गएको चैत ११ गतेदेखि देशभर लागू भएको बन्दाबन्दी (लकडाउन) जेठ ५ गतेसम्म थप्ने सरकारको निर्णयसँगै प्रहरीले चेकजाँचमा कडाइ गरेको छ। विशेषगरी काठमाडौं उपत्यका भित्रिने नाकाहरुमा थप कडाइ गरिएको छ। काठमाडौं भित्रिने सवारीसाधन र मानिसहरुको संख्या बढेपछि नाकामा कडाइ गरिएको हो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकाल, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले आज काठमाडौँ उपत्यका भित्रिने नाकाहरु मुड्खु, नागढुङ्गा, साँखु, जगाती, भिमढुङ्गा नाकाहरूको अनुगमन गरेको छ।
काठमाडौं बाहिरबाट उपत्यकाभित्र धमाधम मानिसहरु लुकेर आउन थालेको खबर आएपछि वास्तविकता बुझ्न स्थलगत अनुगमनमा गएको ट्राफिक प्रहरी महाशाखाका एसएसपी ढकालले बताए ।
उनले भने, ‘अत्यावश्यक मालबाहक सवारीमा मानिसहरु लुकेर काठमाडौं आइरहेका छन् भन्ने सूचना मलाई आएको थियो । वास्तविकता के रहेछ भनेर आजसम्ममा हामी सबै नाकाहरूमा गयौँ । हामीले नाकाहरूमा तीन, चार घण्टा पनि बितायौ तर त्यस्तो पाइएन। रातारात मान्छे काठमाडौं भित्रिए भनेर जुन खबर बाहिर आएको छ। त्यस्तो डरलाग्दो अवस्था छैन।’
काठमाडौंको जनजीवनलाई सहज बनाउन जे सामग्री आवश्यक पर्छ, ती सवारी साधनमात्र भित्रिन दिने र अन्य सवारी साधनहरूलाई फर्काउने गरेको उनले बताए। एसएसपी ढकालले नाकाहरूमा खटिएका सुरक्षाकर्मीलाई केही समयका लागि नाकाहरूमा थप कडाइ गर्न निर्देशन दिएका छन्।