प्रहरीलाई हराएको उजुरी दिएका धनुषाका एक युवकले पत्नीको हत्या गरी सामुदायिक वनको खाल्डोमा शव गाडेको अवस्थामा फेला परेको छ।
पत्नी झगडा गरी घरबाट हिँडेपछि सम्पर्कमा नआएको भनी प्रहरीलाई खबर गरेका मिथिला नगरपालिका–९ लालभिट्टीका हरि चौहानले पत्नी वीणाको हत्या गरेको खुलेको प्रहरीले जनाएको छ।
धनुषा प्रहरीका अनुसार घटना वैशाख १८ गतेको हो। वीणा हराएको बारे उनका बुबाले प्रहरीमा उजुरी गरेपछि अनुसन्धान गर्दा हरिले नै सलले घाँटी थिची पत्नीको हत्या गरेको बयान दिएका छन्।
हत्यापछि शव मगर्नी खोला छेउमै खाल्डोमा गाडेको खुलेको छ। हरिको बयानका आधारमा प्रहरीले आइतबार राति नै शव उत्खनन् गरेको छ।
आफूले साली (वीणाकी कान्छी बहिनी) सँग विवाह गर्नका लागि पत्नीको हत्या गरेको प्रहरीलाई बयान दिएका छन्। यसबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ। ५ वर्षअघि वीणासँग प्रेम विवाह गरेका हरिको दुई छोरा छोरी छन्।