वीरगन्ज- वीरगन्जका एक युवकमा कोरोना भाइरस पोजेटिभ भेटिएको छ। वीरगन्ज महानगरपालिका–३ छपकैयाका ३६ वर्षीय युवकमा कोरोना भाइरस संक्रमण पुष्टि भएकाे हाे।
कोरोना संक्रमित ती युवकलाई नारायणी उपक्षेत्रीय अस्पतालमा भर्ना गरिएको छ। तीन दिनअघि स्वयं कोरोना जाँच गराउन अस्पताल पुगेका ती युवक संक्रमित रहेको आइतबार पुष्टि भएको छ।
कोरोना संक्रमित देखिएका ती युवक लकडाउन प्रभावितलाई राहत वितरण गर्न गठन गरिएको सर्वदलीय संयन्त्रका सदस्यसमेत रहेको बताइएको छ। संयन्त्रको सदस्यका हैसियतले उनी राहत वितरण कार्यमा सक्रिय भएर लागेको स्थानीयले बताएका छन्।
युवकमा कोरोना संक्रमण पुष्टि भएसँगै उनका परिवारका सदस्यको समेत स्वाब परीक्षण गर्ने तयारी भइरहेको छ।
कोरोना मुक्त भएको भन्दै अस्पतालबाट डिस्चार्ज गरिएका एकजना जमातीलाई पुनः अस्पतालमा भर्ना गरिएको छ। वीरगन्जको छपकैयाबाट फेला परेका तीन जमातीमध्ये एकजनामा कोरोनाको आशंका देखिएको भन्दै फेरि आइसोलेसनमा भर्ना गरिएको हो।
यसअघि निको भएको भन्दै घर पठाइएका रौतहटको ईशनाथ नगरपालिका बस्ने १९ वर्षीय युवकमा कोरोनाको आशंका देखिएपछि शनिबार राति पुनः अस्पतालमा भर्ना गरिएको छ।
अस्पतालबाट डिस्चार्ज भएर छपकैया–२ मा होमक्वारेन्टाइनमा रहेका भारत उत्तर प्रदेशका ४१ वर्षीय एकजना जमातीलाई आइतबार पुनः आइसोलेसनमा भर्ना गरिएको स्रोतले जनाएको छ ।
डिस्चार्ज भइसकेपछि १८ वैशाखमा पुनः तीनैजनाको स्वाब परीक्षण भएको थियो । राष्ट्रिय प्रयोगशालामा भएको स्वाब परीक्षणमा कोरोनाको आशंका देखिएपछि उनलाई पुनः आइसोेलेसनमा राखिएको बताइएको छ ।
रौतहटका ती बालक र तीनजना भारतीय जमातीसँगै नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जबाट १४ वैशाखमा डिस्चार्ज भएका थिए । लगातार तीनपटक स्वाब परीक्षण गर्दा नेगेटिभ रिपोर्ट देखिएपछि उनीहरुलाई डिस्चार्ज गरिएको थियो।