काठमाडौं- हालै बढुवा भएका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) र प्रहरी उपरीक्षक (एसपी) लाई आइतबार दर्ज्यानी चिह्न प्रदान गरिएको छ।
गृह मन्त्रालय मन्त्रीस्तरको बैशाख १७ गतेको निर्णयबाट एसएसपीमा तथा गृह मन्त्रालय सचिवस्तरको १८ गतेको निर्णयअनुसार एसपीमा बढुवा भएकाहरुलाई प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञावालीले दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।
एसपीबाट १९ जना एसएसपी तथा डिएसपीबाट २४ जना एसपीमा बढुवा भएका थिए।
महानिरीक्षक ज्ञवालीले बढुवा भएका प्रहरी अधिकृतलाई बधाई तथा शुभकामना दिँदै पदोन्नतिपश्चात प्राप्त गर्ने जिम्मेवारी एवम् संगठनको उद्देश्य पूरा गर्न आफ्नो ज्ञान, सीप, अनुभव तथा कार्यदक्षता प्रदर्शन गरी उत्कृष्ट काम गर्न निर्देशन दिए।
बढुवासँगै निष्ठा र पदीय आचरण पालन गरी राज्यले सुम्पेको दायित्व र भूमिका निर्वाह गर्न सफल हुन ज्ञवालीले निर्देशन दिए।
व्यक्ति भन्दा संगठन ठूलो हुने उल्लेख गर्दै महानिरीक्षक ज्ञवालीले नैतिकता, व्यवसायिक निष्ठा, निष्पक्षता कायम राख्दै कुनै पनि प्रकारको प्रलोभनमा नपरी कानुनसम्मत रुपमा प्रस्तुत हुनुपर्नेमा जोड दिए।
प्रकृया, पद्धति र विधिसम्मत रुपमा सम्पादन गरिने उत्कृष्ट कार्यबाट नै बहुआयामिक प्रहरी अधिकृत बन्न सकिने उल्लेख गर्दै उनले संगठन एवं राष्ट्रले समेत सोही अनुरुपको सक्रिय भूमिकाको अपेक्षा राखेको बताए।
बढुवा हुनेहरुको तर्फबाट एसएसपी वीरेन्द्र कुमार बस्यालले संगठनले राखेको अपेक्षा पूरा गरी संगठनको गरिमा माथि उठाउनका लागि सदैव तल्लिन रहने बताए।