काठमाडौं- नेपाल कम्युनिष्ट पार्टीका नेता प्रभु साहले पार्टी एकता जोगाउन सहमतिको बाटोमा अगाडि बढ्नुको विकल्प नरहेको बताएका छन्।
नेकपा केन्द्रीय सदस्य तथा प्रदेश नम्बर २ का अध्यक्षसमेत रहेका साहले अल्पमत र बहुमतको हिसाबले पार्टी संचालन गरे पार्टी फुट्ने खतरा औंल्याएका हुन्।
मंगलबार सामाजिक संजाल फेसबुक मार्फत् पार्टीका स्थायी कमिटी सदस्यहरूको ध्यानाकर्षण गर्दै नेता साहले संक्रमणकालीन अवस्थामा रहेकोले अन्तरीम विधानबमोजिम सहमतीमै पार्टी संचालन गर्नुपर्ने स्पष्ट पारेका हुन्।
‘नेकपा एमाले र नेकपा (माओवादी) मिलेर बनेको नेकपाको संगठन संचानलको विधि पद्धतिबारे गम्भीर जिज्ञासा र प्रश्न उठ्ने गरेको छ। फरक–फरक विचार र विरासत बोकेको दुई पार्टीबीच भएको एकता अहिले एकीकृत विचार, संगठन र नेतृत्व निर्माणको संक्रमणकालीन अवस्थाबाट गुज्रिरहेको छ।’ नेता साहले लेखेका छन्, ‘संक्रमणकालीन अवस्था भनेको आफैँमा संवेदनशील एवम् विशिष्ट अवस्था हो। यस्तो अवस्थामा संगठन संचालन सामान्य र परम्परागत विधिबाट सम्भव हुँदैन त्यसको लागि विशिष्ट चरित्र अनुरुपको विधी र पद्धति अवलम्बन गर्नैपर्छ।’
‘अहिले विवादको चुरो यहीँनिर छ, एकथरीले नेकपा एउटा पार्टी भइसकेकोले विगतदेखि अभ्यास गर्दै आएको अल्पमत र बहुमतसहितको परम्परागत विधिको माग गर्ने यथास्थितिवादी पक्षधर छ भने अर्को, नेकपा एउटा पार्टी भए पनि नेतृत्व, विचार र संगठनमा अलग अलग अस्तित्व कायम रहेको र त्यसको व्यवस्थापन अन्तरिम विधानले महाधिवेशनसम्म गर्ने भनेकोले तत्काल पार्टी संचालन दुई पक्षको सहमतिमा चल्ने विधिलाई नै सही र वस्तुवादी भन्ने पक्षधर छ।’, नेता साह थप्छन्, ‘पार्टीभित्रकै केही पुरातन यथास्थितिवादी नेताहरुले मुल नेतृत्वलाई प्रभावमा पारी आन्तरिक विवाद निवारणका लागी गलत ढंगले पार्टीको विभिन्न कमटी लगायत संसदीय दलमा समेत अल्पमत र बहुमतको परम्परागत अंकगणितीय विधिबाट निर्णय लिन उत्प्रेरित गरीरहेकोछ, जो आम जनभावना तथा पार्टी एकताको मुल मर्म र भावना विपरीत हो। यसमा अब बस्न लागेको पार्टी स्थाई कमिटीका सम्पूर्ण कामरेडहरूको विशेष ध्यान जाओस।’
बैशाख २५ गते बोलाइएको नेकपा स्थायी कमिटी बैठकलाई लक्षित गर्दै नेता साहले नेताहरु ध्यानाकर्षण गराएका हुन्।