शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ओलीले एक पद छाड्नुपर्ने नेपाल–प्रचण्ड पक्षको अडान कायमै, वामदेवलाई मन्त्री बन्न संविधानले दिँदैन

ओलीले एक पद छाड्नुपर्ने नेपाल–प्रचण्ड पक्षको अडान कायमै, वामदेवलाई मन्त्री बन्न संविधानले दिँदैन

वामदेव निर्वाचित भएर प्रतिनिधिसभाको सदस्य भए पनि प्रधानमन्त्री वा मन्त्री बन्न संविधानले दिँदैन।
 |  शनिबार, वैशाख २०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २०, २०७७

काठमाडौं– संविधानविपरीत अध्यादेश र काेभिड-१९ को संकटका बेला प्रभावकारी कदम चाल्न नसकेर पार्टीभित्रै आलोचित प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठकमा आत्मालोचनासँगै एक खालको बहुमत देखाएर तत्कालको समस्या मत्थर पारेका छन्। 

तर, पार्टीका अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल भने ओलीले प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एक पद छाड्नुपर्ने अडान कायमै राखेका छन्। त्यसैले ओली २५ वैशाखमा स्थायी कमिटी बैठक डाक्न बाध्य भएका हुन्।

'अहिले नै सबै कुरा मिलिसकेको भन्ने होइन। सचिवालय बैठकमा प्रधानमन्त्रीले एक खालको समझदारी गरेको देखिए पनि  यसबारे थप निर्णय २५ गते बस्ने स्थायी समिति बैठकले गर्नेछ,' वरिष्ठ नेता नेपाल निकटका एक नेताले नेपाल समयसँग भने ।

पार्टीभित्रको विवाद मिलाउन शनिबार साँझ बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले नेपाललाई तेस्रो वरीयताको अध्यक्ष बन्न प्रस्ताव पनि गरेका थिए। नेपालले उक्त प्रस्ताव अस्वीकार गरेका छन्।

सचिवालय बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्षद्वयलगायत अन्य शीर्ष नेताले आत्मालोचना गरेको जानकारी गराए पनि सौहार्दपूर्ण वातावरण भने बनिसकेको छैन।

शनिबारको बैठकले उपयुक्त समयमा उपाध्यक्ष वामदेव गौतमलाई प्रतिनिधिसभाको उम्मेदवार बनाउने निर्णय गरेको छ। वामदेवलाई प्रतिनिधि सभामा ल्याएर अहिलेको समस्या समाधान नहुनेमा नेपाल–प्रचण्ड पक्षका नेताहरू एकमत रहेको पनि ती नेताले बताए। त्यसाे त वामदेवलाई प्रतिनिधिसभामा ल्याइहाल्न त्यति सहज पनि छैन। यद्यपि पार्टीका केही सचिवालय सदस्य गाैतमलाई जसरी पनि सांसद बनाएरै छाड्ने अडान लिएपछि उनी पनि आश्वस्त भएका छन्।

'निर्वाचित सांसदलाई राजीनामा गर्न लगाएर उपनिर्वाचन गर्दा पार्टीलाई हानि पुग्छ, चुनाव जितिहालिन्छ भन्ने ग्यारेन्टी पनि नहुन सक्छ। अहिलेको समस्या भनेकै प्रधानमन्त्रीको कार्यशैली हो,' उनले भने।

यद्यपि, वामदेव निर्वाचित भएर प्रतिनिधिसभाको सदस्य भए पनि प्रधानमन्त्री वा मन्त्री बन्न संविधानअनुसार नमिल्ने कानुनविद्हरु बताउँछन्। 

संविधानको धारा ७८ को उपधारा ४ मा ‘तत्काल कायम रहेको प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएको व्यक्ति त्यस्तो प्रतिनिधिसभाको कार्यकालमा उपधारा (१) बमोजिम मन्त्री पदमा नियुक्तिका लागि योग्य हुने छैन’ उल्लेख गरिएको छ।

अध्यक्ष एवं प्रधानमन्त्री ओलीको कार्यशैलीले पार्टी र मुलुक दुवैको हित नगरेको भन्दै नेपाल–प्रचण्ड पक्ष भने ओलीले एक पद छाड्नैपर्ने अडानमा छन्।

शनिबारको सचिवालय बैठकमा भने आफ्नो बहुमत नपुग्ने निश्चित भएपछि प्रचण्ड र नेपाल आक्रामक रूपमा प्रस्तुत हुन सकेनन्।

अर्का अध्यक्ष प्रचण्डलाई सँगै राखेर अध्यक्ष ओलीले ‘इगो म्यानेजमेन्ट’ को प्रयास पनि गरे।  तर, शनिबारको बैठकका निर्णयले मात्रै नहुने नेपाल पक्षका नेताको भनाइ छ।

“आज बाहिर आएका विषयले मात्रै विवाद मत्थर हुन्छ जस्तो लाग्दैन,” नेपाल पक्षका अर्का नेता भन्छन्, “बाँकी विषय स्थायी कमिटीले निर्धारण गर्नेछ।”

यसअघि शुक्रबार नेपाल–प्रचण्ड समूहको कोटेश्वरमा बसेको बैठकका सहभागी दोस्रो तहका नेताले पनि ओलीलाई एक पद छोड्न लगाउनुपर्ने राय दिएका थिए।

 

प्रकाशित: May 02, 2020| 22:40 शनिबार, वैशाख २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।