काठमाडौं– बुधबार हुने सचिवालय बैठक र त्यसको भोलिपल्ट हुने स्थायी समिति बैठकको तयारीका लागि नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको सक्रियता बढेको छ।
स्थायी समितिका अधिकांश समितिलाई आफ्ना पक्षमा पार्ने रणनीतिमा लागेका प्रधानमन्त्री ओलीले मंगलबार विहानैदेखि नेकपाका नेताहरुसँग छुटाछुटै भेट गरिरहेका छन्।
मंगलबार ओलीले, अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाललाई छुटाछुटै भेटेका हुन्।
दाहालका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार ओली र दाहालबीच सचिवालय र स्थायी समिति बैठकका अजेन्डाबारे छलफल भएको हो।
त्यसअघि ओलीले माधवकुमार नेपालसँग छलफल गरेका थिए।
दाहालसँग भेटेलगत्तै ओलीले झलनाथ खनालसँग छलफल गरेका छन्।
बालुवाटार स्रोतका अनुसार पार्टीको कार्यविभाजनका विषयमा ओलीले नेताहरुलाई छुटाछुटै प्रस्ताव गरेका छन्।
मंगलबारको छलफलमा पार्टी अध्यक्षको सबै जिम्मेवारी दाहाललाई र वरिष्ठ नेताको जिम्मेवारी माधव नेपाललाई दिने प्रस्ताव गरेको बुझिएको छ।
तर, खानाललाई ओलीले कस्तो प्रस्ताव गरे भन्ने विषयमा खुलेको छैन।
यसैबीच, आगामी स्थायी समिति बैठकका लागि नेकपाभित्रका गुट उपगुटहरुले छुटाछुटै भेला गरिरहेका छन्।
गएको शनिबार भएको नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आत्मालोचना गरेका थिए। र, बैठकमा पार्टी एकीकरणका बखत २०७६ मंसिर ४ गते भएको सहमति अनुसार कार्यविभाजन गर्ने सहमति भएको थियो।
दाहाल निकट स्थायी समिति सदस्य हरिबोल गजुरेलका अनुसार स्थायी समिति बैठकमा प्रस्तुत गर्ने प्रस्ताव दाहाल पक्षले तयार परिरहेको छ।