काठमाडौं- पार्टीले कारबाही गरेका १४ जना सांसद उपस्थित भएको विरोधमा संसद् बैठक अवरुद्ध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आज आइतबार पार्टी संसदीय दलको बैठक बोलाएको छ। प्रतिनिधिसभाको बैठक बस्नुअघि मध्याह्न १२ बजे संसदीय दलको बैठक बस्न लागेको हो।
संसदमा पार्टीको विरोधलाई मर्यादित बनाउने विषयमा छलफल गर्न बैठक बोलाइएको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए। शुक्रबारको बैठकमा एमालेका सांसदहरुले बेल घेरेर नाराबाजी गर्नुका साथै रोस्ट्रममा चढ्न कोसिस गरेका थिए। शुक्रबार तीनपटक संसद् बैठक बसेकोमा तीनैपटक एमालेले अवरोध गरेको थियो। बैठक अवधिभर नै एमालेका सांसदहरुले नाराबाजी गरिरहे। उनीहरुले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध नाराबाजी गरेका थिए।
नाराबाजीका कारण कारबाही अघि नबढाई पहिलो बैठक स्थगित गरेका सभामुखले दोस्रो र तेस्रो बैठक भने नाराबाजीकै बीच सञ्चालन गरेका थिए।
संसदमा एमाले सांसदको गतिविधिलाई लिएर चर्को आलोचना भएपछि शनिबार बसेको एमाले स्थायी कमिटी बैठकले मर्यादामा रहेर विरोध गर्न सांसदहरुलाई निर्देशन दिएको थियो।
प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ।