जनकपुरधाम - प्रादेशिक अस्पताल जनकपुरमा जडान भएको पीसीआर मेसिनबाट चार दिनमा १६ जनाको स्वाब परीक्षण भएको छ। गत शनिबारदेखि सुरु भएको नयाँ पीसीआर मेसिनबाट मंगलबार दिउँसोसम्म १६ जना कोरोना शंकास्पदको स्वाब परीक्षण गरिएको हो।
प्रादेशिक अस्पताल जनकपुरमा पछिल्लोपटक स्वाब परीक्षण गरिएको सबै १६ जनाको रिपोर्ट निगेटिभ देखिएको बताइएको छ। यसअघि प्रादेशिक अस्पतालको नतिजा राष्ट्रिय प्रयोगशालाको नतिजाभन्दा फरक देखिएपछि पीसीआर मेसिन फेरिएको हो।
निगेटिभ नतिजा देखिएका एकजना कोरोना शंकास्पदको राष्ट्रिय प्रयोगशाला टेकुमा पोजिटिभ देखिएपछि प्रादेशिक अस्पताल जनकपुरमा स्वाब परीक्षण बन्द भएको थियो। करिब एक साता स्वाब परीक्षण बन्द भएपछि राष्ट्रिय प्रयोगशालाकी निर्देशक डा.रुना झाको नेतृत्वमा आएको टोलीले प्रादेशिक अस्पताल जनकपुरमा नयाँ पीसीआर मेसिन जडान गरेको हो।
प्रादेशिक प्रयोगशालाका निमित्त निर्देशक रामविनय साहले स्वाब संकलनको गति कम भएकोले परीक्षणमा पनि कमी आएको बताए। ‘पछिल्लो केहीदिनयता कम संख्यामा स्वाब संकलन भएको छ,’ उनले भने, ‘स्वाब कम भएपछि परीक्षण पनि कम भएको जस्तो देखिएको हो।’ क्वारेन्टाइनबाट खबर आउँदा आफूहरु संकलनको लागि जाने गरेको बताउँदै उनले केहीदिनयता आफूहरुलाई स्वाब संकलनको लागि खबर नआएको उल्लेख गरे।
प्रादेशिक अस्पतालमा अहिले जडान गरिएको पीसीआर मेसिन ‘पोर्टेबल’ रहेपनि पछिल्लो मेसिनभन्दा भरपर्दो रहेको प्रादेशिक प्रयोगशालाका निमित्त निर्देशक रामविनय साहले बताए।
‘निर्देशकज्यू स्वयं आएर मेसिन जडान गर्न लगाउनु भएको छ। टेकुमा समेत यो मेसिनबाट स्वाब परीक्षण भएको छ,’ उनले भने, ‘अहिले जडान भएको मेसिन पछिल्लो भन्दा भरपर्दो छ।’ यद्यपि, प्रादेशिक अस्पतालमा परीक्षण गरिएका स्वाबलाई थप पुष्टिका लागि राष्ट्रिय प्रयोगशालामा समेत पठाइएको उनले बताए।
नयाँ जडान गरिएको मेसिनबाट प्रति डेढ घण्टामा दुईवटा नमूना जाँच गर्न मिल्ने उनले बताए। ‘यसअघि पनि ‘पोर्टेबल’ मेसिन नै जडान भएको थियो’ उनले भने, ‘पछिल्लो मेसिन एक पटकमा एउटा नमूनामात्र जाँच्न सक्दथ्यो, तर अहिलेकोले दुईवटा जाँच गर्न मिल्छ।’
प्रादेशिक अस्पताल जनकपुर र नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज गरी प्रदेश २ मा अहिले दुई स्थानमा कोरोना परीक्षण भइरहेको छ। प्रदेश सरकारले बढी क्षमता भएको थप दुई पीसीआर जडान गर्ने तयारी गरेको छ।
प्रादेशिक अस्पतालबाहेक जनकपुरमा थप एउटा र सप्तरीमा समेत एक पीसीआर जडान गर्ने तयारी रहेको प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले बताए। बढी जाँच गर्नसक्ने क्षमता भएको पीसीआर खरिद गर्न प्रदेश सरकारले टेन्डर आह्वान गरिसकेको बताउँदै उनले एक साताभित्र मेसिन आइपुग्ने जानकारी दिए।