काठमाडौं- कोरोना भाइरसको महामारीबाट बच्न सरकारले मुलुक लकडाउन गरेको छ।
लकडाउनमा अत्यावश्यक बाहेकका अन्य सवारी साधन सञ्चालन गर्न पाइँदैन।
तर लकडाउनमै पनि काठमाडौं उपत्यकाका सडकमा बाक्लो मात्रामा सवारी साधन सञ्चालन भइरहेका छन्।
विभिन्न निकायबाट बाँडिएको पास पाएका सवारीका साधनहरु भिड हुने गरी सञ्चालन भइरहेका छन्।
सवारी पासको राम्रो व्यवस्थापन हुन नसक्दा सामान्य क्षेत्रका सवारीहरुले पनि अत्यावश्यक भन्दै पास पाउँदा भिड लाग्ने गरेको हो।
ठाउँठाउँमा प्रहरीको कडा चेकजाँच भए पनि पास भएका सवारी साधनलाई रोक्न नमिल्ने भएकाले भिड बढेको प्रहरी अधिकारीहरु बताउँछन्।
बाक्लो मात्रामा सञ्चालन भएका यस्ता सवारी साधन धेरैजसो संस्थागत भन्दा पनि व्यक्तिगत रहेको ट्राफिक प्रहरीको भनाइ छ।
पास लिएर हुँइकिने कतिपय सवारी साधनहरु काठमाडौं उपत्यकाको खाली सडकको मनोरञ्जन लिने पनि छन्।
सवारी साधन जस्तै थुप्रै पैदलयात्रीहरु पनि सडकमा देखिने गरेका छन्। कतिपय पास लिएकाहरु छन्।
कतिपय समस्यामा परेका र कतिपय बिरामी लिएर अस्पताल जानेसमेत रहेको प्रहरीले जनाएको छ।