काठमाडौं - कोरोना भाइरस (कोभिड–१९) को संक्रमण दर न्यूनीकरण गर्न तथा स्वाब परीक्षणलाई प्रभावकारी बनाउन बाँकेको नेपालगन्ज उपमहानगरपालिका क्षेत्रलाई मंगलबारदेखि तीनसम्म निषेधित क्षेत्र घोषणा गरिने भएको छ।
कोरोना भाइरस संक्रमण दर न्यूनिकरणका साथै संक्रमितको कन्याक्ट ट्रेसिङ र स्वाब परीक्षणलाई प्रभावकारी बनाउन तीन दिन नगर क्षेत्र निषेधित घोषणा गर्ने निर्णय सोमबार प्रमुख जिल्ला अधिकारी कुमार खड्काको अध्यक्षतामा बसेको कोभिड संकट व्यवस्थापन सम्बन्धि सर्वदलीय सर्वपक्षीय बैठकले गरेको छ।
बैठकले मंगलबार बिहान ११ बजेदेखि बैशाख २५ गते मध्यरातिसम्म नगर क्षेत्र निषेधित गर्न सिफारिस गरेको हो। उक्त अवधिमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कन्ट्याक्ट ट्रेसिङ र स्वाब संकलनमा खटिनेवाहेक कोही पनि घरबाहिर निस्कन नपाउने निर्णय बैठकले गरेको छ।
यस्तै बैठकले कोरोना संक्रमणबारे गलत सूचना फैलाउने व्यक्ति खेाजी कानुनअनुसार कारबाही गर्ने तथा नेपालगन्ज मेडिकल कलेज नजिक रहेको सब्जिमण्डी अर्को सूचना नभएसम्म बन्द गर्ने निर्णय पनि गरेको छ।
नेपालगन्जमा हालसम्म १६ जनामा कोरोना संक्रमण देखिएको छ। कोरोना संक्रमितको सम्पर्कमा आएका केहीको स्वाब परीक्षण भइरहेको छ।