काठमाडौं– संखुवासभाको मादी नगरपालिका–१ मा ६ जनाको हत्यामा छिमेकीको संलग्नता रहेको निष्कर्ष नजिक प्रहरी पुगेको छ। प्रहरीले घटनामा मारिएका तेजबहादुर कार्कीका भतिजा पर्ने लोकबहादुर कार्कीलाई नियन्त्रणमा लिएर अनुसन्धान अन्तिम चरणमा पुगेको जानकारी दिएको हो।
प्रहरीले नियन्त्रणमा लिएका लोकबहादुरले घटना आफ्नो संलग्नता स्वीकार गरेका छन्। अनुसन्धानका खटिएका एक प्रहरीका अनुसार लोकबहादुरले पहिला तेजबहादुरमाथि आक्रमण गरेको र त्यसपछि अरूमाथि जाइलागेको स्वीकारेका छन्।
ती अधिकारीले भने, ‘लोकबहादुरले कसलाई शरीरको कुन ठाउँमा कसरी प्रहार गरें पनि बयानमा भनेका छन्।’ प्रहरीका अनुसार सोमबार बिहान उनले पहिले घरमूली तेजबहादुरमाथि प्रहार गरेको बताएका छन्। त्यसपछि पत्नी मनमाया र बुहारी रञ्जनालाई आक्रमण गरेका थिए।
सासूबुहारी ढलेपछि नातिनातिनीमाथि प्रहार गरेर उनी घरभित्र छिरेका थिए। त्यसपछि उनले घरभित्र खोले पकाउँदै गरेकी पार्वतामाथि आक्रमण गरेका थिए।
सासूबुहारी ढलेपछि नातिनातिनीमाथि प्रहार गरेर उनी घरभित्र छिरेका थिए। त्यसपछि उनले घरभित्र खोले पकाउँदै गरेकी पार्वतामाथि आक्रमण गरेका थिए। अनुसन्धानका क्रममा लोकबहादुको घरभित्र रगत लतपतिएको सर्ट र रड फेला परेको प्रहरीले जनाएको छ। अनुसन्धान र सबै परीक्षण गर्दा लोकबहादुर नै दोषी देखिएको प्रहरीको दाबी छ।
संखुवासभाका डीएसपी लालध्वज सुवेदीले भने, ‘हामी घटना अनुसन्धानको अन्तिमअन्तिममा पुगेका छौं। आइतबार बिहान पत्रकार सम्मेलन गरेर विस्तृत विवरण सार्वजनिक गर्नेछौं।’
स्थानीयका अनुसार लोकबहादुर वैदेशिक रोजगारीका क्रममा मलेसियाबाट केही समयअघि फर्किएका थिए। स्थानीय बासिन्दालाई उधृत गर्दै मादी नगरपालिकाका प्रमुख विदुर लिन्थेपले भने, ‘लोकबहादुर मानसिक सन्तुलन ठिक नभएपछि स्वदेश फर्किएका थिए। तर औषधि खाएपछि ठिक भएका थिए।’ यद्यपि अहिले पनि उनले औषधि सेवन गरिरहेका छन्।
लोकबहादुरको पारिवारिक अवस्था सामान्य छ। उनकी आमा एक वर्षअघि बितेकी थिइन्। स्थानीयका अनुसार परिवारमा उनीसहित बुवा र एक जना भाइ मात्र छन्। लिन्थेपले भने, ‘ आमा वितेको एक वर्ष भएको रहेछ। घरमा बुढा बुवा र एक भाइ छन्। परिवारको जिम्मेवारी सबै उनको काँधमा थियो। घर सम्हाल्ने कोही नहुँदा पनि विरक्त लागेर आपराधिक गतिविधिमा लागेका हुन् कि भन्ने शंका छ।’