैन। यहाँ पनि श्रीसम्पत्ति नास भयो। मान्छे त ढलेको छैन नि, अब आफैं उठ्ने हो।

त्यसो त मेलम्ची बजार एकदुई दशकको पहलले मात्र विकसित भएको हैन। अगाडिको अवस्थामा आउन त पचासौँ वर्ष लागेको थियो। बस्ती बस्नका लागि धेरै मानिसको श्रम र ठूलो पैसा खर्च भएको थियो। सागर भन्छन्, ‘अब ५० वटा घरधुरी बसाल्न राज्यले किन लगानी गर्छ? सिन्धुपाल्चोककै जुरे देखेका छौं। बाह्रबिसे देखेका छौं। लिदी देख्यौं। राज्यले लगानी गर्दैन।केन्द्र सरकार, स्थानीय सरकार र स्थानीय नेतृत्वको अवस्था देख्दा निकै दया लाग्ने बताउँछन् उनी। उनी भन्छन्, ‘यही क्षेत्रबाट चुनाव जितेका मन्त्री शेरबहादुर तामाङले आकाशबाट निरीक्षण गरेर गए। त्यहाँका मानिसले के पाए त? हिजो जुरे पहिरो पीडितका नाममा आएको राहत वितरण गर्न सभामुख अग्नि सापकोटा आफैं लाग्दा पनि धेरै वञ्चित भएका थिए।

सागर आफ्नो सिद्धान्त केही न केही उद्यम गर्नुपर्छ भन्ने रहेको बताउँछन्। उनी भन्छन्, ‘म त्यसैबाट निर्देशित छु। म धेरै अगाडि नै विदेशमा गएर बस्न सक्थें। पढेलेखेको छु। केही कुरा बुझेको पनि छु। अमेरिका वा युरोपतिर गएर बस्नका लागि मलाई पनि कुनै समस्या छैन।उनी आफ्नो गाउँठाउँमै केही गरेर फेरि तंग्रिनेमा विश्वस्त छन् र भन्छन्, 'पहिरोले घर ढाल्यो। बजार बगायो। श्रीसम्पत्ति नास भयो। मान्छे त ढलेको छैन नि, सरकारले त केही गर्दैन अब आफैं उठ्ने हो।


प्रकाशित: Jun 21, 2021| 22:51 सोमबार, असार ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।