ब्राजिलका मिडफिल्डर फिलिप काउटिन्हो सन् २०१८ मा इंग्लिस प्रिमियर लिग छोडेर स्पेनिस ला लिगामा अनुबन्धन भए। अर्का ब्राजिलियन फरवार्ड नेयमार फ्रान्सेली क्लबतिर गएपछि बार्सिलोनाले उनको ठाउँमा काउटिन्होलाई अनुबन्धन गरेको थियो।
प्रिमियर क्लबमा राम्रो प्रदर्शन गरिरहेका मिडफिल्डर बार्सिलोनामा पहिलो रोजाइका खेलाडी थिए। तर, समय वित्दै जाँदा उनका समर्थक घट्न थाले। उनको प्रदर्शन पनि सोचेजस्तो नभएको सबैले आंकलन गर्न थाले।
त्यसैले बार्सिलोनाका लागि काउटिन्हो पन्छाउनु पर्ने भयो। उनलाई पन्छाउने विभिन्न कारणहरु बारे अन्तर्राष्ट्रिय सञ्चार माध्यमले चर्चा गरे।
त्यसमा पहिलो हो, बार्सिलोनाले नेयमारलाई पुनः स्पेन फर्काउने। नेयमारलाई फर्काउन बार्सिलोनासँग ठूलो रकम आवश्यक पर्छ। खेलाडी नबेचिकन उनलाई ल्याउन नसक्ने बार्सिलोनाले बताउँदै आएको थियो। त्यसैले बार्सिलोनाले काउटिन्होलाई बेच्ने निणय गर्यो। बार्सिलोना काउटिन्हो बेचेर नेयमार भित्र्याउन चाहान्थ्यो। उता नेयमार पनि त्यहि चाहन्थे।
उनले भनेका थिए, ‘म आफ्नो तलबभन्दा धेरै घटेर पनि बार्सिलोना फर्कन चाहन्छु।’ नेयमार सन् २०१७ मा २२० मिलियन यूरो(कीर्तिमानी मूल्य)मा फ्रान्स हानिएका थिए। उनी फ्रान्स जाँदा उनको सपना थियो, आफू रोनाल्डो र मेस्सी बराबरीको खेलाडी बन्ने। तर धेरै समय खेल्दा पनि उनी त्यो स्थानमा पुग्न सकेनन्।
समय वित्दै जाँदा पनि उनको प्रदर्शनमा सुधार हुन सकेन। फुटबल पण्डितहरु त अझ उनको प्रदर्शनमा गिरावट आएको बताउँछन्। मेस्सी र रोनाल्डोलाई पनि जितेर त्यती ठूलो मूल्यमा पेरिस सेन्ट जर्मेन(पीएसजी) हानीएकोमा उनको आलोचना हुन थाल्यो।
त्यसपछि उनले बार्सिलोना आउन चाहेको बताएका थिए। बार्सिलोना पनि उनलाई पुनः अनुबन्धन गर्ने पक्षमा थियो। तर, पीएसजीले आनाकानी गर्यो। बेच्न चाहेन।
पीएसजीको इच्छा च्याम्पियन्स लिग जित्ने थियो। अझै पनि छ। विश्वका चर्चित खेलाडीको बाहुल्यता छ फ्रान्सेली लिग विजेता क्लब पीइसजीमा। तर, उसको त्यो इच्छा पनि पुरा हुन सकेको छैन। त्यसैले उसले नेयमार नबेच्ने बताउँदै आएको छ।
त्यस्तै दोस्रो कारण हो, बार्सिलोनाको च्याम्पियन्स लिग मोह। बार्सिलोना गतवर्षको च्याम्पियन्स लिगमा लिभरपुसँग पराजित भयो। घरेलू मैदानको पहिलो खेलमा ३–० ले लिभरपुललाई पराजित गरेको बार्सिलोनाले दोस्रो लेगको खेलमा ४–० को हार बेहोर्यो।
त्यतिबेला बार्सिलोनाले नेयमारलाई सम्झिएको हो। उतिबेला नेयमार, मेस्सी र सुवारेजको जोडी खुब चम्किएको थियो। बार्सिलोनाले त्यही सम्झियो। तर, ल्याउन सकेन। अन्तिममा सन् २०१९ मा अनुबन्धन भए एट्लेटिको मड्रिडका एन्टोनी ग्रिजम्यान।
त्यसबेला २७ वर्षीय ब्राजिलियन जर्मन क्लब बुन्डेलिगा गइसकेका थिए। उनलाई बार्सिलोनाले एक वर्षका लागि लोनमा बायर्न पठाएको थियो।
ब्रजिलियन मिडफिल्डरले यो सिजन बार्यनमा राम्रो प्रदर्शन गर्दै आइरहेका छन्। तर उनको लोनको अवधि सकिन लागेको छ। जारी सिजन सकिएसँगै बायर्नमा उनको अनुबन्धन पनि सकिने छ। त्यसपछिको उनको भविष्य अन्योलमा रहेको युरोपियन मिडियाले बारम्बार बताउँदै आएका छन्।
विगत हेर्ने हो भने उनले युरोपका चार शिर्ष लिगबाट फुटबल खेलिसकेका छन्। उनले इन्टर मिलान(२००८–२०१३)बाट सिरी ए, लिभरपुल(२०१३–२०१८)बाट प्रिमियर लिग। बार्सिलोना(२०१८ देखि अहिलेसम्म)बाट ला लिगा र बायर्न(लोनमा)बाट बुन्डेसलिगा खेलिसकेका छन्। उनले लोनमा रहँदै एस्पायोनलबाट पनि ला लिगा खेलेका थिए।
‘सिनियर करियरमै ६ क्लबको अनुभव बटुलेका काउटिन्हो अब कता जालान त ?’ फुटबल ट्रान्सफर विन्डो नजिकिँदै गर्दा यो प्रश्न उठ्न थालेको छ। अब उनी जहाँ जान्छन उनको त्यो सातौं क्लब हुने छ। जसमा नयाँ लिग पनि पर्न सक्छ।
पछिल्लो समय इंग्लिस क्लब न्यूकासलले उनीमाथि आँखा दौडाइरहेको छ। उसले काउटिन्होको लागि ७० मिलियन पाउन्ड खर्च गर्ने पनि बताएको छ। न्यूकासलकै अनुसार भन्ने हो भने उसको प्रस्ताबलाई बार्सिलानाले स्वीकार पनि गरिसकेको छ।
पछिल्लो समय न्यूकासलले साउदी अरेबियन लगानी भित्र्याएको छ। यसलाई सदुपयोग गर्दै उसले बायर्न म्युनिखमा रहेका बार्सिलोनाका खेलाडी किन्न लागेको हो।
सन् २०१८ मा काउटिन्हो बार्सिलोना आउँदा क्याटालन क्लबले १४२ मिलियन पाउन्ड खर्च गरेको थियो। तर, न्यूकासलको प्रस्तावलाई बार्सिलोनाले स्वीकार गरेमा उसले आफूले किनेको भन्दा आधा मूल्यमा काउटिन्हो प्रिमियर लिग पठाउने छ।
त्यस्तै उनलाई प्रिमियर क्लब चेल्सीले पनि अनुबन्धन गर्न खोजेको छ भने लिग लिडर लिभरपुल फर्किन सक्ने पनि युरोपियन मिडियाले चर्चा चलाउँदै आएका छन्।
जारी सिजनमा उनले ३२ खेलमा ९ गोल र ७ एसिस्ट गरिसकेका छन्।