जनकपुरधाम - कोरोना संक्रमितको संख्या बढिरहेको बेला प्रदेश २ मा परीक्षण किटको अभाव भएको छ। कोरोना जाँच गर्न आरडीटीका साथै स्वाब संकलन किट भीटीएमको समेत प्रदेश २ मा अभाव भएको हो।
समूहमा कोरोना परीक्षण गर्न आरडीटी प्रयोग गरिन्छ भने पीसीआर जाँचको लागि स्वाब संकलन गरेर एक स्थानबाट अर्को स्थानसम्म पु¥याउन भीटीएम किट प्रयोग हुन्छ। प्रदेश २ मा अहिले दुबै किटको अभाव भएको बताइएको छ।
सामाजिक विकास मन्त्रालय अन्तर्गतको आपूर्ति महाशाखाले जनाएअनुसार प्रदेशमा अहिले सय थान आरडीटी र करिब पाँच सय थान भीटीएममात्र मौज्दातमा छ। आरडीटी परीक्षण भरपर्दो नरहेकोले जाँचलाई तिव्रता दिन तत्काल भीटीएम आवश्यक रहेको चिकित्सकहरु बताउँछन्।
आपूर्ति महाशाखाका निर्देशक डा.प्रमोद यादवले आरडीटी करिब सकिसकेको र भीटीएमको मौज्दातसमेत न्यून रहेको बताए। स्वास्थ्य सेवा विभागले बुधबार पठाएको एक हजार थान भीटीएमसमेत जिल्लाहरुमा पठाउने काम भइरहेको यादवको भनाइ छ। भीटीएमको तत्काल व्यवस्था गर्न नसकिए कोरोना परीक्षण प्रभावित हुनसक्ने यादव बताउँछन्।
भीटीएम किटको अभाव हुँदा कतिपय स्थानका क्वारेन्टाइनमा १४ दिनभन्दा बढी बसिसकेकाहरुको समेत स्वाब परीक्षण हुन नसकेको डा. यादवले बताए। भीटीएम किटको अभाव भएपछि क्वारेन्टाइनमा बसेका कतिपयको समय पुगिसकेपनि रोकेर राखिएको उनको भनाइ छ।
चैत २९ गते पाँच हजार थान, वैशाख ५ गते दुई हजार थान र वैशाख २३ गते एक हजार थान आरडीटी किट पठाइएको थियो। यसैगरी संघीय सरकारले चैत १२ गते ४०, वैशाख १३ र २३ गते १/१ हजार थान गरी जम्मा २ हजार ४० थान भीटीएम किट पठाएको छ। वैशाख २३ पछि संघीय सरकारले प्रदेश २ लाई आरडीटी र भीटीएम पठाएको छैन्।
सामाजिक विकास मन्त्रालयको आपूर्ति महाशाखाका सूचना अधिकारी श्रवणकुमार नायकले सबैभन्दा बढी आरडीटी र भीटीएम किट रौतहट, बारा र पर्सा पठाइएको जानकारी दिए। तीनवटै जिल्लामा कोरोना संक्रमित फेला परेपछि ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्नुपर्ने भएकोले सबैभन्दा बढी किटहरु तीन जिल्लामा पठाउनु परेको उनको भनाइ छ।
उनले अहिले रहेको मौज्दातले बढीमा ३/४ दिनमात्र धान्नसक्ने बताएका छन्। प्रदेश २ को लागि न्यूनतम २० देखि २५ हजार भीटीएम किट आवश्यक रहेको बताउँदै उनले किट खरिद गर्न प्रदेश सरकारले प्रक्रिया सुरु गरिसकेको जानकारी दिए।
‘अहिलेसम्म संघीय सरकारले पठाएको किटले परीक्षण भइरहेको छ, हामीले खरिद गरेका छैनौं’, उनले भने, ‘प्रदेश सरकारले टेन्डर निकालिसकेको छ, सबै ठाउँमा किट उपलब्ध नभएकोले पनि समस्या भएको हो।’