नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्ल मार्क्स हजार वर्षयताकै महान दार्शनिक भएको बताएका छन्।
सर्वहारा वर्गका नेता कार्ल मार्क्सको २०२औँ जन्म दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै प्रचण्डले भनेका छन्, 'मार्क्स एक हजार वर्षयताकै महान दार्शनिक हुन्। सर्वहारा वर्गले मात्र होइन, उहाँको दर्शन र प्रतिपादित सिद्धान्तलाई पूँजीवादी दुनियाँले पनि मानेको छ।’
उनले महान् दार्शनिक मार्क्सप्रति उच्च सम्मान व्यक्त गर्दै विश्व सर्वहारा वर्ग र उत्पीडित जनसमुदायको मुक्तिका प्रणेताका रूपमा स्मरण गरेका छन्। अध्यक्ष दाहालले २१औँ शताब्दीमा मार्क्सवादको रक्षा, प्रयोग र विकासका लागि विचारको विकास गर्न आवश्यक रहेको बताएका छन्।
विश्व महामारीका रूपमा देखिएको कोरोना भाइरसका कारण गरीखाने श्रमजीवी जनसमुदाय सबैभन्दा पीडामा रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले उनीहरुको समस्या समाधान गर्न सम्बन्धित सबैमा आग्रह गरेका छन्।
यसैगरी, नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पनि ट्वीटरमार्फत मार्क्सको जन्मजयन्तीको शुभकामना व्यक्त गरेका छन्।