काठमाडौं– युवा फुटबल खेलाडी समीक्षा थापामगरको उपचारमा लाग्ने खर्च अखिल नेपाल फुटबल संघ (एन्फा)ले व्यहोर्ने भएको छ। आँखामा ढुंगा लागेर घाइते भएकी थापामगरको उपचारका लागि एन्फाले सहयोगको घोषणा गरेको हो।
चोट लागेपछि सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा)मा उपचार गराएकी उनलाई त्यहाँबाट विराटनगरस्थित आँखा अस्पतालमा रिफर गरिएको थियो। उनको आँखामा ढुंगाको टुक्राका कारण समस्या देखिएको चिकित्सकले बताएका छन्।
यही वैशाख १२ गते घाइते भएकी थापामगर १३ गते घोपा हस्पिटलमा भर्ना भएकी थिइन्। उनको आर्थिक स्थिति कमजोर भएकाले विभिन्न संघसंस्थाले उनको उपचारको लागि सहयोग गर्दै आएका थिए।
उनको उपचारका विभिन्न संस्था र व्यक्तिले हालसम्म एक लाख ७१ हजार रुपैयाँ सहयोग गरेका छन्। यसअघि एन्फाले पनि २५ हजार दिइसकेको छ र अन्य आवश्यक रकम पनि उपलब्ध गराउने एन्फाले बताएको छ।
एन्फाको स्थापना दिवस आज
एन्फाको स्थापना दिवस आज परेको छ। तर, एन्फाले स्थापना दिवसको अवसरमा केही कार्यक्रम नगर्ने बताएको छ। कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमका कारण स्थापना दिवस नमनाइएको एन्फाले जनाएको छ।
स्थापना दिवसको अवसरमा एन्फाले फुटबल क्षेत्रमा लागेका व्यक्तिलाई सम्मान गर्ने गरेको थियो। यो कार्यक्रम कोरोनाको जोखिम सकिएपछि गर्ने बताइएको छ।
एन्फाले गत वर्षदेखि वैशाख २२ गते स्थापना दिवस मनाउन थालेको हो।