रोल्पामा अझै द्वन्द्वको त्रास मेटिएको छैन । विभिन्न ठाउँमा भेटिएका विस्फोटक पदार्थ तथा त्यसबाट ज्यान गुमाउनेको सङ्ख्या बढ्दै जाँदा रोल्पालीहरुमा त्रास फैलिएको हो । पछिल्लो पटक गत वैशाख १८ मा रोल्पाको त्रिवेणी गाउँपालिका–७ गैरीगाउँ मैतिगातिनास्थित दुम्लाखोलामा भएको वम विस्फोटबाट चार बालबालिकाको मृत्युले रोल्पालीमा झनै भय थपिदिएको हो ।
शान्ति प्रक्रियापछिकै सबैभन्दा ठूलो घटनाका रुपमा रहेको गैरीगाउँ वम विस्फोटमा पाँचदेखि १४ वर्ष उमेरका चार बालबालिकाको घटनास्थलमै मृत्यु भएको थियो । एकाघरका दुई छोराछोरी विमला केसी र विजय केसीको मृत्यु भएसँगै केसी परिवार शोकाकुल छ ।
विमला र विजयका बुबा घरको कमजोर आर्थिक अवस्थाका कारण मजदुरीका लागि काठमाडौंको इँटाभट्टामा काममा छन् । उनी ६ महिना काठमाडौं बसेर कोरोनाका कारण घर फर्किएको भए पनि छोराछोरीको मुख देख्न भने पाएनन् ।
उनी १४ दिनदेखि क्वारेन्टाइनमा बसेर घर आएकै दिन उक्त घटना भएको थियो । “विद्यालय बिदा भएकाले मलाई सघाउन भाइलाई बोकेर गोठालो गएका दिदीभाइ नै बममा परे,” विजयीकी आमा नमूना केसीले भनिन् । लामो समयदेखि बिरामी रहेकी उनी शारीरिकरुपमा समेत कमजोर अवस्थामा छिन्।
तीन दिनअघि मामा घर आएका गौरव नेपाली साथीभाइसँग गोठालो गएका थिए । कक्षा ७ मा अध्ययन गर्ने उनी मृत्यु भएकै दिन परीक्षाको नतिजा आए पनि आफू सफल भएको खबर सुन्न नपाउँदै बमको शिकार भए ।
“पढाइमा निकै तेज थियो, पढेर आमाबुबा पाल्छु भन्थ्यो उमेर नपुग्दै जानु पर्यो । छोरा आएपछि ऊ पास भएको खुशी साटासाट गरौंला भनेर घरमा पर्खेर बसेकी थिएँ मैले खुशीको खबर सुनाउन नपाउँदै माइतबाट दुःखको खबर सुन्नुपर्यो,” भक्कानिँदै आमा तीलकुमारी नेपालीले भनिन् । “यसरी सानै उमेरमा दैवले चुँडेर लग्यो, अकालमा ज्यान गुमाउनुपर्यो,” नोखिराम डाँगीका बुबा ओजबहादुर डाँगीले भने, “हुर्केबढेको छोराले सुख साट्ने आशामा बसेको थिएँ तर यस्तो अवस्था आइलाग्यो।”
छोरा खेतबारी खनजोतमा आफ्नो सहारा बनेको तर अहिले अब आफू बेसहाराजस्तै भएको डाँगीले दुखेसो पोखे। बम द्वन्द्वकालमा छोडिएको हुनसक्ने बताउँदै त्यसको सत्यतथ्य छानविन हुनुपर्ने डाँगीको माग छ ।
घटनास्थलमा थप बम पनि हुन सक्ने स्थानीयवासीको आशङ्का रहेकाले आइतबारदेखि खोजी थालिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिए। नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले खोजी थालेको ढकालले जानकारी दिए।
आइतबार खोजीकार्य गरिएको र सोमबारदेखि विशेषज्ञ टोलीले विशेषरुपमा खोजी गर्ने ढकालले बताए। त्रिवेणी गाउँपालिकामा सम्भावित क्षेत्रका डाँडाहरुका साथै द्वन्द्वकालमा भीडन्त भएका रोल्पाका सबै स्थानको खोजी गरिने प्रमुख जिल्ला अधिकारी ढकालको भनाइ छ । मृतकका परिवारलाई राहतस्वरुप रु १० लाख उपलब्ध गराउनेगरी सिफारिस भएको ढकालले जानकारी दिए।
द्वन्द्वका क्रममा जिल्लाका विभिन्न ठाउँमा ठूला भीडन्त भएकाले ती क्षेत्रमा संवेदनशीलता देखाउँदै खोजतलास कार्यमा राज्यको ध्यानाकर्षण हुनुपर्ने घटनास्थल अवलोकन गरी फर्किएका नेपाल पत्रकार महासङ्घ रोल्पाका अध्यक्ष महेश न्यौपानेको भनाइ छ । त्रिवेणी घटनामा मारिएका बालबालिकाको परिवार आर्थिक हिसाबले पनि निकै कमजोर रहेकाले उनीहरुको राहतमा राज्य गम्भीर बन्नुपर्ने अध्यक्ष न्यौपानेको भनाइ छ ।
रोल्पाको परिवर्तन गाउँपालिका–१ कुरेली भित्रीवन पुवाखोरे भन्ने स्थानमा गत असोज ११ गते ठूलो परिमाणमा हातहतियार र विस्फोटक पदार्थ भेटिएको थियो । थवाड गाउँपालिका–३ मिरुल टुटुस्थित कुवारी सामुदायिक वनमा समेत दुई बोरा विस्फोटक पदार्थ भेटिएको थियो । भेटिएका विस्फोटक सामग्री विस्फोटन गराई बाँकी सामग्री नेपाली सेनाले व्यवस्थापन गरेको छ ।
जिल्लाका विभिन्न ठाउँमा यसरी भेटिएका बम तथा विस्फोटक पदार्थका कारण नागरिकमा त्रास बढेको भन्दै जिल्ला प्रशासन कार्यालय रोल्पाले जुनसुकै क्षेत्रमा यस्ता विस्फोटक पदार्थ भेटिएमा खबर गरिदन सबै नागरिकमा अपिल पनि गरेको छ ।
रासस