काठमाडौं- नेकपा स्थायी समितिमा प्रस्तुत गर्ने एजेन्डा तयार हुन नसकेपछि भोलि बस्ने भनिएको स्थायी समिति बैठक अनिश्चित बनेको छ। बुधबार बसेकाे सचिवालय बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले स्थायी समिति बैठकमा पेस गर्ने कार्यसूची तयार पार्न समय मागेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
उनका अनुसार २० गतेको सचिवालय बैठकको मर्मअनुरुप प्रस्ताव तयार नहुँदा स्थायी बैठक अनिश्चित भएको हो। उनले भने, 'सचिवालय बैठकपछि दुवै अध्यक्ष छलफलमा बस्नुभएको छ। उहाँहरुबीच स्थायी समिति बैठकमा पेस गर्ने कार्यसूची र बैठककै बारेमा पनि छलफल हुनेछ।' दुइ अध्यक्षबीचकाे छलफलले बैठककाे टुंगाे लगाउने उनकाे भनाइ थियाे।
आज बसेको सचिवालय बैठकमा आफ्नो विशेष काम परेकाे जानकारी गराए प्रधानमन्त्री ओली बाहिरिएको प्रवक्ता श्रेष्ठले बताए। स्थायी समितिका २० सदस्यले माग गरेपछि गत २० गते बसेको सचिवालय बैठकले २५ गतेका लागि स्थायी समिति डाकेको थियो।
अध्यादेश प्रकरणपछि प्रधानमन्त्री ओली पार्टीमा विवादित बनेका थिए। साेही विवादका कारण उनीमाथि स्थायी समिति डाक्न दबाब परेकाे थियाे। बैठक ताेकेपछि प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच पटकपटक छलफल भएकाे थियाे। यस्तै ओली र दाहालले सचिवालयका अन्य नेताहरूसँग सामूहिक र एक्लाएक्लै भेट तीव्र पारेका थिए।