काठमाडौं - चीनका दुई वायु सेवा प्रदायक कम्पनीका जहाजले आफ्ना ३६४ नागरिक बोकेर फर्किएका छन्। चीनको एयर चाइना र साउदर्न एयरले चिनियाँ नागरिकलाई चार्टर्ड उडानमार्फत स्वदेश लगेका हुन्।
एयर चाइनाले १६२ र चाइना साउदर्नले १८४ यात्रु बोकेर गन्तव्यतर्फ उडेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ। विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले चीनका दुवै चार्टर्ड उडान आज दिउँसो गन्तव्यतर्फ उठेको जानकारी दिए। यी दुई उडानमध्ये एयर चाइना छेन्दु जानेछ भने चाइना साउदर्नले ग्वाङ्जाओका लागि उडान भरेको छ।
नेपालमा लकडाउनका कारण रोकिएका चिनियाँ नागरिकलाई यहाँस्थित चिनियाँ दूतावासको पहलमा ती नागरिक स्वदेश फर्किएका हुन्।
बेइजिङबाट फर्कियो नेपाल एयरलाइन्स
अत्यावश्यक स्वास्थ्य सामग्री लिन चीनको बेइजिङ गएको नेपाल वायु सेवा निगम (एयरलाइन्स) को वाइड बडी जहाज काठमाडौँ फर्किएको छ। स्वास्थ्य सामग्री लिएर आएको निगमको कार्गो जहाज केहीबेरअघि काठमाडौं अवतरण गरेको विमानस्थलका महाप्रबन्धक केसीले बताए।
त्यस्तै अष्ट्रेलियाको सिड्नी उडेको निगमको अर्को चार्टर्ड उडानको वाइड बडी जहाज पनि आझ साँझ ६ बजे काठमाडौं विमानस्थलमा अवतरण गर्नेछ। दुवै वाइड बडी जहाज बुधबार ती गन्तव्यमा उडान भरेका थिए।